पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन पेट्रोचाइनालाई पत्र

पेट्रोचाइना स्टेशन

पेट्रोचाइना स्टेशन

काठमाडौँ, १७ कात्तिक । नेपाल आयल निगमले चिनियाँ पेट्रोलियम कम्पनी – पेट्रो चाइनासँग पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको छ ।

निगमले आज पेट्रो चाइनालाई एक पत्र पठाएर मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रो चाइनालाई आज पत्र पठाइएको जानकारी दिए ।

उनले व्यापारिक कारोबारका लागि मूल्यसूची उपलब्ध गराउन पत्राचार भएको बताए । कार्यकारी निर्देशक खड्काले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न सकिन्छ भन्ने प्रमाणित भएपछि थप प्रक्रिया अगाडि बढाउन लागिएको र प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

केरुङ नाकाबाट चीनले उपलब्ध गराएको पेट्रोल आयात गर्न नेपाली ट्याङ्कर आज त्यसतर्फ लागेका छन् । आज १२ वटा ट्याङक्र त्यसतर्फ लागेको निगमले जनाएको छ ।

भारतले अघोषित नाकाबन्दी गरेपछि वैकल्पिक स्रोतको खोजीमा लागेको निगमले चीनबाट अनुदानमा प्राप्त १३ लाख लिटर पेट्रोल ल्याउन थालेको छ भने सो पेट्रोल नेपाल भित्रने क्रममा रहेको छ । चीनबाट ल्याइएको पेट्रोल निगमको थानकोटको भण्डारण डिपोमा भण्डारण गरिएको छ ।

चीनका लागि नेपाली राजदूत महेशमान मास्के नेतृत्वको टोलीले केहीदिन पहिले पेट्रो चाइनासँग इन्धन आयात गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको थियो । चीनबाट निगमले कुल खपतको ३३ प्रतिशत इन्धन आयात गर्ने सम्झौता गरेको थियो । सो सम्झौता भएपछि निगमलाई चीनले अनुदानस्वरुप १३ लाख लिटर इन्धन अनुदानमा उपलब्ध गराएको थियो ।

भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने उपाय खोज्न बाध्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री