लन्डन । उमेर ७९ पुग्दा स्फुर्ति उस्तो होइन । त्यसमाथि घुंडा दुख्ने व्यथाले सताइरहन्छ । राम्रोसंग कान नसुन्नु र अरु बुढ्यालीका लक्षण त हुने नै भए । तर, आफ्ना समस्या बिर्सेर यतिखेर एकमात्र जिवित भिसी विजेता भूपू गोर्खा रामबहादुर लिम्बुको मन बेलायती राजपरिवारसंग भेट गर्न पाएकाले पुलकित छ ।
‘महारानी र राजकुमारहरुसंग दरवारमा भेट्न पाउंदा दंग छु’, त्यत्ति कान नसुन्ने भिसी लिम्बुले छोरा चन्द्रप्रकाशमार्फत भने, ‘म अहिलेसम्म बांचिरहेर यस्तो देख्न भोग्न पाउने भाग्यमानी गोर्खा रहेछु ।’
१३ भिसी विजेता गोर्खामध्ये लिम्बुमात्र जिवित छन् ।
सन् १९६५ मा बोर्नियो युद्धमा देखाएको वीरताले सबैभन्दा उच्चतम मिलिट्री अवार्ड
(भिक्टोरिया क्रस) अर्थात भिसी पाएका लिम्बुले दि भिक्टोरिया क्रस एण्ड जोर्ज क्रस् एसोसिएसनले प्रत्येक दुई वर्षमा गर्ने पुनर्मिलन समारोहमा महारानी एलिजावेथ, प्रिन्स चार्ल्स र ह्यारीसंग बेग्ला बेग्लै भेट गर्ने सौभाग्य पाए । प्रिन्स् चार्ल्स
सन् २००३ बाट उक्त एसोसिएसनको अध्यक्ष छन् ।
गत २७ अक्टोबर सोमबार सेन्ट जेम्स् प्यालेस्मा राजकुमार चार्ल्ससंग जलपान कार्यक्रममा सरिक हुंदा उनीजस्ता २३ भिसी विजेता साथै थिए । उनले भोलिपल्ट बकिङहम प्यालेस्मा महारानी एलिजावेथको दर्शन पाए । त्यसपछि २९ तारिख अक्टोबर प्रिन्स ह्यारीसंग भेट भयो । ह्यारीसंग खिचेको तस्विर अखवारतिर आएको कसैले सुनाइदिंदा त झन् खुशी देखिन्थे लिम्बु । राजपरिवारसंग दोहोरो वातचित गर्न नमिलेपनि एकसाथ रहन पाउंदा लिम्बुले आफूलाई भाग्यमानी ठानेका छन् ।
शाही परिवारसंगै जोडिएर तस्विर लिन र खान पाउंदा उनलाई जति गर्व छ, भूपू गोर्खाहरुले ब्रिटिश नागरिक सो सरह समान अधिकार नपाएर लडिरहंदा भने भिसी विजेता सार्है दुःखी छन् । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिकै आग्रहमा उनी गत अप्रिलमा आफ्नो वयान दिन बेलायत आएका थिए । त्यतिखेर भूपू गोर्खाहरुको समस्या छानवीन गर्न गठित ब्रिटेनको सर्वदलीय संसदीय समितिसमक्ष उनले विद्यमान असमानताबारे वयान पनि दिए ।
‘बेलायती साम्राज्यका लागि धेरै गोर्खाहरुले ज्यान दिए, रगत बगाए’, प्रथम तथा दोश्रो विश्व युद्धमा दिवंगत सैनिकहरुको सम्झनामा मनाइने रिमेम्वरेन्स् सन्डेकै बेला उनले गुनासो पोखे, ‘धेरै बिते र बांचेका म जस्ता धेरै वृद्धहरुको अवस्था नेपालमा दयनीय छ । तिनका सन्तानको भविष्य अन्यौलमा छ । अब बेलायत सरकारले हाम्रा गुनासो बेलैमा सुनिदिओस् ।’
यी वृद्ध भिसी विजेता यसै साता नेपाल फर्कन लागेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा