प्रधानमन्त्रीद्वारा काँग्रेसलाई सरकारमा आउन आग्रह

1447317586862_RoS-Ktm-Naya Sambat (6)

नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले बिहीबार बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः रोशन सापकोटा, रासस

भक्तपुर, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

नेपाल संवत ११३६ प्रारम्भ भएको अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले मध्यपुरथिमिको शङ्खधर चोकमा आज आयोजना गरेको शङ्खधरको सालिकमा माल्यार्पण गर्ने एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समयमा देशका समस्या समाधान गर्न सबै दल एकै ठाउँमा उभिनुपर्ने भएकाले काँग्रेसलाई सरकारबाट अलग नरहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई विश्वास छ, उहाँहरु सरकारमा आउनुहुन्छ । देश बनाउने कुरा भएकाले म उहाँहरुलाई सरकारमा ल्याउँछु ।”

प्रधानमन्त्री ओलीले नेकपा–माओवादीको माग पनि पूरा भएको तर्क गर्दै भन्नुभयो –“मोहन वैद्यको माग मैले बोकेकै माग हो । उहाँको उद्देश्य पनि जनताको शासन हुनुपर्छ । राष्ट्रिय स्वाभिमान हुनुपर्छ भन्ने नै हो । अहिलेको सरकार जनता कै सरकार हो । भन्नुस्, जनताका लागि के के गर्नुपर्छ त्यो सरकारले पूरा गर्छ ।”

प्रधानमन्त्री ओलीले नाकाबन्दीका कारण जनताले असाधारण कष्ट भोग्नुपरेको बताउँदै उहाँले यो कष्टको समय धेरै दिन नजाने बताउनुभयो । उहाँले भन्नुभयो, “यो कष्टको समय धेरै दिन लामो रहन दिन्न । अब छिट्टै कष्टको अन्त्य हुन्छ ।”

भूकम्पपछि लगाइएको नाकाबन्दीबाट देशले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताउँदै उहाँले अब राष्ट्रिय सङ्कल्पका साथ सबै एकढिक्का भएर देशको विकास र उन्नतिका लागि अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न आफू लागिपर्ने बताउँदै उहाँले भन्नुभयो – शङ्खधर सङ्ग्रहालय निर्माणका लागि सरकार सहयोग गर्न तयार छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मध्यपुरथिमिको कला र संस्कृतिको संरक्षणका लागि अक्षय कोष स्थापनाका लागि रु दुई लाख सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले देशमा आइपरेको जस्तोसुकै सङ्कटको पनि सबै एकै ठाउँमा उभिएर सामना गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशको सङ्कट परेको बेला के सत्तापक्ष, के प्रतिपक्ष सबै एकबद्ध भएर एकै ठाउँमा उभिएर समस्या र चुनौतीको सामना गर्नुपर्छ । हिमाल, पहाड, तराई सबै ठाउँका जनतालाई साथमा लिएर अगाडि बढ्नुपर्छ ।”

दलहरुबीच कतै असमझदारी भएको भए, कसैको भावनामा चोट पुगेको भए त्यसलाई मेटेर अगाडि जानुपर्ने उहाँको भनाइ थियो । नेता पौडेलले संविधानले मधेसी, जनजाति, आदिवासी सबैलाई समान अधिकार दिएको चर्चा गर्दै कहीँ कतै केही कमी भए सच्याएर अगाडि जान सकिने धारणा राख्नुभयो ।

एनेकपा (माओवादी)का स्थायी समिति सदस्य जनार्दन शर्माले राष्ट्रिय सङ्कट समाधानका लागि वैकल्पिक उपाय खोज्न ढिलो भइसकेको बताउँदै यसका लागि चीनतर्फका नाका खोल्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आन्दोलनरत दलको माग र भारतको नाकाबन्दी खोल्ने गरी सरकारले पहलकदमी लिनुपर्ने बताउनुभयो । भारतको नाकाबन्दीलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने र स्वाभिमानका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले शङ्खधर बुलेटिनको विमोचन गर्नुका साथै इमेज टेलिभिजनका अध्यक्ष आरके मानन्धर र नेपाल भाषा मंकाः खलः काठमाडाँैका सचिव नरेशवीर शाक्यलाई सम्मान गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष श्याम मानन्धर, प्रतिष्ठानका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल सम्वत्लाई व्यवहारमा लागू गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री