सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १७:३२ | UK Time: 12:47

शुक्रबार उपराष्ट्रपतिको मनोनयन

वीनेपाली
२०७२ कार्तिक १२ गते १७:२७

काठमाडौँ, १२ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

व्यवस्थापिका–संसद् सचिवालयका अनुसार सो पदका लागि शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

सो पदका लागि सत्तारुढ घटकका तर्फबाट एकीकृत नेकपा(माओवादी)का स्थायी समिति सदस्य नन्दबहादुर पुन र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी हुनेछन् ।

उनीहरू उम्मेदवार हुने कुराको घोषणा सम्बद्ध राजनीतिक दलले यसअघि नै गरिसकेका छन् । सचिवालयका अनुसार उम्मेदवारी दर्ता भएका प्रस्ताव बमोजिम उपराष्ट्रपतिको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन गर्ने समय अपराह्न १३.३० बजेका लागि तोकिएको छ ।

यस्तै सोही दिन अपराह्न १४ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, १४.३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शनिबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा गोप्य मतदान गरिनेछ । राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ ।

शनिबार अपराह्न १४.३० बजेदेखि मतगणना गरिने र साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ ।

सङ्घीय गणतन्त्र नेपालको संविधानमा राष्ट्रपतिमा महिला भए उपराष्ट्रपतिमा पुरुष हुने र त्यो पनि फरक फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । बुधबार राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै उपराष्ट्रपतिको चयन हुन लागेको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक