भूइंचालोको चित्कार 

265417_10150241950363963_541360_o

भूइंचालो !! भूइंचालो !! भनेर सबै मानिसहरु आत्तिदै, हतारिदै , चिल्लिदै भाग्न थाले । खाना खाएर सुडकेश मिलाउदै  बसेको म पनि दौडदै भाग्न खोजें । विध्वंश मच्चेको छ, लिंगे पिंङमा समात्ने ठाउ नभएर एकोहोरो बत्तिएको जस्तो । सपना होकी बिपना एकिन गर्न मुस्किल पर्यो । तल झर्दा झर्दै ठूलो कम्पनको साथ एकैचोटी गर्ल्याम गुर्लुमको दर्दनाक आवाजले मलाइ भर्यांङमा चेप्यो । अरु मानिसहरु कराएको कोलाहल सुनिछ । मेरो शरीर पुरै थिचिएको छ । उठ्न मिल्ने छैन, टाउकोको दाहिने पट्टी स्लाबले जोडदार संग लाग्यो । रगत बगिरहेको जस्तो लाग्छ । म रन्थनिदै यहाँ दबिरहेको छु । चारैतिर अन्धकार छ । कहालीलाग्दो चिच्याहट छ । मैले पनि सकेको कराई रहेको छु । आफ्नो जीवनको लागि तड्पिरहेछु । अकल्पनीय परिस्थिति जन्मेको छ । जति पीडा भएपनि अझै हिम्मत भने पुरै मरिसकेको छैन ।

यो ठूलो सिमेन्टको ब्लक जस्तोले मेरो पुरा शरीर चेपेको छ ।  कति दुखेको छ, कति घाउ छ, कस्तो अवस्था छ,  बर्णन गर्न सक्दिन ।  फुस्रो धुलो उडेको छ, यसले गर्दा खोकी खुब लागिरहेछ । शुरुमा त निस्कन सक्छु जस्तो लागेर खुब बल गरें । यत्रो पुरै घरको बोझले थिचेको छ, जति जोडदार प्रयत्न गरेपनि सफल हुन सकिन । शरीर पुरै घोप्टिएको अवस्था छ । कसो कसो टाड जस्तो परेर टाउको चाहिं थिचिएको छैन । होस पुरा छ  । अत्यास लागि रहेछ । साहस झिकेर फेरी ठूलो शब्दले “गुहार गुहार” भनेर कराए ।  म ज्युदै छु भनेर आफ्नो उपस्थिति जनाए । शक्ति कम हुदै छ, प्यासले मुख सुकिसक्यो । चुक घोप्टिएको जस्तो अन्धकार छ । खल्तीमा भएको मोबाइल फोन बज्यो, उठाउन सक्ने क्षमता छैन । हलचल गर्ने सक्ने कुनै शक्ति छैन् ।

यत्रो बोझले चेपेको अबस्थामा मेरो अरु उपाय छैन् । बाहिरि सहयोग नभई अब निस्कने आशा छैन् । मैले किन यस्तो भोग्नु पर्यो ? प्रकृति माता किन यस्तो निष्ठुरी भयौ ? कुन अपराधको सजाय मैले झेल्नु पर्यो ?

सामान्य किसान परिवारमा जन्मेको म गरिबीसंग मितेरी लगाउंदा लगाउंदै यसको रापबाट उन्मुक्ति हुन हिजो बिहान घरबाट बिदाबादी भएर मुग्लान पस्न काठमाण्डौ आएको हो । भोलि सबेरैको उडान भएकोले सामान मिलाउंदै यस होटेलको कोठामा थिएं । घरको अवस्था र आफ्नो सबै सपनाहरु अहिले यस भुइचालोले चेपेर राखेको छ । मलाई बिदा गर्नु भन्दा दुइदिन अगाडी देखिनै पिर गर्दै रोइरहेकी मेरी आमाको अनुहार झल्झली आइरहेछ । आफ्नो सबैकुरा दाउमा राखेर छोराको सुमधुर भविष्यको लागि जे गर्न पनि तयार हुने, जस्तोसुकै परिबेशमा आफ्नो इमान्दारी, सदाचार, कर्तब्य संग सम्झौता नगरी सधै मलाइ यस मार्गमा लाग्न उत्प्रेरित गर्ने मेरा पिताजीको याद आइरहेछ । सबै सुख दुखमा साथ दिएर सधै मेरो खुशीको ख्याल राख्ने मेरी प्रियमाथि मन गइरहेछ । मलाई सधैं आड र भरोसा दिने मेरो गाउं तथा समस्त जनहरुको सम्झना आइरहेको छ ।

सबैतिर अन्धकार देखिने अरु भयले मन चौपट पारिरहेछ । कहिँ दीपक भेटिदैन, कोलाहलमा फसिरहेछ सोच र चिन्तन / जीवनको शुरुमा नै आशाको बिज रोप्नलाई गार्ह्रो पर्यो । सकियो मेरो प्रगति, सम्भब भएन उन्नति, अब मेटिने छैन मनका तृष्णाहरु । उग्र व्यग्रतामा बेचैनीका साथ लम्पट परिरहेछ परिस्थितिहरु । सपनामा मात्रै सीमित भएर ठक्कर खाने भयो सोचहरु / मन भ्रान्तिका साथ हुंडलीरहेछ / अब आशा क्रमशः मर्दैछ । दर्द झन् बढ्दो छ ।

आंखा खोल्न मनले मान्दैन परन्तु दिमाग अनेक तानाबुना बुन्न नै धेरै अघि देखि व्यस्त छ । हमेशा हतोत्साही मात्रै छ । कहाली लाग्दो छ मेरो अवस्था । भावनाका छालहरू ठोक्किदै, बज्रिदै अघिपछि गरिरहेछन । केहि निर्क्योल हुदैन, ग्लानि अनुभूति भइरहेछ । आमा बाबु र परिवारले कसरि सामना गर्लान भनेर छटपटी अरु लागिरहेछ ।

सुमधुर भविष्यको शुरुवात, गरिबी उन्मुलन, घर परिवारको उठान । शुरुको पाइलोमा नै मैले यो गति भोग्नुपर्यो ।

उतापट्टिको एक्कासि ठूलो आवाजले आखा झल्यास्स खुल्छ ।  केको यत्रो आवाज हो थाह छैन । पुरा अन्धकारमा पनि केहि सेतो सेतो झिल्का केहि  देखेको जस्तो लाग्छ । भत्केको  सीलिंगजस्तोमा पहिलो नजर पर्यो, निरसिलो पाराले हेरेर हामी पनि तिमी जस्तै एकै अबस्थामा छौ भनेर व्यंग्य हानिरहेछ / न कुनै आत्मियपन या आफन्तपन/ जुहारी खेल्न खोजिरहेछ । बिना गुपचुप म हेरिरहेछु, दोहारी खेल्न मन छैन । मेरो मन आत्तिरहेको छ । उपायको खोजीमा केहि देखिदैन ।

हे मेरी आमा ! “मलाई केहि भइहाल्यो भने सधै सम्झेर बिलाप गरि नबस्नु । तिम्रो दश धारा दुध खेर गएको नसम्झनु । तिम्रो आशुले मलाइ पोल्ला भनि तिम्रो पिर लागिरहेछ । मेरो खबर तिमीले सुन्दा कस्तो होला तिम्रो मन भनेर म आफैलाई धिक्कारी रहेछु ।  तिम्रो सपना मैले पुरा गर्न सकिन ।  म त सधै तिमि संग रहिरहने छु । कतिका घरमा यस्ता काख उजाडिएका छन्, कति अरु बिपतिमा जाकिएका छन्, कतिले दारुण दर्द सहदै अरु उपाय नभई बाचेका छन्, उनीहरु लाई हेरेरै भएपनि चित्त्त बुझाउनु बाहेक अरु केहि छैन । हामीले कुनै कुकर्म गरेका छैनौ, त्यसैले तिमीले हारेकी छैनौ । अनन्य बिलाप गर्यौ भने मेरो अगति पर्नेछ । प्रकृति प्रकोपले हाम्रो घर उजाड बनायो, यसलाई बुझेर मन दर्बिलो बनाउ । हाम्रो अगाध सम्बन्ध हमेशा बाचिरहने नै छ । म तिम्रो थिएं, तिमीमा नै बिलिन हुने छु । अर्को जन्म भए भेट अबश्य हुने नै छ । निरन्तर तिम्रो मात्रै सम्झनाले ग्रसित बनाएको छ ।“

हे बुवा !! “नियतिले यस्तै बनायो , लेखा यस्तै रहेछ । अभाब, अशिक्षा र अवसरको लडाइले यसलाई परास्त गर्न खोज्दा खोज्दै परिस्थितिले यसरि जाक्यो । यसमा दोष कसैको छैन । जीवनले यस्तै पार्यो, कर्म नै खोटी भनौ । तरपनि तपाईका सपनाहरु ओइलाएका छैनन् । तपाईका कर्तव्यपरायण र सत्कर्मको संदेश अरु बढी ससक्त भएर मानिले बुझ्ने नै छन् । भौतिक रुपमा म नभएपनि सधै हामी एक हुनेनै छौ ।”

हे मेरी प्रिय !! “हामीले साचेका सबै कल्पनाहरु यस भूइंचालोले चेपेर राखेको छ । मैले गरेको बाचाहरु सम्झी रहेछु । जीवनको यस युद्दबाट म भाग्दै छु । आफ्नो कर्तब्य पुरा गर्न असमर्थ भए । हाम्रा इच्छा आकन्क्षा  सबै अधुरो रहेपनि यो समयको यस्तै मन्जुर रहेछ भनि चित्त बुझाउनु । आफुले कुनै गल्ति नगर्दा नगर्दै पनि प्रकृति माताको यस्तो यन्त्रणा सहनु बाहेक अरु उपाय केहि छैन । यसमा तिमीले पनि चित्त बुझाउनु पर्ने नै भयो । आफ्नो प्रगति र स्वतन्त्रताको लागि अगाडी बढ्नु । आफ्नो खुशी र चाहना अनुरुप कर्म गर्नु । तिमीलाई कुनै बन्धन छैन, आफ्नो जीबनको पुरा अधिकार उपयोग गर्नु । धैर्यतालाई कायम राख्नु, वास्तविकतालाई बुझी ग्रहण गरि अघि बढ्नु नै उत्तम हो ।“

जीवनको शास्वत सत्य मृत्यु  हो तरपनि म अहिल्यै नै यसलाई अगाल्न मन छैन । अब अब यहाबाट निस्कने कुनै उपाय छैन । निरन्तर असह्य  दुखिरहेको परिबेशमा भोक र प्यासले अरु ग्रसित बनाइ रहेछ । तितो व्यग्रताको बिच समय गुज्रिरहेछ । एक एक सेकेन्ड बर्षौ जस्तो लामो लागिरहेछ । कि चाडै निकाल कि छुटकारा देउ । धेरै समय छ जस्तो मलाइ लाग्दैन । त्यसैले  मेरा मनका कुराहरु भनिहाल्छु ।

म जस्तो कसैले पनि यसरी चेपिएर, पुरिएर जीबन समाप्त हुने क्षण भोग्न या घाइते हुन नपरोस, कसैको पनि ज्यान र धनको क्षति बेहोर्न नपरोस । अब बन्ने भवनहरुको निर्माण गर्दा भूकम्प तथा अन्य धेरै सुरक्षामा सबैको ध्यान अरु जाओस । धेरैका घरमा यस पटक  बिलाप भएपनि यस प्रकोपले सबैलाई एकसुत्रमा बाधि नेपालको विकासमा अरु सशक्त हुन एकताको संदेश अरु छरोस । नेपालको दीगो उन्नतिको लागि यस प्रकृति विनाश पछिको संमय कोशे ढुंगा साबित होस् । भातृत्व भावना र आ-आफ्नो दायित्वको बोध अरु जागृत होस् । प्राकृतिक सौन्दर्य र अनेक सम्पदाका धनि नेपाललाई चाडै नै सम्बृद राष्ट्रको रुपमा संसारमा चिनियोस । देश बनाउने अभिभारा सबै नेपालीको हो भनि प्रष्ट चेत अरु छिरोस् र यहि अनुरुप हरेक क्षेत्रमा नेपालको बिकास होस् । शिक्षानै समाजको उन्नतिको प्रतिक भएकोले यसको उज्यालो ज्योति बाट कसैलाई पनि बिमुख हुन नपरोस् । आ-आफ्नो चाहना अनुरुपको सीप सबैले  सिक्न पाइ त्यहि अनुरुपको समान अवसर सबैलाई मिलोस् । जीबन गुजार्न गाह्रो  भइ कसैलाई पनि मुग्लान पस्नु पर्ने बाध्यता नपरोस् । औषधिमुलो गर्न नसकेर ज्यान गुमाउने क्षण कसैले भोग्न नपरोस् । परोपकार र दानको शृंखला अरु बढी ससक्त भइ समाजमा कसैले एक्लो महशुस हुन नपरोस । हिमाल, पहाड, तराई सबै मिलेर अनुपम मित्रताको नमुनाको रुपमा नेपाल चिनियोस् । सबैलाई अ-आफ्नो धर्म र संस्कृतिको महत्व बोध भइ जगेर्ना गर्ने तर्फ अरु चेतना जागोस । मानव सभ्यताका दुई खम्बा शान्ति र भाइचाराको लागि संसारका सबै मानिसहरुले नेपाललाई सम्झिउन् । संसारको अग्लो सगरमाथाको साथ रहेको नेपालबाट ज्ञान, बुद्दी र बिवेकको वर्षा सधै भइरहोस् । बाल, वृद्ध, तरुण कोही पनि गरिबीमा नफसुन् । नयां नयां चिजको आविस्कार गरि प्राणी मात्रको उत्थान गर्न सबैको मन अरु जागरूप होस् । जीवनको शुरु देखि अन्त्य सम्म सबैको घरमा सुख, समृद्ध र खुशीको बास होस् । भगवान वुद्ध जन्मेको देश नेपालबाट मारकाट, लडाई, झगडालाई कसैलेपनि कुनै पनि बेला देख्न र भोग्न नपरोस् भन्ने संदेशको साथ यसको पहल ससक्त रुपबाट गरियोस् ।

अब झनझन तिर्खा लागि रहेछ । होश आउदै जादै छ । उति एकिन आइरहेको छैन चारैतिर अंध्यारो झन् बिक्षिप्त भइरहेछ । केहि आशा देखिदैन । हे मेरी आमा !! हे मेरो बुवा !! हे मेरी प्रिय !! हे मेरा समस्त जनहरु !!  अब अनन्त तिर चांडै बिलिन हुने जस्तो छ । जति छिटो  भयो उतिनै मलाई आराम र सुबिधा हुने छ । अब चांडै गर  प्रभु, ढिलो नगर । अस्तु !!

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री