फोरम (लोकतान्त्रिक) सँगको वार्ता निष्कर्षविहीन

प्रमुख तीन दल र संविधान लेखन प्रक्रियामा असन्तुष्ट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि बैठकबाट बाहिरिँदै शीर्ष नेताहरु । तस्बिरः रोशन सापकोटा, रासस

प्रमुख तीन दल र संविधान लेखन प्रक्रियामा असन्तुष्ट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि बैठकबाट बाहिरिँदै शीर्ष नेताहरु । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौँ, ३१ भदौ । प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बीच नयाँ संविधानका बारेमा प्रधानमन्त्री निवास, बालुवाटारमा राति अबेरसम्म भएको बिनासहमति टुङ्गिएको छ ।

बैठकपछि नेकपा(एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले समानुपातिक समावेशितालगायत माग सम्बोधन गर्ने, सीमाङ्कनका विषयमा देखिएको मुख्य विवादलाई सङ्घीय आयोगमार्फत टुङ्ग्याउने, हाल कायम रहेका ७५ जिल्लालाई एक एक निर्वाचन क्षेत्र मान्ने तथा जनसङ्ख्याका आधारमा बाँकी निर्वाचन क्षेत्र राख्नेसम्बन्धी प्रस्ताव तीन दलका तर्फबाट फोरम(लोकतान्त्रिक) समक्ष राखिए पनि सहमति हुन नसकेको बताए ।

फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आज कतिपय विषयमा छलफल भए पनि सहमति नभएको तर शुक्रबार फेरि बैठक बस्ने जानकारी दिए ।

संविधानका विषयवस्तुमा असन्तुष्ट भई प्रक्रियाबाट बाहिरेको फोरम(लोकतान्त्रिक)लाई पुनः प्रक्रियामा ल्याउनेबारे सो छलफल भइरहेको हो । सो दलले सीमाङ्कन, समानुपातिक समावेशितालगायत विषयमा असन्तुष्टि राख्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा फोरम(लोकतान्त्रिक)का अध्यक्ष गच्छदारलगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री