पुनलाई मतदान गर्न ओलीको निर्देशन

1446276674362_Pro_Ktm_ Baithak _ Pm (1)
काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको साझा उम्मेदवार नन्दबहादुर पुनलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित सत्तारुढ दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई लामो समयसम्म कायम राख्न पनि साझा उम्मेदवारलाई विजयी गराउनु आवश्यक रहेको बताए ।

दशवर्षे सशस्त्र सङ्घर्ष संविधानसभामार्फत शान्तिपूर्ण रुपान्तरणको प्रक्रियामा अगाडि बढेको र मुलुक शान्ति, समृद्धिको मार्गमा अगाडि बढेकाले यसलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता भएको उनले बताए । उनले गठबन्धनमा समस्या आए लोकतन्त्र, शान्ति र समृद्धिको प्रक्रियासँगै जान अप्ठ्यारो पर्ने भएकाले इमान्दारितामा दरिद्रपन नदेखाउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सशस्त्र सङ्घर्षको कमाण्डर भएर होइन, पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको संविधान लेखन र शान्तिप्रक्रियामा उनले पु¥याएको योगदानलाई संस्थागत गर्न हो भने ।

उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर संविधानको पालना र रक्षाका लागि पुनले महत्वपूर्ण भूमिका खेल्नुहुने र विगतमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उहाँले देखाउनुभएको सकारात्मक भूमिका अतुलनीय रहेको ओलीको भनाइ थियो ।

हाल कायम भएको गठबन्धन भावना, सङ्ख्या  विचारका हिसाबले विशिष्ट खालको रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्तिलाई माथि उठाउने सङ्कल्पका साथ साझा उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचनका सबै प्रक्रिया पूरा भएपछि भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणमा सरकार केन्द्रित हुने र सरकारभन्दा बाहिर रहेका दललाई सरकारमा सहभागी गराउने तथा आन्दोलनमा रहेका दललाई समेत विश्वासमा लिएर अगाडि बढ्ने उनको भनाइ थियो ।

सशस्त्र सङ्घर्ष, शान्ति प्रक्रिया संविधान लेखनलगायत घटनाक्रम विश्वका लागिसमेत अनुकरणीय र  असाधारण दृश्य भएकाले यसलाई अझ समृद्ध पार्नु प्रमुख कार्यभार रहेको ओलीको भनाइ थियो ।

बैठकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया, संविधान लेखनलगायत काममा महत्वपूर्ण योगदान पु¥याएको व्यक्तित्वलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएकाले सबैको सहयोग प्राप्त हुने धारणा राखे ।

उनले नेपालको राजनीतिक परिवर्तन विश्वले अनुकरण गर्न लायक भएकाले त्यसलाई संस्थागत गर्न पनि साझा उम्मेदवारको विजय आवश्यक रहेको बताए ।

नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले कमाण्डरको रुपमा मात्रै नभई शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउन देखाउनुभएको सक्रियता र इमान्दार प्रयत्न नै उपराष्ट्रपतिका साझा उम्मेदवार पुनको विशेषता भएको बताए । सत्तारुढ गठबन्धनमा १५ दलको सहभागिता रहेको र सांसद्को सङ्ख्या ३३६ रहेकाले पुनको विजयी भइसकेको भएपनि निर्वाचनको परिणाम कुर्नुपर्ने नेता खनालको भनाइ थियो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले राष्ट्रपतिको निर्वाचनमा देखिएको गल्ती तथा कमजोरी नदोहो¥याउन सांसदलाई निर्देशन दिए । राष्ट्रपतिको निर्वाचनमा एउटै उम्मेदवारलाई दुई–दुई स्थानमा मत दिएको, हस्ताक्षर गरेको, अनावश्यक स्थानमा रेजा लगाएको पाइएकाले त्यस्तो नगर्न उनले आग्रह गरे । मन्त्री खरेलले ‘अशक्त अवस्थामा पनि मुलुकभित्रै उपचार गराउँछु, विदेश जान्न’ भनेर उपराष्ट्रपतिका उम्मेदवार पुनले देखाएको राष्ट्रिय भावना सबैको लागि अनुकरणीय रहेकाले त्यसमा ध्यान दिन आग्रह गरेका थिए ।

पुनको प्रस्तावकमा एमालेका वरिष्ठ नेता खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री