उपप्रधान मन्त्री रावल, केसी र अर्थमन्त्री पौडेलद्वारा पदबहाली

नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावल आज रक्षामन्त्रीको कार्यभार सम्हाल्दै । तस्बिर ः अच्युत रेग्मी, रासस

नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावल आज रक्षामन्त्रीको कार्यभार सम्हाल्दै । तस्बिर ः अच्युत रेग्मी, रासस

काठमाडौँ, १९ कात्तिक । नवनियुक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले आज पदबहाली गरेका छन् ।

रक्षा मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्ने क्रममा उपप्रधान मन्त्री रावलले आफू जटिल समयमा मन्त्री बनेकाले सबैको सहयोगको खाँचो रहेको बताए । मन्त्री रावलले देशमा अघोषित नाकाबन्दीले आपूर्ति व्यवस्था सङ्कटमा परेको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउनु सरकारको प्रमुख चुनौती रहेको औँल्याए ।

उनले संविधान निर्माण हुनु ऐतिहासिक सफलता भएकाले यसको कार्यान्वयनका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

मन्त्री रावलले भूकम्पपीडित जनताको उचित बसोबासको व्यवस्था गर्न सरकार गम्भीर भएर लाग्ने बताए ।

उता, नवनियुक्त उपप्रधानमन्त्री चित्रबहादुर केसीले वैचारिकरुपले जता भए पनि पेसागतरुपमा ढुक्क भएर काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् । सहकारी तथा गरिबी निवारण मन्त्रालयको आज कार्यभार सम्हालेपछि उनले आफू पहिलोपटक कार्यकारी पदमा पुगेको हुनाले सबैको सहयोगको अपेक्षा गरेको बताए ।

उनले भने, “यतिका दिनसम्म जनताका धेरै कुरा बोकेर सडकमा हिँडियो, अब जनताका समस्या प्रशासनिक तरिकाले समाधान गर्ने दायित्य आएको छ ।”

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका छन् । पदभार ग्रहण गरेपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री पौडेलले वर्तमान सरकारको नीति, कार्यक्रम र दृष्टिकोणलाई कार्यान्वयन गर्न सबै कर्मचारीलाई सक्रियताका साथ काम गर्न आग्रह गरे । सबैको आफ्नो राजनीतिक आस्था भए पनि त्यसलाई मनभित्र सुरक्षित राख्दै मन्त्रालय र यस मातहतका निकायमा रहेर काम गर्दा आफ्नो आस्थाबाट परिचालित नहुन उहाँले निर्देशन दिए । आस्थाको आधारमा आफूले कसैलाई भेदभाव नगर्ने स्पष्ट पार्दै मन्त्री पौडेलले सबैप्रति समान भाव र समदूरी राख्ने बताए । आफूले केवल परिणाम हेर्न चाहेको बताउँदै उहाँले काम र परिणाममा कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

वर्तमान सरकारको प्रमुख दुई कार्यसूची रहेको बताउँदै उनले भने, “पहिलो जिम्मेवारी संविधानको रक्षा, सफल प्रयोग र विकास गर्नु तथा दोस्रो जिम्मेवारी मुलुकलाई आर्थिक समृद्धितर्फ अग्रसर गराउनु हो ।” उनले समृद्धिको कार्यसूचीमा केन्द्रित रहेर मन्त्रालयको काम अगाडि बढाउने बताउँदै त्यसका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहयोगलाई साथै लिएर जाने जानकारी दिए ।

सबैको सहयोगमा चुनौतीको सामना गर्दै मुलुकको अर्थतन्त्रलाई समृद्धितर्फ लैजान सक्ने विश्वासका साथ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको उनको भनाइ थियो । उनले भने, “राजस्व असुली र राजस्व प्रशासनमा स्वच्छता, करमैत्री वातावरणमा जोड, विकास खर्चको अनुगमन गर्दै ठूला विकास निर्माणमा तीव्रता, अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगलाई उचित परिचालनमा प्राथमिकता दिनेछु ।”

आपूर्ति व्यवस्थामा देखिएको असहजताबाट परेको प्रभावलाई न्यूनीकरण गरी सामान्य अवस्थामा फर्काउन निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ थियो । संविधान निर्माणपछि देखिएका असन्तुष्टिलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सरकार अग्रसर रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री