सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १४:२७ | UK Time: 09:42

न हामी परदेशी, न स्वदेशी

वीनेपाली
२०७२ असोज १ गते १५:१०

576695_10150757895588672_25978777_nलन्डन । कैलाली घट्ना लगत्तै मेरो मोवाइल घण्टी बज्यो । एक जना भाइले सुनायो, ए दाई थारुहरुले एसएसपी र २ वर्षको बालकसहित २० जना प्रहरीलाई मारे रे । पहिला त पत्याइन । मनले त्यो भाइको कुरा सत्य नहोस् भन्ने लाग्यो । भलै मृतक प्रहरी संख्या केही कमी रहेछ तर घट्ना सांचो थियो । मन मनै सोचें, देश अब गृहयुद्धतिर उन्मुख छ ।

करिब ४ वर्ष अघि पूर्व टेलिभिजन समाचार प्रस्तोता दिदी रमा सिंहसंगको कुरा झल्झली याद आएको छ यतिखेर । दिदी त्यतिबेला भन्दै हुनुहुन्थ्यो, भाइ माओवादीले १०८ जातीलाई यसरी सपना बांडेका छन्, त्यो पुरा नहुने आश्वासनले भविष्यमा काटाकाट र मारामार हुने निश्चित छ । असोज तीनमा नयां संविधान जारी हुने बेलासम्म आइपुग्दा दिदीको त्यो भविष्यवाणी सत्यतामा परिणत हुने हो कि झैं देखिएको छ । मधेरी, थारु र अन्य जनजातीलाई बाइपास गरि ल्याउन लागिएको संविधानले सबै समाधानको अन्त्य गरिसकेको विश्वास 
गर्ने आधार अति कम छ । पक्का छ, मधेशीहरु दक्षिणको उक्साहटमा केही मान्छे मार्न उद्दत हुनेछन् । थारुहरु कसैको बुइ चढेर अरु केही जना प्रहरीलाई भाला हान्न उत्प्रेरित हुनेछन् । दक्षिणबाट भाडामा केही गुण्डा आयात गरेर निर्दोष मानिसको हत्या नहोला भन्न सकिन्न । हामी प्रजातन्त्रको प्रयोग र अभ्यासकै क्रममा छौं । हामीलाई कति कुरा चित्त नबुझ्ला तर विरोधका पनि आ आफ्नै तौर तरिका छन् । चक्का जाम गरेर, नेपाल बन्द गरेर, जिउंदै मान्छे जलाएर, भालाले घोचेर, अर्काको सम्पति तहसनहस पारेर हामी समाधान खोज्न लागेका छौं । यो कस्तो परिपाटी विकास भएको हो प्रश्न अनुत्तरित छ ।

बिहान उठेर यसो नेपालका दैनिक पत्रपत्रिका अनि अनलाइन न्यूज पोर्टल चहार्यो मन भक्कानिन्छ । शान्ति, अमनचयन छैन् देशमा । जनमत संग्रह विना नै सिमित नेताहरुको भरमा राजतन्त्र फालेर गणतन्त्र आयो भनियो तर अझै पनि हिंसाको राजनीति व्याप्त छ । पूर्वतिर बन्दले महिना दिन काटेको छ । गरिव निमुखा भोकभोकै मरेका छन् । कहिले उकासिने होला विचरा हामी नेपालीको जिवनस्तर ? भन्न त नेपाल बस्ने केही साथीहरु तिमी त विदेशमा ऐश, आराम र सुखसयलमा बांचिरहेका छौ किन चिन्ता भन्ने गर्छन् । मेरो फेसबुकमा चित्रित हुने कतिपय स्टाटस देखेर केही आक्रोशित पनि हुन्छन् । कतिलाई मेरो सिद्धान्त मन परेको छैन् । तर, मलाई त्यस्ता कमेन्टमा आपत्ति छैन्, मानिसको आ आफ्नै व्यक्तिगत बुझाइ हुन्छ । मेरो विरोध र विमति केवल सिस्टम र नेताहरुको असक्षमता अनि व्यक्तिगत स्वार्थका लागि हो । हामी पनि विदेशमा रहरले बसेका होइनौं । सायद नेपालमा सर्वसम्पन्न भइदिएको भए विदेशको यो व्यस्त र तनावपूर्ण जीवनमा किन हेलिनुपर्थ्यो ?

हालैमात्र विनाशकारी भूकम्पले देश विक्षिप्त छ । झण्डै ९ हजार मानिस मरे । भौतिक संरचना पुनर्निर्माणको खाका कोरेर अगाडि बढ्नुपर्ने बेला हामी आपसमा यो जात, उ जात र यो प्रदेश त्यो प्रदेश भन्दै लडिरहेका छौं । नेपाली होइन, आफ्नो पहिचान खोजिरहेका छौं । माओवादीले सशस्त्र द्धन्द्धमा विनाश गरेको संरचना अझै लथालिंग छन् । विदेशी दातृनिकायले यथेष्ट आर्थिक सहयोग र अनुदान दिएका छन् तर त्यो सही सदुपयोग छैन् । डनको दादागिरी छ । प्रशासन अस्तव्यस्त छ । एमआरपी बनाउन हप्तौं प्रतिक्षा गर्नुपर्ने वाध्यता छ । अस्पतालका डाक्टर हड्तालमा छन् । डा. केसीहरु आफ्नो अधिकार र चिकित्सा क्षेत्रलाई माफियाको चंगुलबाट बचाउन आमरण अनसन बस्नु परेको छ ।

यता, प्रजातान्त्रिक मुलुक बेलायतमा रहेर पनि हामी नेपालीको मानसिकता विचित्रको छ । विदेश बसेर फेसबुकमा नेतालाई गाली गर्न खप्पिस भइसकेका छौं हामी । यसले गरेन, उसले गरेन भनेर घोचपेच गर्न हामी अभ्यस्त भइसकेका छौं ।
एनआरएनए यूकेको गाइजात्रा पनि आफ्नै आंखाले देख्नु परेको छ । एक चरण एक अर्कामा सत्तोसराप, आरोप प्रत्यारोप गरे । यसले यति पैसा खायो, उसले यो हिनामिना गर्यो भनेर निर्लज्ज प्रस्तुत भए समाजमा । तर, भागवण्डा भएर सबैले पद पाएपछि त अहिले सब मौन छ । तिनलाई एनआरएन मुद्दा भन्दा पनि आफ्नै पद त चाहिएको रैछ नि । कति बेला आफैंलाई लाज लाग्छ, तिनै एनआरएन नेता भनिनेहरुको दर्शकदीर्घामा घण्टौं लामो भाषण सुन्न म विवश छु ।

मेरो बुझाइमा एनआरएनमा प्रोफेशनल बडी हुन जरुरी छ जसले कमर्शीयल विजनेश र बैंकिग क्षेत्रलाई राम्ररी बुझेको होस् । त्यसले नेपालमा लगानीको वातावरण बनाउन सकोस् । त्यो व्यक्तिले बेलायतको च्याम्बर अफ कमर्स वा अन्य व्यापारिक निकायसंग समन्वय र साझेदारीमा काम गर्न सकोस् । बेलायतको कर्पोरेट, रिटेल मार्केट वृहत छ । कम्तीमा नेपालमा उत्पादित सामाग्री यहां ल्याउन सके देश कति समृद्ध हुन्थ्यो । खोइ यस्तो विवेक कथित एनआरएन अगुवाहरुमा ?
नेपालमा जलविद्युतको प्रचुर सम्भावना मैले यहां कोट्याइरहन परेन । केवल वातावरण हुनुपर्यो । हामी प्रवासमा रहेका नेपाली पनि अझ जाग्न जरुरी छ । नयां संविधानले गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था गरिसकेको परिप्रेक्ष्यमा अब पनि नेपाल जान हिच्किचाउने हो भने देश विकास कसले गर्ने ?

म बेलायत बसेको करिब ८ वर्ष बितेछ । मलाई पर्यटन सम्वन्धि धेरथोर ज्ञान छ । चार तारेदेखि गेष्ट हाउससम्म काम गरेको अनुभव मसंग छ । अहिले कर्पोरेट मार्केटमा काम गरिरहेकाले बजार विस्तारै बुझ्दैछु । इच्छाशक्ति र अलिकति गम्भीर भएर बेलायत आयात गर्ने हो भने धेरै नेपाली उत्पादन यहांका ठूला सुपरस्टोर जस्तै टेस्को, आस्डा, अल्डी, लिडल, सेन्स्बरीमा ल्याउन सकिन्थ्यो । लन्डनमा राम्रो ज्ञान र सिप भएका हजारौं नेपाली युवा छन् । धेरैको मनमा नेपालमा स्थायित्व भए फर्केर केही गर्न सकिन्थ्यो भन्ने छ । तर, अदुरदर्शी नेताका कारण असंख्य नेपाली प्रवासीन वाध्य छन् । अलिकति शिक्षित र हुनेखाने जुझारु युवा समुन्नत राष्टतिर पलायन भइरहेका छन् भने निम्न आय भएका युवा खाडीको तातो रापमा पिल्सिन वाध्य छन् ।
विकास कुनै फुमन्तरको छडी होइन आजको भोलि सकिने । अब हामी लडेर होइन, सबै एकजुट भएर देश विकासमा लागौं । नत्र हाम्रो अवस्था सधैं उस्तै रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक