महेन्द्रनगर (धनुषा), २४ कात्तिक । मधेसी मोर्चाले विभिन्न माग राख्दै गर्दैआएको बन्दको आज ८८औँ दिन तथा भारतको अघोषित नाकाबन्दीको ४८औँ दिन पूरा हुँदै छ ।
अझ पनि यो खुल्ने छाँटकाँट नदेखिँदा धनुषासहित सम्पूर्ण मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । दसैं यस्तै बन्दमा बित्यो । तिहार र छठ पर्व ढोकामै आइपुगेको बेला पनि बन्द नखुल्दा जनता निकै निराश भएका छन् । मधेसी मोर्चाले ४८ दिनदेखि भन्सार नाकामा दिएको धर्ना र भारतको अघोषित नाकाबन्दीले उपभोग्य वस्तु अभाव हुँदा यहाँको जनजीवन पूर्णरुपले प्रभावित बनेको छ ।
बन्दको अवधि बढ्दै जाँदा र भन्सार नाका ठप्प भएपछि बजारमा पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य समानको अभावसँगै मूल्य आकासिएको छ । अनिश्चितकालिन बन्द, हड्ताल र निर्यात ठप्प हुने क्रम लम्बिएर खाद्यान्न नपाइने चिन्ताले पिरोलिएका उपभोक्ताले अनावश्यक भण्डारण गर्न थालेकाले समेत अभाव झनै बढेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले व्यवसायीलाई आफूसँग भएको सामान बेच्न र नलुकाउन आग्रह गर्नुभएको छ । इन्धन अभावमा एम्बुलेन्स बन्द हुने अवस्थामा पुगेको छ । आयात रोकिएको र व्यापारीसँग भएको मौज्दात सकिएकोले उपभोक्तालाई समस्या परेको व्यापारीको भनाइ छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ग्यास बिक्रेता बलराम श्रेष्ठले असोज लागे लगत्तै जिल्लामा ग्यास अभाव भएको बताए । “पहिले मासिक एकहजार ५०० सिलिन्डरसम्म बिक्री गर्थे, अहिले असोजसम्ममा जम्मा ६० वटा सिलिन्डर बिक्री गरेँ” उनले भने । श्रेष्ठले ‘नोबेल’ र ‘कामख्या’ ग्यास बिक्री गर्दै आएका छन् । ग्राहकलाई ग्यास नै छैन भनेर त्यसै फर्काउनु परेको उनले बताए । घरमा खाना पकाउने ग्यास सकिएपछि भुसमा पकाउन सुरु गरेको महेन्द्रनगर– ६ की रितादेवी यादवले बताइन् । “एक महिनादेखि भुसको चुलोमा खाना पकाउँदै आएकी छु” उनले भनिन् । बिरामीलाई चाहिने औषधि र अक्सिजनको समेत अभाव भएको छ । जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका उपाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार महोत्तरी, सर्लाही, सिन्धुली, धनुषा, रामेछाप र दोलखामा औषधिको चरम अभाव हुनथालेको छ । “बिरामी निकै मारमा परेका छन्” उनले भने । रक्तचाप, मधुमेह र मुटुका बिरामीले नियमित रुपमा प्रयोग गुर्नपर्ने औषधिको अभाव भएको छ ।
“सडकमा सवारी साधन गुड्न छाडेपछि औषधि ढुवानी गर्न समस्या भएको हो” उपाध्यक्ष भट्टराई भन्छन् । सबै भन्दा गाह्रो दैनिक मजदुरी गरेर खानेलाई भएको छ । रिक्सा, ठेलालगायतका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले धेरै दिनदेखि पेटभरी खान नपाएको अवस्था छ । कतिपय दलित बस्तीका बासिन्दा भारत पलायन भइरहेका छन् । जनकपुर–४ का रिक्सा मजदुर लालबाबु महराले ८८ दिनदेखि रिक्सा लिएर चोकचोक चहारे पनि यात्रु नपाएको गुनासो गरे । “पन्ध्र वर्ष भो रिक्सा चलाएको, यस्तो दुःख कहिल्यै पाएको थिइनँ,” उनले भने– “अहिले बन्दले गर्दा त हामीलाई दशाले घेरेझैं लागेको छ ।”
बन्दका कारण बजारभाउ आकासिएको छ । सुरुसुरुका दिन मजदुरले ऋण पैँचो गरेर पनि परिवारलाई खुवाए । “बन्द कतिञ्जेल लम्बिएला र ? कमाएर तिरौंला । तर, अब त परिस्थिति पहाडजस्तो लाग्न थालेको छ” मजदुरले गुनासो गर्न थालेका छन् । “नुनमा रोटी चोबेर खाँदै छाँैं, त्यो पनि नपाइने भो” रिक्सा चालक महतोले भने ।
क्षीरेश्वर नगरपालिका– ५ महेन्द्रनगरका ठेला चालक चौठी साहले रोजगारी नै मरेपछि आठ जनाको परिवार पाल्नै कठिन भएको बताए । “नेताहरुको कामै आन्दोलन गर्ने हो, माग पूरा गराउँछन्, अर्कोतिर हिँड्छन्, हामीजस्ता निमुखा जनताको जीवनयापन भने खस्किदै गएको छ ।” सुरुका ८–१० दिन ऋण गरेर धानिए पनि बन्द लम्बिदा खाना जुटाउनै गाह्रो भएको उहाँको भनाइ छ ।
बन्दको उद्देश्य र राजनीतिसँग कुनै सम्बन्ध नरहेका मिथिला नगरपालिका– ५ ढल्केवरका ठेलाचालक श्रीनारायण मण्डल र छोरा हरिनारायण मण्डल पनि निराश छन् । बाबुछोरा मिलेर १४ जनाको परिवार धान्नु छ । बन्दको शृङ्खला सुरु भएपछि उनीहरू एकछाक मात्र खान थालेका छन् । “अब अति भयो, बन्दकर्ताले हामी जस्ताको बारेमा पनि ध्यान दिनुप¥र्यो” मण्डलले भने ।
जनकपुरमा करिब ५०० रिक्सा मजदुर छन् । बन्दपछि उनीहरू सबै मारमा छन् । बन्दले विपन्न वर्गलाई बढी सास्ती दिएकाले माग पूरा गराउने वैकल्पिक उपाय खोज्न उनीहरूले प्रदर्शनकारीलाई अनुरोध गरेका छन् ।
आर्थिक रूपले सम्पन्न हुनेहरू पनि बैंक नखुल्दा खिन्न छन् । पैसा निकाल्न नपाउदा दैनिक उपभोग्य सामग्री किन्न पाएका छैनन् । अन्य व्यवसायी, जागिरेलाई पनि आर्थिक अभावले पिरोल्न थालेको छ । बंैकबाट पैसा निकाल्न नसक्दा खानेकुरा किन्न नपाएको शिक्षक उमाकान्त पहाडी बताउनुहुन्छ । सबैको एउटै प्रश्न छ, ‘आखिर यो बन्द कहिले खुल्छ ?’
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा