हुण्डी मालामाल, असली चाहिं संकटमा

cover-342-600x365
लन्डन । एक जमाना खुब उत्साहित देखिएका नेपाली मनि ट्रान्सफर व्यवसायीमा अहिले निराशा छाएको छ । बेलायतस्थित अधिकांश बैंकहरुले मनि ट्रान्सफर कम्पनीलाई नयां खाता खोल्न रोक र भइरहेका खाता पनि बन्द गरिदिएपछि यहां सञ्चालित मनि ट्रान्सफर व्यवसाय प्रभावित भएका हुन् । बैंकहरुको ‘मनि सर्भिसेस् विजनेश’ लाई कडाइ गर्ने पछिल्लो परिवर्तित नीतिले नेपाली व्यवसाय पनि प्रभावित भएको व्यवसायीको गुनासो छ । नेपालीका करिब ९० प्रतिशत व्यवसाय बन्दतिर उन्मुख छन् ।

व्यवसायीका भनाइमा सन् २००९, १० सम्म ठिकै थियो व्यवसाय । तर, बढ्दो प्रतिष्पर्धा, गैर कानुनी कारोवार (हुण्डी) र विनिमय दर घटबढले पछिल्ला वर्ष प्रभावित भएको अवस्था छ । भूतपूर्व गोर्खा, विद्यार्थी र कामदारहरु यस व्यवसायका मुख्य ग्राहक हुन् । यस बाहेक फाट्टफुट्ट च्यारिटी र नेपालबाट सामान आयात गर्ने केही व्यापारीको भरमा छ यो व्यवसाय । विद्यार्थी फर्कंदै गरेको अवस्था, भएका विद्यार्थीले पनि काम गर्न नपाउनु अनि अलिक कमाउन सक्ने भूपू लाहुरे परिवार र हाइली स्क्ल्डिमा आएका यतै ‘सेटल्ड’ हुनुले पनि बेलायतबाट पैसा पठाउने घटेका व्यवसायीको अनुभव छ ।

मनि ट्रान्सफर कम्पनीलाई पछिसम्म खाता सञ्चालन अनुमति दिइरहेको बेलायतको एउटा बैंक ‘बारक्लेज’ ले समेत गत मे मा सूचना जारी गरि अक्टोबर देखि सबैको खाता बन्द गरिदिएपछि धेरै नेपाली व्यवसाय धरासायी हुने निश्चित छ । लोयड्स, एचएसबीसी आदि बैंकले यसअघि नै कारोवार रोकिसकेका थिए । स्पष्ट नबताइए पनि ‘मनि लउन्ड्रिङ’ को जोखिम र त्यस जोखिमको अनुपातमा आम्दानी कम भएपछि बैंकहरुले कारोवार बन्द गरेको व्यवसायीको आंकलन छ ।
यूकेमा रहेका अन्य अन्तर्राष्ट्रिय बैंकका शाखाहरुमा खाता खोली व्यवसाय अगाडि बढाउने विकल्प तत्काल सम्भव नहुंदा व्यवसायीमा चिन्ता बढेको छ । बैंक खाता बन्द भएपछि कतिपय व्यवसायीले अन्य प्रयोजनका लागि खोलिएका व्यापारिक खातामा ग्राहकको रकम संकलन गरि व्यवसाय धानिरहेको स्थिति छ जुन गैर कानुनी र असुरक्षित मानिन्छ । कतिपयले मनि ट्रान्सफर व्यवसायमा आश्रित हुन नसकिने स्थिति देखेपछि अनलाइन गिफ्ट र हवाइ टिकट विक्री थालेका छन् ।
खाता सञ्चालन कायमै रहेका केही ठूला कम्पनी वेष्टर्न युनियन, मनि ग्राम, रिया मनि ट्रान्सफर आदिलाई असर नपरे पनि विशेषतः सानो तह र निश्चित कम्युनिटीलाई सेवा दिनेहरु संकटमा परेका हुन् ।

सन् २००७ देखि बेलायतबाट बैंकिङ प्रणाली मार्फत रेमिटेन्स शुरु गरेको नेटफक्स पछिल्लो परिवर्तनले प्रभावित छ । आफ्नो खाता नहुने वित्तिकै अरु रेमिट्यान्स कम्पनीको एजेण्टका रुपमा बांधिनुपर्ने र उनीहरुले दिएको सर्भिस चार्जको केही प्रतिशत मात्र आफ्नो भागमा पर्ने भएकाले व्यवसाय धरासायी भएको नेटफक्स्का प्रवन्ध निर्देशक प्रकाश भट्टराईले जनाए ।
‘अहिले जसको खाता छ, उसको एजेन्ट भएर उनीहरुकै रेट र महंगो सेवा शुल्कमा पैसा पठाउंदा व्यवसाय धरासायी हुंदैछ’, भट्टराईले थपे, ‘हामीलाई मुनाफामा करिव ७० प्रतिशत असर परेको छ ।’ उनले नेपाल राष्ट्र बैंकले नेपालका बैंकहरुलाई विदेशमा शाखा खोल्न अनुमति दिएपछि यूकेमा नेपाली बैंकका शाखा विस्तारतिर सोच बनेको समेत बताए ।

बेलायतमा मनि ट्रान्सफर व्यवसायका लागि कम्पनीहरु ‘फाइनान्सियल कन्डक्ट अथोरिटी’ अन्तर्गत ठूलो स्केलमा कारोवार गर्न ‘अथोराइज्ड पेमेन्ट इन्सटिच्यूसन’ र सानो स्केलका लागि ‘स्मल पेमेन्ट इन्सटिच्यूसन’ का रुपमा दर्ता हुनु पर्ने प्रावधान छ । अथोराइज्ड पेमेन्ट इन्सटिच्यूसनमा दर्ता भएका बेलायतभरका लगभग तीनसय कम्पनी मध्ये दुई सय पचास भन्दा बढिको बैंक खाता बन्द भइसकेको व्यवसायीको दावी छ ।
सन् २००४ देखि मनि ट्रान्सफर व्यवसाय गरिरहेको भण्डारी ब्रदर्शका प्रवन्ध निर्देशक कमल भण्डारीले बैंकहरुको कठोर नीतिका कारण व्यवसायमा ठूलो उतारचढाव आएको बताए । ‘नाफा घाटा भन्दा पनि सेवा नै दिन नपाइने हो कि भन्ने चिन्ता बढेको छ’, भण्डारीले थपे,
‘हामीले धेरै बैंकसंग सम्पर्क गर्यौं तर कसैले पनि मानेनन् । यहांको नियम कानुन विपरित जान झन् जोखिम छ ।’

सन् २००२ देखि बेलायतमा सेवा दिइरहेको आइएमइका निर्देशक कमल पौडेलले भने बैंक खाताकै कारण आफूहरुलाई समस्या नपरेको दावी गरे । ‘नेपाली समुदाय केन्द्रित र एउटै मात्र बैंकमा खाता हुनेहरुलाई समस्या होला तर हामी त्यसको असरबाट टाढा छौं’, पौडेलले भने । आइएमइले नेपाल बाहेक अन्य २२ मुलुकमा पैसा पठाउने काम गरिरहेकाले पनि समस्या नआएको दावी पौडेलको छ ।

ग्राहकसंग संकलित रकम सिधा बैंकिङ च्यानल मार्फत नपठाई अवैध धन्दा (हुण्डी) गर्नेका भने दिन फिरेको व्यवसायीको बुझाइ छ । केहीले कम्पनी नियम पूर्वक दर्ता गरेपनि कारोवार भने हुण्डीमार्फत नै गरिरहेको पाइएको छ । हुण्डीले विनियम दर अन्य भन्दा केही बढि दिने भएपनि व्यक्तिगत भुक्तानी हुने, भुक्तानी हुन समय बढि लाग्ने र भर्पाइ पनि उपलव्ध नहुने भएकाले ग्राहकको रकम असुरक्षित हुने सम्भावना औंल्याउंछन् व्यवसायी ।

बेलायतमा नेपालीका आइएमइ, नेटफक्स्, एभरेष्ट मनी, युनियन नेपाल आदि अथोराइज्ड पेमेन्ट इन्सटिच्यूसन एवं क्यू एन इ रेमिट, संसारा फाइनान्स, भण्डारी ब्रदर्श, नमस्ते रेमिटेन्स् आदि स्मल पेमेन्ट इन्सटिच्यूसनका रुपमा दर्ता भएर सञ्चालित छन् ।

व्यवसायीका अनुमानमा बेलायतबाट नेपाल भित्रिने रेमिटेन्स् मासिक करिब ६ मिलियन पाउण्ड छ । नेपालको समग्र बजारमा अवैध कारोवार (हुण्डी) मात्रै ४० प्रतिशत भइरहेको र हुण्डीकै कारण बेलायतबाट मात्र नेपालले मासिक २ करोड रुपैंया नोक्सान बेहोरिरहेको दावी व्यवसायीको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री