दललाई वार्ता र सहमतिबाट अघि बढ्न राष्ट्रपतिको आह्वान

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उपराष्ट्रपति नन्दबहादुर पुनले दशै तिहार, छठ पर्वको अवसरमा गरेको  चियापानमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः रोशन सापकोटा, रासस

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उपराष्ट्रपति नन्दबहादुर पुनले दशै तिहार, छठ पर्वको अवसरमा गरेको चियापानमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २४ कात्र्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका सबै राजनीतिक शक्तिलाई वार्ता, सहमति, एकता र सहकार्यबाट अघि बढ्न आह्वान गरेकी छन् ।

गणेशमान सिंह जन्मशताब्दी वर्षका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकमा तत्काल देखिएका समस्या र असहजतालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सबै राजनीतिक शक्तिको एकता र सहकार्यले निरन्तरता पाउन सकेमा मात्र गणेशमान र अमर सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताइन् ।

उनले भनिन्, “राजनीतिक दलको एकता र सहकार्यबाट नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो, परिवर्तनकारी राजनीतिक शक्तिको सुझबुझपूर्ण एकता र सहकार्यबाट नै अत्यन्त जटिल र पट्यारलाग्दो सङ्क्रमणकाल अन्त्य गरी नेपालको संविधान जारी गर्न हामीलाई सफलता मिलेको हो ।”

गणेशमान र अमर सहिदले गरेको योगदान र तिनका जीवनदर्शन सबैका लागि प्रेरणाका स्रोत हुन् भन्दै राष्ट्रपति भण्डारीले उनीहरुको योगदानको स्मरण र कदर गर्न अधुरा सपना पूरा गर्न थुप्रै कार्य गर्न बाँकी रहेको बताइन् ।

कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले निरङ्कुशताविरुद्ध लडेका सबै प्रजातान्त्रिक शक्ति एक ठाउँमा उभिएका कारण नै संविधानसभाबाट संविधान जारी भएको र अझै कार्यान्वयन गर्ने चुनौती बाँकी रहेको बताए । उनले भने–“लोकतन्त्रमा चुनावी प्रतिस्पर्धा सामान्य भए पनि संविधान कार्यान्वयन गर्ने बेलामा प्रमुख परिवर्तनकारी दल छुट्टिएकामा मलाई चित्त बुझेको छैन ।”

नेपाली काँग्रेसका महामन्त्री एवम् गणेशमानका सुपुत्र प्रकाशमान सिंहले मुलुकले बेहोरेको अघोषित नाकाबन्दी जस्ता समस्याबाट सधैँका लागि पार पाउन आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । मुलुकलाई आत्मनिर्भर बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको र त्यसका लागि सबै नेता एक ठाउँमा उभिनुपर्नेमा महामन्त्री सिंहको जोड थियो ।

काँग्रेस नेत्री सुजाता कोइरालाले मुलुकको अहिलेको विषम परिस्थितिमा सबै दल एक भएर मेलमिलाप र सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा राखिन् ।

प्रतिष्ठानका सभापति एवम् काँग्रेस नेता भीमसेनदास प्रधान, काँग्रेस नेता एवम् प्रतिष्ठानका संस्थापक सभापति तीर्थराम डङ्गोललगायतले गणेशमानले लोकतन्त्रका लागि गर्नुभएको योगदानको चर्चा गर्दै मुलुकको अहिलेको समस्या समाधान गर्न सबै दलबीच एकता र सहकार्यका खाँचो रहेको औँल्याएका थिए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिष्ठानका तर्फबाट लोकतन्त्र र शान्ति प्रक्रियामा प्रेरणादायी भूमिका निर्वाह गर्नुभएका पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न राजनीतक दल र सरकारसँग समन्वय र समझदारी गर्दै ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका पूर्व सभामुख सुवास नेम्वाङलाई अभिनन्दन एवम् सम्मान गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री