
प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीच वार्ता, तर कुनै सहमति हुन सकेन
काठमाडौँ, २९ कात्तिक । प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको आजको वार्ता थप छलफल गर्ने सहमतिका साथ टुङ्गिएको छ ।
बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सबै विषयमा अनौपचारिक छलफल भएको तर कुनै सहमति हुन भने नसकेको जानकारी दिनुभयो ।
आजको छलफलमा उठेका विषय आ–आफ्नो पार्टीमा थप छलफल गरेर फेरि बस्ने गरी वार्ता टुङ्गिएको उहाँले बताउनुभयो ।
उहाँले आजको बैठकमा सीमाङ्कनको विषय उठेपनि त्यसको विकल्पबारे भने छलफल नभएको बताउनुभयो ।
मोर्चाका नेता सङ्घीय समाजवादी फोरम (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पहिलो र दोस्रो मधेस आन्दोलनको दौरान भएको आठबुँदे सम्झौता र २२ बुँदे सम्झौता कार्यान्वयनको माग मोर्चाले वार्तामा राखेको बताउनुभयो ।
उहाँले आफूहरुले नयाँ माग नउठाएको जिकिर गर्दै पुरानो सम्झौता कार्यान्वयन गर्ने जिम्मा प्रमुख दलकै भएको बताउनुभयो ।
यादवले आजको वार्तामा प्रमुख दलले ठोस कुरा नल्याएको बताउँदै अर्को वार्तामा ल्याउने आश्वासन दिएको जानकारी दिनुभयो ।
बैठकमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भोलि साँझसम्म आफूहरुले केही नयाँ प्रस्ताव ल्याउने आश्वस्त पार्नुभएको यादवले जानकारी दिनुभयो ।
उहाँले सरकारले यसअघि घोषणा गरेको आन्दोलनका क्रममा घाइतेको उपचार, पक्राउको रिहाई र मुद्दा फिर्ता लिने प्रतिबद्धता अझै पूरा नगरेको जिकिर गर्नुभयो ।
सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय परिसरमा भएको वार्तामा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्यायमन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा (नेपाल)का संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी सहभागी हुनुहुन्थ्यो ।
मोर्चाबाट सङ्घीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
नयाँ सरकार गठन भएपछि मधेसी मोर्चासँग भएको उक्त वार्तामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पहिलोपटक सहभागी भएको हो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई