काँग्रेसले दिएको उम्मेदवारी ठूलो गल्ती

 

नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा नेकाका शीर्ष नेताहरु तस्बिरः रोशन सापकोटा,रासस

नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा नेकाका शीर्ष नेताहरु तस्बिरः रोशन सापकोटा,रासस

काठमाडौँ, १६ कात्तिक । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा काँग्रेसले दिएको उम्मेदवारी सम्बन्धमा केन्द्रीय सदस्यहरुले मिश्रित धारणा राखेका छन् ।

सोमबार बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्ने कतिपय केन्द्रीय सदस्यले काँग्रेसले बिना तयारी प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदमा उम्मेदवारी दिएर ठूलो गल्ती गरेको र यसमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले सरकारका उच्च पद गुमाएर काँग्रेसलाई क्षति भएको तर्क राखेका छन् ।

केही केन्द्रीय सदस्यले भने नेकपा (एमाले)सँग लामो समयसम्म सहकार्य उचित नभएकाले उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्नु स्वभाविक भएको र लोकतन्त्रमा हारजित सामान्य भएको धारणा राखेको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले बताए ।

उनीहरुले काँग्रेसको उम्मेदवारीले नै संविधानसभा बहिष्कार गरेर आन्दोलन गर्दै आएका मधेस केन्द्रित दलहरु व्यवस्थापिका–संसद्मा उपस्थित भएको र यसले भविष्यमा काँग्रेसलाई राम्रो हुने तर्क गरेका छन् ।

बैठकमा आसन्न १३औँ महाधिवेशन तयारीका सम्बन्धमा समेत छलफल भएको केन्द्रीय सदस्य महेन्द्र शर्माले जानकारी दिए ।

यसबाहेक केही केन्द्रीय सदस्यहरुले तराई–मधेसको आन्दोलनलाई गम्भीररुपमा लिएर सम्बोधन गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडाँैमा हुने काँग्रेसको १३औँ महाधिवेशनको तयारीका लागि विभिन्न तयारी समिति गठन गरिनुका साथै संयोजकसमेत तोकिसकेको छ ।

आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा काँग्रेसले दिएको उम्मेदवारी सम्बन्धमा तीन शीर्ष नेताको आधिकारिक धारणा माग गरेका थिए ।

आज बैठकको सुरु मै केन्द्रीय सदस्यको त्यस्तो जिज्ञासाको सम्बोधन गर्दै सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले काँग्रेसको उम्मेदवारीले राष्ट्रिय एकता झन बलियो भएको धारणा राखेका थिए ।

आज अपराह्नसम्ममा २० जना पदाधिकारी र केन्द्रीय सदस्यले धारणा राखेको मुख्य सचिव तिवारीले बताए । बैठक मङ्गलबार बिहान ११ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री