आमन्त्रित नआएपछि दुःख व्यक्तगर्दै टुङ्गियो सुशासन समिति बैठक

काठमाडौँ, २० साउन । गणपूरक सङ्ख्या नपुगेर एक घन्टा ढिलो सुरु भएको सुशासन तथा अनुगमन समितिको बैठकले जानकारी लिन बोलाएका मन्त्रिपरिषद्का सदस्य पनि उपस्थित नभएपछि गहिरो दुःख व्यक्त गरेको छ ।

आज बिहान ८ बजेका लागि बस्ने सूचना टाँस गरी डाकिएको समितिको बैठक तोकिएको समयमा सदस्य उपस्थित नभएका कारण एक घन्टापछि विहान ९ बजे मात्र सुरु भई गहिरो दुःख व्यक्त गर्दै टुङ्गिएको हो ।

करार सेवामा कार्यरत विदेशी प्राध्यापकलाई उपदान दिने मन्त्रिपरिषद्को निर्णयबारेमा जानकारी लिन समितिले प्रधानमन्त्री, अर्थ मन्त्री, शिक्षा मन्त्री, सामान्य प्रशासन मन्त्री र नेपाल सरकारका मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवलाई आमन्त्रण गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयमा कार्यरत भारतीय प्राध्यापकका विषयमा मन्त्रिपरिषद्बाट भएको निर्णयसँगै देशका विभिन्न निकायमा तीन लाखभन्दा बढी करार सेवामा रहेका कर्मचारीका बारेमा के हुने भन्ने प्रश्न उब्जिएको समितिको भनाइ छ ।

सरकारको पछिल्लो निर्णयले तीन लाख कर्मचारीका लागि पनि बाटो खोलेको हो वा के हो भन्ने गम्भीर प्रश्न उठेकोमा वास्तवमै यस्तो निर्णय भएको हो कि होइन, भएको भए के आधारमा भयो भनी समितिले जानकारी लिन मन्त्रिपरिषद्का सदस्यलाई आमन्त्रण गरेको थियो ।

छलफलका लागि आमन्त्रण गरिएकामध्ये सम्बन्धित मन्त्रालयका सचिव तोकिएकै समयमा उपस्थित भए पनि समितिका सदस्यले मुलुकलाई दुरगामी असर पर्ने महत्वपूर्ण विषयमा जानकारी दिन मन्त्रीलाई बोलाइएकोमा उनीहरू उपस्थित नभएको प्रति आक्रोश व्यक्त गरेका थिए ।

छलफलका लागि तय भएका सबै विषयवस्तुबारे विगतको अभ्यास, परम्परा र निर्धारित समयमै समितिले प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव र सचिवलाई जानकारी गराएको समितिका सभापति शेरधन राईले जानकारी दिए ।

बैठक स्थगित भएपछि राससको जिज्ञासामा समितिका सभापति राईले भने, “अनुपस्थितिका बारेमा प्रधानमन्त्री र मन्त्रीबाट कुनै जानकारी र सूचना समितिलाई नगरिएकाले यो विषयलाई समितिले गम्भीरतापूर्वक लिएको छ ।”

“यो जुन प्रकारको गैरजिम्मेवारी र जवाफहीनताको कार्य देखियो त्यो दूर्भाग्यपूर्ण कुरा हो, त्यसप्रति संसदीय समिति गहिरो दुःख व्यक्त गर्दछ, प्रधानमन्त्रीलगायतका मन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको छ”, उनले भने ।

समितिले प्राध्यापकसँग सम्बन्धित भएकोे निर्णयका बारेमा व्यवस्थापिका– संसद्मा समेत प्रश्न उठेकाले सरकारसँग निर्णय प्रतिलिपि माग गर्ने भएको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेतासमेत रहेको सो समितिमा पछिल्ला बैठकमा सदस्य समयमै उपस्थित हुन छाडेपछि समितिले सदस्यलाई समेत समयमै उपस्थितिका लागि गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।

बैठकमा दलका शीर्षनेताको फाट्टफुट्टरुपमा मात्र उपस्थिति हुने कार्यशैलीप्रतिसमेत सदस्यले आजको बैठकमा टीकाटिप्पणी गर्नुभएको थियो । समितिमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, झलनाथ खनाल, डा बाबुराम भट्टराई, विजयकुमार गच्छदार, उपेन्द्र यादव, कमल थापालगायतका नेता कहिलेकाहीँमात्र झुल्कने गरेको समितिका सदस्यको भनाइ छ ।

समितिको बैठकमा उपस्थित हुनुभएका एनेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महरालाई लक्षित गर्दै केही सदस्यले आज तपाई ठूलो नेताका रुपमा उपस्थित हुनुभएकोमा हामीलाई गौरव लागेको छ भनेका थिए । बैठक सुरु हुनु अगावै उनी केही समयमै फर्कन्छु भन्दै बैठक कक्षबाट बाहिरिए, तर फर्केर आएनन् ।

यसैबीच, सदस्यले बैठक बस्ने र कार्यसूचीका विषयमा स्पष्ट रुपमा आफूलाई जानकारी दिने व्यवस्था मिलाउन सभापतिमार्फत समितिको सचिवालयको पनि ध्यानाकर्षण गराएका थिए  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री