
लन्डन । लन्डनमा गोर्खा नेपाली समुदायलाई पहिलो पटक छुट्याइएको बेग्लै समाधिस्थलको औपचारिक उद्घाटन भएको छ । लन्डनस्थित हिलिङ्डन वरो काउन्सिलले गोर्खा नेपाली समुदायका लागि दिएको समाधिस्थलको मंगलवार बिहान एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो । लन्डनस्थित हिलिङ्डन वरो काउन्सिल मेयर क्याथरिन डानले नेपाली झण्डा र हिलिङ्डन गोर्खा नेपलिज कम्युनिटीका अध्यक्ष सूर्य इम्सङ लिम्बुले बेलायती झण्डा खोलेर समाधिस्थल
उद्घाटन गरे । उक्त नेपाली कम्युनिटीकै पहलमा समाधिस्थल मिलेको थियो ।
वेष्ट ड्रेटनस्थित चेरी लेन सिमेट्री नजिक पिस मेमोरियल गार्डेनमा अवस्थित उक्त समाधिस्थलमा करिब ५ लाख रुपैयां खर्चमा ठूलो साइन पोष्ट राखिएको छ ।
समाधिस्थल २० वर्षका लागि छुट्याइएको हो । काउन्सिलले त्यहां अस्तु राख्ने ठाउं समेत बनाइदिएको छ । लन्डनका ३३ बरोमध्ये नेपालीलाई बेग्लै समाधिस्थल दिनेमा हिलिङ्डन वरो काउन्सिल पहिलो हो । कम्युनिटीका सचिव तेज पुनमगरका अनुसार, काउन्सिलले गोर्खाहरुको योगदान स्मरण गर्ने यो सानो उदाहारण भएको निष्कर्षसहित अरु काउन्सिललाई पनि यस्तो कार्य गर्न प्रेरित गरेको छ ।
मन्तव्यका क्रममा हिलिङ्डन वरो काउन्सिल मेयर डानले गोर्खाहरुको योगदानको कदर गर्दै बेग्लै समाधिस्थल दिन पाउनु आफूहरुका लागि गर्वको विषय भएको बताइन् । उनले भर्खर प्रथम विश्वयुद्धको एक सय वर्ष मनाइएको र आगामी वर्ष बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ बनाउन लागिएको सन्दर्भ जोड्दै समाधिस्थल उद्घाटन कार्यक्रम पनि त्यस्तै ऐतिहासिक भएको जनाइन् ।
हिलिङ्डन गोर्खा नेपलिज कम्युनिटीका अध्यक्ष सूर्य इम्सङ लिम्बुले गोर्खाहरुले विगत २०० वर्ष देखि बेलायती साम्राज्यका लागि लड्दै आएपनि अरु समुदाय जस्तो बेग्लै समाधिस्थल आफूहरुको नभएको गुनासो हिलिङ्डन काउन्सिलसमक्ष राखेको र सन् २०१२ देखिको पहल स्वरुप अहिले समाधिस्थल पाएको उल्लेख गरे । उनी काउन्सिलप्रति आभारी थिए । मन्तव्यका क्रममा स्थानीय सांसद, काउन्सिलर र अन्य अतिथीहरुले गोर्खा इतिहास केलाउंदै उनीहरुको योगदान स्मरण गरेका थिए ।
मन्तव्यपछि विगुलरले आर्मीमा बजाइने लाष्ट पोष्ट नामको विगुल धुन र पाइपरले ल्यामेन्ट फ्लावर अफ दि फरेष्ट शोक धुन बजाएका थिए । यस क्रममा वातावरण शान्त देखिन्थ्यो । पछि फेरि विगुलरले रिभाली धुन बजाएर शान्त माहौल तताएका थिए ।
एक घण्टा लामो औपचारिक कार्यक्रममा हिलिङ्डन गोर्खा नेपलिज कम्युनिटीले मेयरसहित चारजना अतिथीहरुलाई कोठीमारा खुकुरी उपहार स्वरुप प्रदान गर्यो । कम्युनिटी अध्यक्ष लिम्बुले उपहार दिएका हुन् । औपचारिक कार्यक्रम समापनपछि हिलिङ्डन गोर्खा नेपलिज कम्युनिटीले दिवाभोज सहित नेपाली गीतसंगीत प्रस्तुत गरेको थियो ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा