काँग्रेस चियापानमा तराई–मधेस आन्दोलन समाधानको खोजी

नेपाली काँग्रेसद्वारा दशरथ रङ्गशालामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री सुशील कोइराला । तस्बिरःरोशन सापकोटा,रासस

नेपाली काँग्रेसद्वारा दशरथ रङ्गशालामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री सुशील कोइराला । तस्बिरःरोशन सापकोटा,रासस

काठमाडौँ, ९ कात्तिक । नेपाली काँग्रेसले विजयादशमीका अवसरमा आज राजधानीमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न १ बजेदेखि सुरु भएको कार्यक्रममा काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यहरुले आगन्तुकको स्वागत गरेका थिए ।

यसअघि काँग्रेसले प्रत्येक वर्ष पार्टी केन्द्रीय कार्यालय बिपी नगर सानेपामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस पटक भने रङ्गशालामा गरिएको हो । मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका काँग्रेसका नेता बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना हुँदै आएको छ ।

कोइराला २०३३ पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि काँग्रेसले प्रत्येक वर्षको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान गरिँदै आएको हो ।

नेपाली काँग्रेसले चियापान कार्यक्रमका लागि १५ हजार निमन्त्रणापत्र वितरण गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी गराए ।

समझदारी र एकता आवश्यक छः कोइराला 

काँग्रेसका सभापति सुशील कोइरालाले दलहरूबीच आपसी समझदारी, सहकार्य र एकता वर्तमानमा पनि उत्तिकै आवश्यक भएको बताएका छन् । पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा प्रतिक्रिया दिँदै उनले नेपाली जनताको महत्वपूर्ण उपलब्धिका रुपमा प्राप्त संविधानको कार्यान्वयनका लागि दलबीचको एकता आवश्यक भएकामा जोड दिए ।

देशको विद्यमान समस्यालाई चाँडो समाधान गर्नुपर्ने बताउँदै उनले तराई–मधेसमा जारी आन्दोलनको वार्ताका माध्यमबाट समाधान खोज्नुुपर्ने धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री कोइरालाले विजयादशमी पर्वले सबै नेपालीमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष सभामुख, एकीकृत नेकपा माओवादीका अध्यक्ष, नेकपा एमाले वरिष्ठ नेता एवम् नेता, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष, राष्ट्रिय जनमोर्चाका अध्यक्षलगायत विभिन्न दलका नेता एवं कार्यकर्ता तथा बुद्धिजीवी, सर्वसाधारणको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री