मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: ००:०७ | UK Time: 19:22

गैर आवासीय नेपाली नागरिकताको प्रश्न !

वीनेपाली
२०७२ असार २२ गते २०:४३

11721185_10204542000291653_1271756387_n

गैर आवासीय नेपाली नागरिकताको बिषयमा हालै दलहरुको सहमतिमा प्रस्तुत नेपालको संबिधानको प्रस्तावित मस्यौदामा भएको व्यवस्थाले NRNA द्वारा आफ्नो स्थापना कालदेखि उठाइरहेको प्रमुख मुद्दा नेपाली नागरिकताको निरन्तरताको सन्दर्भमा नयां आयाम थपिदिएको छ । NRNA को माग एकपटक नागरिकता लिएका नेपाली नागरिकहरु संसारको जुनशुकै ठाउमा बसोवास गरिरहेपनि उनीहरु एकपटकको नेपाली हुन् उनीहरुले धारण गरेको नेपाली नागरिकता अछुन्न रहनु पर्दछ भन्ने हो, तर विद्यमान प्रचलित कानुनले बैदेशिक नागरिकता प्राप्त गरेपछि समाप्त हुने भनिएको नागरिकताको पून: निरन्तरता अलावा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था हुने देखियो । NRNA को यस सन्दर्भमा सकारात्मक प्रतिक्रिया आएको पनि देखियो । तथापि यस निर्णयको सार्थकतामा केहि महत्वपूर्ण प्रश्नहरु अन्तर्निहित रहेको देखिन्छ ।

१. मुलत: विद्यमान नेपाली नागरिकताको प्रकार वंशज, अंगीकृत र मानार्थ गरि ३ किसिमको नागरिकता रहि आएकोमा अब गैर आवासीय नेपाली नागरिकता समेत गरि ४ प्रकारको नागरिकताको व्यवस्था हुने देखियो, अन्य प्रकारको नागरिकता र गैर आवासीय नेपाली नागरिकतामा मुलत गैर आवासीय नेपाली नागरिकले राजनीतिक अधिकार प्राप्त गर्न निश्चित अवधि नेपालमा बसोवास गर्नुपर्ने प्रावधान राख्न खोजिएको देखिन्छ । जहांसम्म गैर आवासीय नेपाली नागरिकताको सिमितता (राजनीतिक अधिकार ) को विषय संविधानको दफामा नै उल्लेख गरिने वा संविधानको दफामा सो बिषय ऐन कानुनद्वारा व्यवस्थित गरिने गरि उल्लेख हुने भन्ने कुरा अहिले सम्म अमुर्त छ । राजनीतिक अधिकार लगायतका सिमा र सर्तहरु संबिधानमा नै किटानी गर्ने वा ऐन र कानुनले ब्यबस्थित गर्ने कुरामा सारभूत अन्तर छ । यहि सारभूत अन्तरमा नै यस निर्णयको महत्वपूर्ण अँश छिपेको छ, निर्णय आफैमा सकारात्मक देखिएपनि उक्त सिमा र सर्तहरुको व्यवस्थापन कसरी गर्ने भन्ने कुराले यस निर्णयको मर्म र NRN को भावंना प्रतिबिम्बित गर्नेछ । संविधानमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरि यसका सिमा र सर्तहरु कानुनद्व्यरा ब्यबस्थित गरिने भन्ने कुरा उल्लेख गरिनुले मात्र यस निर्णयको शर्थकता परिभासित हुनेछ । संविधान बारम्बार लेखिने दस्ताबेज होइन र संसोधन गरिरहने प्रक्रिया पनि सहज र सरल हुदैन, सैद्धान्तिक रुपले NRN हरुलाई गैर आवासीय नेपाली नागरिकता दिने निर्णय भएपछि अन्य सिमा र सर्तहरु समय र काल खण्डहरुमा परिबर्तित हुन सक्छन । तसर्थ ति सिमा र सर्तहरु नागरिकता ऐन र कानुनले ब्यबस्थित गर्ने गरि लेखिनु उपुक्त हुनेछ, संसदले बनाउने कानुन पनि बाध्यकारी हुन्छ नै, तसर्थ संविधानमा मात्र नागरिकताको प्रकार उल्लेख गर्ने र अन्य व्यवस्था कानुनद्वारा निर्धारित गरिनु बैज्ञानिक हुनेछ ।

२. यसैगरी अर्को महत्वपूर्ण विषय नेपाली राहदानीको निर्वाध प्रयोग हो, स्वभाभिक रुपमा राष्ट्रका प्रत्येक नागरिकहरु निसर्त राहदानी बाहक हुने अधिकारी हुन् जहांसम्म अरू नागरिकहरु सरह गैर आवाशीय नेपाली नागरिकहरुले पनि नेपाली राहादानीको प्रयोग गर्न कुनै तरहबाट अंकुश लगाइएन भने सांचो अर्थमा गैर आवासीय नेपाली नागरिकता प्रदान गरिनुको महत्व रहनेछ ।

३. यस प्रकारको निर्णयले समग्र नेपालको बिकासमा वैदेशिक नेपाली नागरिकहरुको योगदान, मातृभूमि नेपालमा बसोवास गरिरहेका नेपाली र विदेशमा बसोवास गरिरहेका नेपालीहरुबीचको भाइचाराको सम्बन्ध र बिदेशमा रही पेशा, व्यवसाय गरिरहेका वा उच्च शिक्षा, सिप र ज्ञान हांसिल गर्दै गरेका नेपाली परिवारका सन्ततीहरुको नेपाली नागरिकता रहिरहनु र नेपाली हुनुको भावनात्मक प्रभावले नेपाल र मातृभूमि प्रतिको अगाध स्नेह अविछिन्न रहिरहने कुरामा विवाद छैन ।

४. बिदेशमा लामो समय बसोवास गरिरहेका नेपालीहरु नेपालको सार्बजनिक पदको लाभ र नेपालको राजनीतिमा सक्रिय हुन लालायित होलान भन्ने आशंका विद्यमान देखिन्छ । यसमा केहि सत्यता पनि होला, त्यसप्रकारको महत्वाँकाक्षा बोकेका गैर आवासीय नेपालीहरुको हकमा त्यस्तो अधिकार प्रयोगमा निश्चित मापदण्ड कानुनमा तोक्न सकिन्छ । यसको निम्ति नेपालमा फर्की निरन्तर रुपमा निश्चित अबधि सम्म बसोबास गरि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने वाध्यात्मक कानुनी व्यवस्थाले स्वभाबिक रुपमा यसको समाधान गर्नेनै छ, व्यक्तिको बस्तुगत अवस्था र स्वभावैले पनि लामो समय बाहिर हुने व्यक्ति कसरी राजनीतिक प्रतिष्पर्धामा सक्रिय हुन सक्ला? पैसा, लोभ लालच र सम्पन्नताले सधैभरि उसैगरी काम गरि रहनेछ भन्नु अबैज्ञानिक दृष्टि हुनेछ । तसर्थ ठिक यहि बेला नेपालको संबिधान निर्माण मा संलग्न सबै शक्ति अरुले यो ऐतिहासिक जिम्मेवारीलाई आत्मसात गरि सकारात्मक निर्णय गरिदिए भने बिदेशमा बसोबाश गरिरहेका तर मन भित्र नेपालबाट विदेशिएको मनोभावना, मातृभूमिसंगको सम्बन्द टाढिएको यथार्थता, सन्ततिहरुमा बढ्दै जान लागेको नेपालको माया ममताप्रतिको निराशा र पलायनताको कालो बादल र समाप्त हुदै जान लागि रहेको नेपाली संस्कृतिको धरोहर प्रतिको आस्था, र विदेशी भूमिलाई कर्मथलो बनाएपनि हरेक पलमा नेपाली हुनुको गर्बको अनुभूति गरिरहेका समग्र गैर आवासीय नेपालीहरुमा नयां उत्साहको तरङ्ग पैदा हुनेछ ।

५. अर्को महत्वपूर्ण तर आधारहीन हल्ला गैर आवासीय नेपालीहरुको संख्याको बिषय हो । एकिन गरि भन्न नसकिए पनि सार्क मुलुक बाहेक तेश्रो मुलुकमा रहेका नेपाली नागरिकता धारण गरेका नेपालीहरुको संख्या त्यति धेरै ठूलो आकारमा छैन, नेपाली नागरिकता ऐन २०१९ पछि नागरिकता लिएर बिदेश जानेहरुको संख्या न्यून छ तर चर्चामा भने नेपालको जनसंख्याको अनुपातमा नै प्रभाब पर्नेगरी लाखौं लाख भनेर चर्चा गरिएको छ, जुन यथार्थ भन्दा अतिरंजनात्मक रुपमा चलेको हल्ला मात्र हो ।

६. आर्थिक रुपमा जतिसुकै सुःख सुविधा र आरामदायी जिवनयापन गरिरहेको भएपनि सामाजिक पहिचानको मनोबैज्ञानिक अभाब व्यहोरिरहेका NRN हरु वस्तुत: नेपाली हुनुमा अत्यन्त गर्ब गरिरहेका छन् । गोर्खाहरुको सम्मान बेलायतमा कम छैन र सम्मानित जिबन यापन गरिरहेका छन्, कतिपय Doctor, Engineer, Professor, Academician, Businessman हरुले बिकसित देशमा राम्रो आर्थिक पहुंच पुर्याएका छन् । तरपनि उनीहरुमा नेपाली हुनुको गर्ब टुटेको छैन, सामाजिक पहिचान सहितको जिन्दगीको लागि आफुले आर्जन गरेको कमाइ र सिप नेपाल भित्राउन कोहि नेपालीले चाहन्छ भने राज्यले त्यस्तो ढोका बन्द गर्नु हुदैन र कदापी अनुदार हुनु हुंदैन  । गैर आवासीय नेपालीलाई नागरिकताको प्रत्याभूतिले बेच्दै गर्न लागेको पैत्रिक सम्पतिको बेचबिखन रोकिनेछ, बरु साना वा ठूला  योजनाहरुमा व्यक्तिगत वा सामूहिक लगानीको अबसरमा व्यापक वृद्धि हुनेछ, गैर आवासीय नेपालीको नेपालमा व्यवसायमा सानोतिनो लगानी शुरू हुनेछ, यसबाट विद्यमानमा हुंदै गरेको पूंजी पलायन रोकिने र मुलुकको लागि सानो भएपनि योगदानको बाटो खुल्ने निश्चित छ ।

७. कसैले शंका नगरे हुन्छ र पूर्वाग्रही नबने हुन्छ कोहि पनि गैर आवासीय नेपाली, नेपालको राजनीतिको भाग खोस्न जाने छैनन् । बरु मात्र उनीहरु नेपाली हुनुको स्वाभिमानको रक्षा खोजेका हुन्, यसर्थ गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताको कार्यन्वयनले नेपाल, नेपाली र मातृभूमिप्रति कुनै कुठाराघात हुनेछैन । बरू, विश्वभर छरिएर रहेका नेपाली र नेपालमा रहेका उनीहरुका परिवारजन र समग्र नेपाली बिचको एकता र सहिष्णुता अरु दर्बिलो हुनेछ । बिदेशका उच्च विश्वविद्यालयमा अध्ययन गरिरहेका दोश्रो पुस्ताका हाम्रा सन्ततीहरुलाई नेपाल प्रतिको आस्थामा अभिवृद्धि हुनेछ, समग्र नेपालीहरुको माला विश्वभर गांसिने छ, विश्वभर फैलिएका हामी नेपालीहरूको साझा चौतारी एकमात्र मातृभूमि प्रतिको निष्ठा अविछिन्न रहनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक