
बस दुर्घटनापछि आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
तुलसीपुर (दाङ), ४ कात्तिक । मङ्गलबार बाँकेको खासखुस्मा गाविस–८ को चप्पर गौरीमा भएको बस दुर्घटनालगत्तै आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म आठ पुगेको छ ।
इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक ज्योति शर्माले दिनुभएको जानकारीअनुसार हालसम्म आठ जनाको शवको कङ्काल भेटिएको छ । शवको पहिचान भने डिएनए परीक्षणबाट मात्र गर्ने सकिने उनले जानकारी दिए ।
सो दुर्घटनामा परी १२ जना घाइते भएको र तीमध्ये तीन जनाको प्राथमिक स्वास्थ्य केन्द्र लमही र अन्यलाई नेपालगन्ज पठाइएको छ ।
बुटवलबाट नेपालगन्ज जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भई पल्टिएको दुई मिनेटमा आगलागी भएको थियो ।
आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीले बसमा अमेलिया चेक प्वाइन्टबाट ३३ जना यात्रु सवार रहेको जानकारी गराए पनि बसभित्र कति यात्रु थिए भन्ने अझै एकीन जानकारी नभएको जनाएको छ ।
बस दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाबाट घटनास्थल पुगेका प्रहरी निरीक्षक ज्योति शर्माले बस पल्टिएलगत्तै आगलागी भएका कारण यात्रुको उद्धार गर्न नसकेको बताए ।
बसमा यात्रुले पेट्रोल तथा सिलिन्डर ग्यास राखेका कारण बस तातिएर आगलागी भएको अनुमान प्रहरीको छ । घाइते केहीले भने प्रहरीसमक्ष चालकको लापर्बाहीका कारण दुर्घटना भएको बताएका छन् । चालक अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन समय लाग्ने र घटनाबारे पूर्ण विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति