प्रसंग डा. भट्टराईको नयां शक्तिको

Baburam-Bhattarai

डा. भट्टराई

 

२० वर्ष अगाडि प्रजातन्त्र (२०४६ सालको) आएको ५ र ६ वर्ष हुंदो हो चलिरहेको संसदसभा छोडेर नेपालको जनवादी विकासका लागि सांसद डा. बाबुराम भट्टराई जंगल पसे अरे भन्ने सुनियो । घर छिमेकका ठूला बडाले 
“आज मलाई धेरैले नचिन्लान् तर आजको दश वर्षपछि सबैको मुखमा बाबुराम भट्टराईको नाम झुन्डिने बनाउनेछु “भन्दै बाबुराम संसद छोडेर हिंडेको सुनाएका थिए ।

त्यसको ७ र ८ वर्ष हुंदो हो जनवादी क्रान्ति देख्ने र भोग्ने मौका पाइयो । आफूले ६, ७ कक्षामा पढाउने उमेरका जस्ता बालबालिकाले बुर्जुवा शिक्षा बन्द गर्नुपर्छ भन्दै चन्दा असुलेको र क्रान्तिकारी बात सुनाएको हिजो जस्तो लाग्छ । बाहिर गएका घरका सदस्य भरे घर फर्कने हुन् वा एम्बुसमा पर्ने हुन्  भन्ने चिन्ताको त कुरै छोडौं ।

बाबुरामजीको क्रान्ति सफल पनि भयो । उहां शक्ति र सत्तामा रहुन्जेल समाजमा धेरै परिवर्तन भएको देखियो । पहिला त दुई चार अक्षर पढे, सुकिला कपडा लाए सम्मान नै गर्थे समाजमा । अहिले त दुई चार तले घरै ठड्याउनु पर्ने रहेछ (जसरी कमाए पनि, बस्ने सदस्य एक जना मात्रै भएपनि) सम्मानित हुनका लागि समाजको नजरमा ।

पहिला त पैसा कमाएर खेतबारी जोडे जस्तो लाग्थ्यो अहिले त खेतबारी बेचेरै भए पनि तला थप्नु पर्ने, घरमा मार्बल लगाउनु पर्ने भएछ ।
स्वदेशी श्रम बजारमा त श्रमिकले पक्कै सम्मान पाए होलान् तर विदेशी श्रम बजारमा श्रम नबेची घरै नचल्ने अवस्था देखियो ।

विदेशीने नेपालीको त कुरै छोडांै, नेपाली हुनुको एउटै साझा उद्देश्य हो जस्तो लाग्छ । जुनसुकै हालतमा र जसरी भए पनि विदेशिनु । सकेसम्म उतै बस्ने गरेर, नभएपनि ८, १० वर्ष भएपनि बिताउने गरेर ।

विदेशी श्रम बजारमा नेपाली श्रमिकको हालत त भनिरहनु नपर्ला, दिनहुंजसो मिडियामा पढ्न पाइन्छ ।

राज्यको विदेशी निर्भरता कति बढेछ भन्ने कुरा त अहिलेको नाकाबन्दीले देखाउंदैछ । पहिलाको नाकाबन्दीले केही सिमित शहरहरूलाई बढि प्रभाव पारेकामा अहिलेको नाकाबन्दीले हरेक गाउं शहर प्रभावित छ ।

विदेशीले हेर्ने नजरको कुरामा, २७ वर्षमा दुनियांमा कति परिवर्तन भए तर नेपाल भने छिमेकी राष्ट्रको नजरमा कति निरिह र लाचार हुंदै गइरहेको रहेछ भन्ने सामान्य मानिसले पनि देखिरहेका छौं ।
जनताको क्रयशक्ति पक्कै पनि बढेको हो दुईमत छैन् तर लगानी आत्मनिर्भतामा भन्दा विलासितामा भएको अवश्य होइन र ?

रह्यो व्यक्तिको कुरा, हरेक नेपाली अस्तित्व संकटबाट गुज्रिरहेको देखिन्छ । स्वदेश होस् वा विदेश, विभिन्न राजनीतिक, जातिय, धार्मिक, सामाजिक र अन्य संघसंस्था मार्फत आफ्नो अस्तित्व खोजिरहेछन् ।

डा. भट्टराईको शक्ति र सत्ताको कार्यकालको महत्वपूर्ण उपलब्धि नयां 
संविधान थियोे । त्यो पनि जारी भएको भोलिपल्ट देखि नै च्यातिन, जलाउन र विरोध गर्न थालियो । विडम्बना के भने त्यही संविधान पारित गर्न हस्ताक्षर गर्नेहरू विरोधको अग्रपंक्तिमा पनि उभिए । डाक्टर ज्यूको कुरा सबै लाई थाहा छंदैछ । छिमेकी राष्ट्रको कुरा त उठाउनै परेन ।

संविधानले के राम्रो दियो भनेर जनता र विदेशी सामु लानुको साटो राष्ट्रिय अस्तित्वलाई नै खतरामा पार्ने गरि सरक्क पार्टी र संसदबाटै राजिनामा दिएर संविधान विरोधी खेमामा उभिएको देखियो । के यही विरोधका लागि यतिका समय र पैसा खर्चेर बनाइएको संविधान हो यो ।
अनेक विरोध र विद्रोह गरेर संसद र सत्तामा पुग्यो अनि संसद (संविधानसभा ) भंग गर्यो । सांसद र पार्टीबाट राजिनामा दियो । अनि फेरि नयां नीति र निर्माणको (नयां शक्ति) खांचो भन्दै विरोधमै अगाडि । विरोधको vicious circle.

काम गर्न भन्दा विरोध गर्न पक्कै पनि सजिलो हुन्छ र ध्यानाकर्षण पनि छिट्टै देखिन्छ । कतै यसैको एडिक्ट त हुनु भएन डाक्टर भट्टराई ।

सबैलाई संविधानमा आ आफ्नो अधिकारको कुरा राख्दा राख्दै फुर्सद छैन् । मुख्य मुद्दाले कसैको ध्यान पाएकै छैन् त्यो हो संविधान लागू गर्न लाग्ने व्ययभार नेपालले कसरी थेग्ने । अहिलेकै प्रशासनिक खर्चको व्ययभार थाम्न मुस्किल भएको राष्ट्रले कहांबाट त्यतिका खर्च जुटाउने र जुटाए पनि कहिलेसम्म प्रशाशनिक काममा खर्चने र देशको विकास फेरि के ले र कहिले गर्ने ?

अहिले आएर डाक्टर भट्टराईलाई आर्थिक विकासका लागि समाजवादी रेल चाहिन्छ भन्ने लागेछ । पक्कै पनि त्यो प्रजातान्त्रिक समाजवादी रेल होला । अबको १० वर्षपछि गाउं फर्क अभियान नहोला भन्न सकिन्न ।

जे होस् । उतिबेलै ती चन्दा असुल्न आउने भाईबहिनीले बुर्जुवा शिक्षा र जनवादी क्रान्तिको जोसिएर गफ दिइरहंदा एक झापड दिएर खुरूक्क कक्षा कोठामा जाउ र पढ भन्न मन लागेको थियोे । भनेको भए त के बांच्नु नभन्दै त ज्यान जोगिन मुस्किल ।
धन्य भाग्यमानी भट्टराई अझै पनि साथ दिने नेपालीको कमी नहोला ।

[email protected]

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री