काठमाडौँ, १५ कात्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्तामा विवादको केन्द्रमा रहेको प्रदेश सीमाङ्कनको विषयले प्रवेश पाएको छ ।
तिनकुनेस्थित सङ्घीय समाजवादी फोरम, नेपालको कार्यालयमा आज साँझ भएको वार्तामा दुवै पक्षले आफ्ना एजेण्डामा लचकताका साथ प्रस्तुत भएपछि वार्ताले सकारात्मक मोड लिएको हो ।
दुवै पक्षले वार्ता सकारात्मक बनेको र खासगरी मुख्य माग सङ्घीय प्रदेशको सीमाङ्कन विषयमा प्रगतिउन्मुख छलफल भएको प्रतिक्रिया दिएका छन् ।
मोर्चाले उठाउँदै आएका कतिपय मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । आजको वार्तामा मधेस आन्दोलनका क्रममा घाइतेको उपचार, मृतकलाई क्षतिपूर्ति दिने र झुठा मुद्दा फिर्ता लिने विषयमा सरकारले लिखित प्रतिबद्धता जनाएको छ ।
समस्यालाई समाधान गर्दै अगाडि बढ्ने क्रममा आजको वार्ता अत्यन्तै महत्वपूर्ण र सकारात्मक बनेको सरकारी वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री कमल थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।
“वार्ताका क्रममा आन्दोलनका बेला घाइते भएकाको उपचार, मृतकलाई क्षतिपूर्ति दिने र झुठा मुद्दा फिर्ता लिने सम्बन्धमा सरकारको तर्फबाट औपचारिक र लिखित रुपमानै प्रतिबद्धता व्यक्त भएको छ र त्यसलाई अनुगमनका लागि पहिले दुवै पक्षबाट गठन गरिएको संयन्त्रले समन्वय गरिरहेको छ । सो विषयमा पनि समीक्षा भएको छ,”– उनले भने ।
आन्दोलनरत दलले बारम्बार उठाइरहेको प्रदेशको सीमाङ्कनको विषयमा आजको वार्तामा सघन रुपमा अत्यन्तै गम्भीरताकासाथ कुराकानी भएको र सरकारको तर्फबाट आन्दोलनरत पक्षले सीमाङ्कनबारे उठाएका मागलाई दृष्टिगत गर्दै ती मागलाई राजनीतिक सहमति कायम गरी संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेको उपप्रधानमन्त्री थापाले बताए ।
उपर्युक्त विषयमा दलीय सहमति जुटाउन आवश्यक गृहकार्य गरी चाँडोभन्दा चाँडो वार्ता गर्नेगरी आजको वार्ता टुङ्गिएको छ ।
उपप्रधानमन्त्री थापाको भनाइअनुसार आजको वार्तामा आन्दोलनरत पक्षले माग गरेबमोजिम सरकारी मार्गचित्र प्रस्तुत गर्दै सीमाङ्कन विषयलाई गम्भीरताका साथ लिइएको र अन्य महत्वपूर्ण विषयलाई पनि सम्बोधन गरिएको छ ।
मोर्चाले उठाउँदै आएका कतिपय मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएकामा मोर्चाले पनि वार्तालाई उपलब्धिमूलकरुपमा लिएको छ ।
मोर्चाको एकघटक सङ्घीय समाजवादी फोरम, नेपालका नेता रामबाबु राउतले आजको वार्ता औपचारिक रुपमै सीमाङ्कनको विषयमा प्रवेश गरेको र सरकारी पक्षले सकारात्मकरुपमा लिएको बताए ।
“आजको वार्तामा हामीले सीमाङ्कनबारे प्रस्तुत गरेको एजेण्डामा उहाँहरू (सरकारी वार्ता टोली) ले सकारात्मकरुपमा लिनुभएको छ । उहाँहरूकै अनुसार यसमा उच्चस्तरको समितिको आवश्यकतापर्ने र आवश्यक गृहकार्य गरेर आगामी वार्ता तय गर्ने निर्णय भएको छ । आजको सबभन्दा राम्रो पक्ष भनेको हाम्रा एजेण्डामा राजनीतिक तहबाट निर्णय गरेर प्रमुख प्रतिपक्षी दल काँग्रेससमेतको सहभागितामा निश्चित समय तयगरी पुनः बस्ने सहमति भएको छ,”– उनले भने । नेता राउतले वार्ता सकारात्मक बने पनि आन्दोलन यथावत् रहने र सरकारले जतिसक्दो चाँडो वार्तालाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।
मोर्चाले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदनअनुरुप मधेसमा दुई प्रदेशसहितको प्रदेश हुनुपर्ने बटमलाइन बनाएको छ । सरकारले भने सङ्घीय आयोगमार्फत उक्त विषय टुङ्गो लगाउनुपर्ने सरकारी धारणा राख्दै आएको छ ।
आजको वार्तामा सरकारको तर्फबाट मन्त्री थापा, कानुनमन्त्री अग्नि खरेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र बिनाविभागीयमन्त्री रामजनम चौधरी र मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण, हृदयेश त्रिपाठी, लालबाबु राउत र रामनरेश यादव सहभागी थिए ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’