
लण्डन । नेपालबाट भारतका विभिन्न सर्कसहरुमा बेचिएका बालबालिकाको उद्दारमा सक्रिय एस्थर बेञ्जामिन ट्रष्टलाई सहयोग जुटाउन १८ वर्षिया कल्पना लिम्बु लण्डन म्याराथन दौड्दैछिन् ।
युकेको एक्सिटर विश्वविद्यालयमा अर्थशास्त्र विषयमा अध्ययन गरिरहेकी लिम्बु सो म्याराथानमा भाग लिने सबैभन्दा कम उमेरका सहभागीमध्ये एक हुन् ।
युकेको दौड क्षेत्रमा तेस्रो बृहत मानिने सो म्याराथनमा भाग लिन वर्षेनी करिब १ लाख ५० हजारले आवेदन दिने गर्छन र ती मध्ये करिब ४० हजारको मात्र सपना साकार हुने गरेको छ ।
धनकुटाको हात्तीखर्क गाविसमा जन्मेर ब्रिटिश सेनामा कार्यरत पिता विश्वासदीप तिगेला र आमा भोजकुमारीसँगै ब्रुनाइमा हुर्केकी कल्पनाको बाल्यकालदेखि नै दौड्नमा रुचि छ । उनले ब्रुनाइमै सन् २००५ मा बच्चातर्फकौ दौडमा प्रथम, २०११ मा महिलातर्फको दौडमा प्रथम र सन् २०१३ मा १७ वर्षकै उमेरमा १० किलोमिटर दौडमा सातौँ भएकी थिइन् ।
कल्पनालाई सधैँ ‘नेपालका लागि केही गरौँ’ भन्ने लाग्छ रे । लण्डन म्याराथन नजिकिादै गर्दा यस इभेन्टलाई जोडेर केही गर्न सकिन्छ कि भन्ने सोचाइ उनमा आयो । नेपालका लागि राम्रो काम गरिरहेका च्यारिटीहरु खोज्दै जाँदा उनले एस्थर बेञ्जामिन ट्रष्ट भेट्टाइन् । सो ट्रष्टले भारतका विभिन्न सर्कसहरुमा बेचिएका बालबालिकाको उद्दार गरेको डकुमेन्ट्री उनले यसअघि नै अलजजिरा टिभीमा हेरिसकेकी थिइन् । संस्थाको बारेमा बुझेपछि उनले एस्थर बेञ्जामिनकै लागि दौड्ने निर्णय गरिन् ।
संयोग पनि उस्तै । एस्थर बेञ्जामिनले पनि लण्डन म्याराथनका लागि धावकहरुको खोजी गरिरहेको रहेछ । ट्रष्टले उनको बारेमा बुझेर स्वीकृति दिएपछि दौड्ने पक्का भयो ।
धेरैले चाहेर पनि लण्डन म्याराथन दौड्न पाउँदैनन् । त्यस मानेमा उनी भाग्यमानी ठहरिन् । उनी भन्छिन्, ‘दौडमा रुचि हुनेहरुका लागि लण्डन म्याराथन सपना जस्तै हो’, ‘हाम्रो च्यारिटीबाट दौड्ने म सबैभन्दा कान्छी हुँ नि’ उनले थपिन् ।
म्याराथन आउन दुई महिना बाँकी हुँदा उनी अहिले अभ्यासमा ब्यस्त छिन् । विश्वविद्यालयमै साथीहरुसित ५ किलोमिटर, १० किलोमिटर दौडिरहेकी छिन् । गत सप्ताहन्तमा यस पंक्तिकारले सम्पर्क गर्दा उनी १४ किलोमिटर दौड्दै थिइन् ।
एकातिर विश्वविद्यालयको चाप अर्कोतिर म्याराथनको तयारी । कसरी सन्तुलन मिलाइरहेकी छिन् त ? ‘लेक्चर बिहान छ भने अभ्यास दिउँसो गर्छु । दिउँसो लेक्चर छ भने बिहान अभ्यास गर्छु’ उनले भनिन् । आयोजकले पठाइदिएको बुकलेट र इन्टरनेटबाट लिइएका तयारीका सुत्रहरुलाई अहिले उनी पछ्याउँदैछिन् । म्याराथनको मिति नजिकिँदै जाँदा उनी अभ्यासलाई पनि बढाउँदै लाँदैछिन् ।
प्राय किशोरकिशोरीहरु अहिले फेसन डिजाइन, आइटीजस्ता नयाँ नयाँ विषय पढ्न रुचाउँछन् । तर उनी चाहिँ धेरैले पट्यारलाग्दो ठान्ने अर्थशास्त्र पढिरहेकी छिन् । राजनीति, साहित्य र पत्रकारितामा क्रियाशील उनका पिताको जोडबल पो हो कि अर्थशास्त्र पढ्नुमा । ‘अर्थशास्त्र मेरै रोजाइ हो । जीसीएससीइमा अर्थशास्त्र लिएपछि मलाई अर्थशास्त्रसित मोह नै जाग्यो’ उनले यसरी सफाइ दिइन् ।
ए लेभलको पढाइमा उनले विदेशमा पढिरहेका अन्य नेपाली विद्यार्थीको कल्पनाबाहिरको विषय नेपालमा प्रचण्डले लिएको विचारधारा रसिया र चाइनाको कम्युनिष्टहरुसित कति फरक छ भन्ने बारेमा उनले प्रोजेक्ट वर्क गरेकी थिइन् ।
विश्लेषणहरु मन पर्ने बताउने कल्पना भविष्यमा अर्थशास्त्री बन्न चाहन्छिन् ।
अहिलेसम्म म्याराथन नदौडेकी उनी ४२ किलोमिटर लामो लण्डन म्याराथन पूरा गर्न दृढ भएर लागिपरेकी छिन् ।
उनले म्याराथन दौडेर २ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखेकी छिन् । यो समाचार तयार पार्दासम्म उनले तयार पारेको डोनेसन पेजमा ६२६ पाउण्ड उठिसकेको छ । दुई महिनाको अवधिमा बाँकी रकम पनि उठ्नेमा विश्वस्तमा छिन् उनी ।
‘कृपया नेपालका बालबालिका जसलाई यो सहयोगको अत्यन्तै खाँचो छ उनीहरुका लागि सकेको सहयोग गरिदिनुहोला’ उनले याचना गरिन् ।
कल्पनाको आँटलाई होस्टेमा हैँसे गर्न र बेचिएका बालबालिकालाई घर फर्काउने काममा ऐक्यवद्धता जनाउन चाहनुहुन्छ भने तलको लिंकमा क्लीक गरि सहयोग गर्नु सक्नुहुन्छ ।
कल्पनालाई सहयोग गर्न यहाँ क्लिक गर्नुहोला।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त