यी हुन् एमाले कोटामा उपप्रधान र मन्त्री बन्ने भाग्यमानी

1446728708781_Pro_Ktm_Mantri saphat (1)
काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिकामन्त्री चन्द्रप्रकाश मैनाली र अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

यस्तै अर्थमन्त्री विष्णु पौडेल, सूचना तथा प्रविधिमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र शान्ता मानवीले बिना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिए ।

त्यसैगरी सत्य नारायण मण्डललाई युवा तथा खेलकुद, रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसङ्ख्या, विश्वेन्द्र पासवानलाई विज्ञान तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मण्डल, चौधरी र पासवान यसअघि नै मन्त्रीमा नियुक्त भए पनि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिना विभागीय ती मन्त्रीहरूको जिम्मेवारी समेत तोक्नुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसदहरूको उपस्थिति थियो ।

नेकपा (एमाले)को आज बसेको शीर्ष नेताको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएको हो । उपप्रधानमन्त्री भएका रावल एमालेका उपाध्यक्ष हुन् । यस्तै मैनाली नेकपा (माले)का महासचिव र केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष छन् । केसी पहिलो पटक मन्त्री भएका हुन् ।

काम चुस्त, पारदर्शी र जवाफदेही हुनुपर्छ ः सञ्चारमन्त्री

यसैबीच, नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले आज पद बहाली गर्दैसरकारको उद्देश्य र जनताको अपेक्षानुसार सकारात्मक ढङ्गबाट सहकार्यका साथ काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

“विभिन्न चरणमा भएका सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपालको इतिहासमा पहिलो पटक जनताले आफ्नो संविधान आफैँ बनाएका छन्, संविधान जारी भएपछि पनि केही चुनौती हाम्रा सामु छन्, त्यसलाई सबै मिलेर सामना गर्नुपर्छ”– मन्त्री राईले भने ।
संविधानको कार्यान्वयनसँगै वैशाख १२ गतेको भूकम्पपछिको पुनःनिर्माणसँगै मुलुकलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । “सिङ्गो मुलुकको प्रशासनिक सम्पूर्ण अङ्गलाई बदल्नुपर्छ, हिजोको तरिकाले त्यही खालको कामकाजबाट जतनाको काम हुन सक्दैन, काम गर्ने तरिका बिलकुल फरक हुनुपर्छ, चुस्त, पारदर्शी र जवाफदेही हुनुपर्छ”– उनले भने ।
मन्त्री राईलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका निमित्त सचिव कविराज खनाल, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले र महाप्रबन्धक निर्मला आचार्य, गोरखापत्र संस्थानका अध्यक्ष रमेश तुफान लगायतले स्वागत गरेका थिए । सो अवसरमा प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री