राष्ट्रपतिका तीनै जना प्रत्यासी भन्छन्– म जित्छु

1445937828601_RS-KTM-President darta-3

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) उपाध्यक्ष विद्यादेवी भण्डारी । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, १० कात्तिक । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि बुधबार हुने निर्वाचनमा तीन जनाले उमेदवारी दिएका छन् ।

मुलुकको राष्ट्राध्यक्ष एवम् संविधानको संरक्षकका रुपमा रहेको उक्त पदमा सत्तारुढ दल नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले उम्मेदवारी दिएका हुन् ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा उनीहरुले आज उमेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दलका तर्फबाट उम्मेदवारी दिएकी भण्डारीले आफू विजयी भएमा राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई अझ उँचो बनाउने अठोट व्यक्त गरिन् । उनले भनिन्, “मलाई जुन विश्वासका साथ राष्ट्रिय ठूलो जिम्मेवारी सुम्पिन लागिएको छ, त्यो विश्वासलाई अझ उँचो राख्ने प्रयास म गर्नेछु ।”

नयाँ संविधान जारी भएपछि नेपाल नयाँ ढङ्गले अगाडि बढ्ने, नेपाली महिलाको पनि सहभागिता बढ्ने तथा संविधानको मर्म र भावनाअनुरुप मुलुक अगाडि बढ्न लागेको सन्देश आफ्नो उम्मेदवारीले दिएको नेत्री भण्डारीले बताइन् ।  राष्ट्रपति जस्तो जिम्मेवार पदमा आफूलाई पार्टीहरुले अगाडि सारेर जिम्मेवारी दिने प्रयास गर्नुलाई आफूप्रतिको विश्वासका रुपमा लिएको बताउँदै उनले दलहरुबीचको सहमति र विश्वासलाई कसैले पनि डगमगाउन दिन नहुने धारणा राखिन् ।

“हामी सङ्क्रमणकालमै छौँ, हाम्रा सामु थुप्रै चुनौती छन्, त्यसैले राष्ट्रपति चयनका लागि सकेसम्म मिलेर जाँदा राम्रो हुन्थ्यो भन्ने मेरो धारणा छ,” उनले भनिन् । आफ्नो उमेदवारीलाई अहिले गठबन्धनमा रहेका सबै दलले समर्थन गरेको र बुधबारसम्ममा संसद्मा रहेका सबै दलको समर्थन प्राप्त हुने विश्वास समेत उनले व्यक्त गरिन् ।  नेपालको एकता, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समृद्ध लोकतन्त्र र समृद्ध जीवनका लागि आफ्नो उम्मेदवारीले नयाँ मार्गप्रशस्त गरेको उनको भनाइ थियो ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दिएका नेता गुरुङले काँग्रेस लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको पुरानो पार्टी भएकाले विजयी हुने विश्वासका साथ पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको बताए । “जित हार भन्ने कुरा लोकतान्त्रिक प्रक्रियामा भइरहन्छ, जित हारको कुरा होइन, पार्टीमा लागेपछि निर्वाचन लड्नुपर्छ, निर्वाचन लड्ने जित्छु भनेर नै हो”– उनले भने ।
काँग्रेसको इतिहास र भूमिकालाई सम्झेर सबै पार्टीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्दै उनले आफू व्यक्तिगत रुपमा नभई काँग्रेस नै निर्वाचनमा लडेकाले विजयी हुने आधार धेरै भएको बताए । व्यवस्थापिका–संसद्मा काँग्रेस जस्तै अरु पनि लोकतान्त्रिक पार्टी भएकाले उनीहरुबाट आफूले समर्थन प्राप्त गर्ने उनको भनाइ थियो । सहमतिको प्रयास अझै भइरहेकाले बुधबार मतदान गर्ने बेलासम्ममा सहमति हुन सक्ने उनले बताए ।

त्यसैगरी नेमकिपाका तर्फबाट उम्मेदवार बनेका महर्जनले संवैधानिक व्यवस्था र आफ्नो पार्टीले संसद्मार्फत खेलेको भूमिकालाई विचार पुरयाएर अरु राजनीतिक दलले आफ्नो उमेदवारीलाई सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्  ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ । तस्बिर ः रत्न श्रेष्ठ, रासस

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ । तस्बिर ः रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री