भारतीय चालकले दिए वीरगन्ज वाणिज्य दूतावासमा धर्ना

1445941762700_Pro_Ktm_ Indial mal bahak truck

पर्सा, १० कात्तिक । घर फर्किने वातावरण मिलाउन माग गर्दै भारतीय चालक वीरगन्जमा धर्नामा बसेका छन् ।

विगत अढाई महिनादेखि नेपालमै अलपत्र परेका भारतीय चालकले नाका खुलाई घर जाने वातावरण मिलाउन माग गर्दै वीरगन्जमा रहेको नेपालका लागि भारतीय महावाणिज्य दूतावासको द्वारमा त्रिपाल ओछ्याई धर्ना बसेका हुन् ।

वीरगन्ज नाकामा अलपत्र परेका भारतीय खाली गाडी सीमापारि प्रवेश गर्ने वातावरण मिलाइदिन वीरगन्जमा अवस्थित भारतीय महावाणिज्य दूतावासमा पटकपटक धाउँदा पनि कुनै सुनवाइ नभएकाले बाध्य भएर धर्नामा बस्नुपरेको चालकले बताएका छन् ।

लामो समयदेखि वीरगन्जमै बसेको कारण आफूहरूसँग रहेको रकम सकिएकाले अब खाना खानसमेत अप्ठ्यारो भएपछि भारततर्फ जान वातावरण मिलाउन भारत सरकारलाई गुहार माग्न धर्ना बसेकोे भारतीय वाहन चालक जगतार सिंहले जानकारी दिए ।

उनले वीरगन्जमा फसेका अधिकांश चालक सवारीधनी रहेकाले आफूहरू लामो समयदेखि वीरगन्जमै घेरिएको कारण परिवारले पनि अभावमा बाँच्नुपरेको र बैंकबाट लिएको ऋणको दुई किस्तासमेत तिर्न नसकेका कारण बन्द हडतालको कारण आफूहरूले खेपेको नोक्सानीसमेत मिलाउन माग गर्दै धर्ना बस्नुपरेको बताए ।

आन्दोलनकारीले दशगजा क्षेत्रमै चौबीसैँ घन्टा धर्ना दिएका कारण एउटा पनि गाडी सीमा वारपार हुन सकेको छैन । भारत फर्कन चाहेका करिब ५०० भारतीय खाली ट्रक वीरगन्ज भन्सारमा र सडक छेउमा थन्किएका छन् ।

वीरगन्जमा चालक र सहचालक गरी एक हजार भारतीय यातायात मजदुर एक महिना भोकभोकै अलपत्र परेको चालकले बताएका छन् ।

दूतावासको द्वारमै दुई दिनदेखि धर्नामा बस्दासमेत दूतावासका कर्मचारी वा अधिकारीले आफूहरूसँग भेट्न नआएको धर्नामा बसेका चालकहरूले बताएका छन् ।
सो विषयमा वाणिज्य दूतावास कार्यालयका निमित्त प्रमुख जसवीर सिंहसँग बुझ्दा उनले भारतीय चालकको समस्याबारे उनीसँग दुई दिनदेखि छलफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री