गुयनामा पक्राउ १२ नेपालीलाई तीस-तीस लाख जरिवाना

काठमाडौं। क्याबेरियन मुलुक गुयनाको एक अदालतले १२ नेपालीलाई जनही ३० हजार डलर (करिब ३० लाख रुपैया) जरिवाना गरेको छ।

अदालतले उनीहरुमाथि गैरकानुनी रुपमा गुयना छाडेको अभियोगमा सो जरिवाना गरेको हो । जर्जटाउन मेजिस्ट्रेट कोर्टले बिहीबार जरिवानाको रकम तिरेपछि उनीहरुलाई नेपाल डिपोर्ट गर्न निर्देशन दिएको छ। जरिवाना तिर्नका लागि २ साताको समय तोकिएको छ। रकम बुझाउञ्जेल नेपालीहरु प्रहरी हिरासतमा रहने छन्।guyana

कानुनी रुपमै नोभेम्बर १५ मा गुयना पुगेका ती नेपालीहरु अध्यागमन कर्मचारीको आँखा छल्दै छिमेकी देश भेनेजुयला प्रवेश गर्न खोजेका थिए। तर भेनेजुयला प्रवेश गर्ने भिषा नभएका कारण उनीहरुलाई गुयना फर्काइएको थियो। त्यसपछि नेपाली पक्राउ परेका हुन्। अदालतमा नेपालीहरुले आरोप स्वीकार गरेका थिए। पक्राउ परेपछि पहिलो पटक डिसेम्बर ८ मा अदालतमा प्रस्तुत गरिँदा नेपालीहरुले आरोप अस्विकार गरेका थिए।

स्थानीय सञ्चार माध्यमहरुले पक्राउ पर्ने नेपालीमा नर्बु शेर्पा, शंकर सापकोटा, विनोद जोशी, टेन्डी शेर्पा, टेन्डी छिरिङ, प्रकाश नेपाली, धनराज तिमल्सिनासहितका १२ जना रहेको बताएका छन्। पक्राउ परेका नेपालीका वकिलले मानव तस्करीका कारण नेपालीहरु त्यहाँ पुगेको बताएका छन्। गुयना पुगेका नेपालीले २ साताको भिषा प्राप्त गरेका थिए ।

पछिल्लो चरणमा गैरकानुनी रुपमा अमेरिका हिडेका नेपालीलाई मानव तस्करहरुले क्यारेबियन देश पुर्‌याउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री