आर्मी ब्यारेकतिर दशैं रमझम

Kalratri 15
लन्डन । कला, संस्कृति र परम्परालाई भूगोलले पनि रोक्न सक्दैन । करिब ५ हजार माइल टाढा बेलायतमा मनाइएको यसपटकको दशैंले त्यसैलाई पुष्टि गरेझैं लाग्छ ।
लन्डनस्थित नेपाली दूतावासदेखि गोर्खा बटालियनसम्ममा दशैं धुमधाम मनाइएको खवर छ । बेलायतस्थित फोक्सटन आर्मी ब्यारेकमा कालरात्रीको रौनक बेग्लै रह्यो । दोश्रो गोर्खा बटालियनले बेलायती राजमुकुटको सेवा गरेको दुईसय वर्षका अवसरमा कालरात्री सम्पन्न गरेको हो । बटालियनको आयोजनामा स्थानीय र नेपालबाट आएका कलाकारहरुले जोडदार सांगीतिक प्रस्तुति दिए । उनीहरुको प्रस्तुतिमा उपस्थित सयौं सैनिक र तिनका परिवार ननाची रहनै सकेनन् ।
कालरात्रीमा केन्द्रमा थिए कलाकारहरु लोकगायक कृष्ण गुरुङ, गायिकाहरु निता गुरुङ र मेलिना राई अनि खोजी प्रतिभा प्रतियोगितामा अन्तिम चरणसम्म पुग्न सफल रेवत राई ।

12170514_10153695183256197_115052693_nकार्यक्रमको बीचबीचमा स्थानीय कलाकारहरुको नृत्य रोमाण्टिक लाग्थ्यो । रेजिमेन्टका सैनिकहरुले किरांत राईको साकेला सिली, याक्थुङ चुम्लुङको च्याबरुङ, गुरुङहरुको रोधी नाच देखि तेक्वान्दो र लाहुरेहरुमाझ लोकप्रिय खुकुरी नाच समेत प्रस्तुत गरे । सबिना चोङबाङ र सजल राईले युगीन परिवेशको नृत्य प्रदर्शन गर्दा दर्शकदीर्घामा रहेका सचिन थापा नेपालतिरै दशैं मनाइरहेको अनुभूति गर्दै थिए । ।
दोश्रो गोर्खा बटालियनका कमान्डिङ अफिसर लेप्टिनेन्ट कर्नेल जेसी मुरेको आतिथ्यमा कार्यक्रम भएको हो । शुरुमा नेपाली राष्ट्रिय धुनबाट थालनी भएको कार्यक्रम सांगीतिक कार्यक्रमका संयोजक वारेन्ट अफिसर ज्ञानेन्द्र राईले औपचारिक उद्घाटन गरेका थिए ।
रेजिमेन्टका गोर्खा मेजर प्रेम गुरुङले दशैं शुभकामनासहित कालरात्रीको महत्वपूर्ण पक्षबारे अभिव्यक्ति दिए । उनले वीर पुर्खाहरुको योगदान र वलिदानले गोर्खालीहरुको नाम आजसम्म उच्च स्थानमा रहेको प्रशंसा गरे । मेजर गुरुङले पुर्खाहरुको योगदानको कदर गर्न र पल्टन घरको परिवेशमा धार्मिक मात्र नभई सांस्कृतिक अनि रेजिमेन्टको मुख्य पर्वको रुपमा दशैं मनाउंदै आएको पनि उल्लेख गरे ।
कार्यक्रममा गीत संगीतमात्र होइन, प्रेमको व्याख्या पनि भयो । उद्घोषक विदान राईले रेजिमेन्टका वारेन्ट अफिसरहरुलाई सोधे प्रेम के हो ? प्रतिउत्तरमा वारेन्ट अफिसर ए कम्पनीले भने प्रेम मनभित्रको मुटुको टुक्रा हो, कुनै उधारो हैन् । वारेन्ट अफिसर सि कम्पनीको जवाफ थियो, प्रेम मनको विश्वास हो, कुनै कर्तव्य हैन ।

Melina

मेलिना राई /तस्वीर मिलन तमु

वारेन्ट अफिसर बी कम्पनीले भने– प्रेम मर्जी हो, कुनै जवर्जस्ती हैन । वारेन्ट अफिसर वान नवल किरण याक्खा भन्दै थिए, प्रेम रेजिमेन्टको गोर्खा मेजरको नाम हैन, नाम हो कुनै चानचुने हैन ।

ठट्यौली र रोमान्टिक माहोलले कालरात्रीलाई झन् उत्तेजित बनाएको सहभागी बताइरहेका थिए ।
मेलिना राईले कम्मर माथि पटुकी, पटुकी माथि घैला… लगायतका गीत गाउंदा दर्शकले भरपुर मनोरन्जन लिए । बेला बेला उद्घोषक विदान राईले पल्टने समसामयिक कुरालाई मुक्तकमा पस्किंदा अधिकृतहरु चकित थिए ।

कार्यक्रमको अन्त्यतिर नेपाली कलाकारहरुलाई पल्टनका कमान्डिङ अफिसर जेसी मुरे, गोर्खा मेजर प्रेम गुरुङ, कार्यक्रम निर्देशक कलर सार्जेन्ट मदन जिमी लगायत अन्य उच्च ओहोदाका व्यक्तिले विशेष सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री