इतिहास साक्षी छ । सत्रौं र अठारौं शताब्दीको हाराहारीमा हिमवतखण्ड प्रदेशको एउटा अति सानो, सरल तथा साधारण “गोरखा राज्य” ले अत्यन्त छोटो अवधिमा विशाल एवं वृहद गोरखा साम्राज्यको रुपमा आफ्नो सरहद बिस्तार गर्न सफल भयो । पूर्वमा टिस्टा नदी सिक्किम राज्यको सीमा तथा पश्चिममा सतलज नदी किल्ला काँगडासम्म आफ्नो साम्राज्यको विस्तार सजिलैसंग गर्यो ।
त्यस समयमा एउटा सानो गोरखा राज्य अत्यन्त शक्तिशाली एवं विशाल गोरखा साम्राज्यको रुपमा हिमवतखण्ड प्रदेशको पुण्य भूमिमा उदाएको थियो । वास्तवमा हिमवतखण्ड प्रदेशको अधिकांश भूखण्डहरु गोरखा साम्राज्यको अभिन्न अंङ्ग भइसकेका थिए । दक्षिण पूर्वेली मुलुकहरुमा सबभन्दा ठूलो, वृहद विशाल तथा शक्तिशाली राष्ट्रहरुमध्ये गोरखा साम्राज्य पनि थियो । आफ्नो गौरव गाथा, सैनिक क्षमता एवं शौर्यताका लागि प्रख्यात एवं चर्चित थियो ।
ईष्ट ईण्डिया कम्पनी सरकार
ब्रिटिश व्यापारीहरुले सन् १६०० मा एउटा व्यापारिक संस्था बेलायतमा स्थापना गरेका थिए । जस्को नाम ईष्ट ईण्डिया कम्पनी थियो । यो एउटा विशुद्ध व्यापारिक संस्था थियो जस्को लक्ष्य दक्षिण पूर्वेली एशियाली महाद्वीपमा आफ्नो व्यापारको प्रवर्धन एवं बिस्तार गर्नु गराउनु थियो । यस कम्पनीअन्तर्गत आधुनिक हातहतियारहरुका साथ प्रशिक्षित सैनिकहरु थिए । क्याप्टेन हाकिन्सको नेतृत्वमा यस कम्पनीले भारतको गुजरात राज्यका सूरत बन्दरगाहमा आफ्नो पानीजहाजको साथ प्रवेश गर्यो । बिस्तारै बिस्तारै दक्षिण भारतको अधिकांश भूभागहरुमा आफ्नो व्यापारको प्रवर्धन र बिस्तार ग¥यो । साथै सो भूभागहरुमा ब्रिटिश सरकारको साम्राज्यवादी एवं बिस्तारवादी शासन सत्ता कायम गर्न गराउन सफल भयो ।
ईष्ट ईन्डिया कम्पनीले आफ्नो व्यापारको प्रबर्धन एवं बिस्तार भोट तिब्बत राज्यमा गर्न चाहन्थ्यो । सोको लागि नेपाल राज्यको बाटो भएर भोट तिब्बतको सरहदसम्म पुग्न चाहना गरेको थियो । तर गोरखाली शासकहरुले ब्रिटिश सरकारको वास्तविक लक्ष्य बुझिसकेका थिए । अतः गोरखाली फौज ब्रिटिश सरकारको फौजको अगाडी तगारो भएर उभिन पुग्यो । फलस्वरुप नेपालको बाटोबाट तिब्बत भोट पुग्ने उनिहरुको प्रयास पूर्णरुपमा असफल हुन गयो । त्यसपछि बहुमुल्य खनिज पदार्थ र प्राकृतिक सौन्दर्यको धनी हालको उत्तराखण्ड प्रदेशप्रति अंग्रेजहरुको आकर्षण बढ्न गयो । उनिहरुले देहरादुन, गढवाल तथा कुमाऊँको बाटो भएर तिब्बत भोट पुग्ने तथा आफ्नो व्यापारको सञ्जाल फैलाउने फैसला गरे ।
त्यस समयमा कुमाऊँ, गढवाल र देहरादुनको अधिकांश भूभागहरुमा वृहद एवं विशाल गोरखा साम्राज्यको सुढृद एवं शक्तिशाली शासन व्यवस्था थियो । अतः यस देवभूमिमा अंग्रेज सरकारको अनधिकृत अतिक्रमण, प्रवेश र बिस्तार कुनै पनि अवस्थामा गोरखा साम्राज्य र शासन व्यवस्थालाई मान्य थिएन । यस देवभूमिमा अंग्रेजहरुको प्रवेशलाई रोक्न उनिहरु दृढ संकल्पित थिए । साथै सम्पूर्ण भारतीय भूमिबाट पनि अंग्रेजहरुलाई लखेट्न गोरखाली सेनाका सेना नायकहरुको दूरगामी रणनीति थियो । संधैको लागि यस भूमिबाट अङ्ग्रेजहरुलाई धपाउन चाहन्थे । तर तुलनात्मक रुपमा गोरखा सैन्य क्षमता र शक्ति उति बलियो थिएन । उति सशक्त थिएन ।
सैन्य शक्ति र क्षमता
त्यस समयमा अङ्ग्रेज सरकारको फौज विश्वको सबभन्दा ठूलो, विशाल तथा अत्यन्त शक्तिशाली थियो । उनिहरुसंग आधुनिक हातहतियार, आधुनिक सैन्य तालिम, ज्ञान, सीप र अनुभव थियो । जे जुन अवस्था, समयमा जे जति मात्रा संख्यामा आवश्यक पर्ने सैनिक सामाग्री, खाद्यान्न र अन्य आवश्यक मालसामानको तुरुन्तै आपूर्ति अङ्ग्रेजी फौजलाई उपलब्ध हुन्थ्यो । कुनै किसिमको कमी हुंँदैन थियो ।
गोरखाली फौजको सैनिक संख्या ज्यादै थोरै थियो । सो मध्ये केही दक्ष एवं अनुभवी सैनिकहरु हिमवतखण्ड प्रदेशको अन्य विभिन्न सामरिक ठाऊँंको सुरक्षा एवं सुव्यवस्थाका लागि तैनाथ गरिएका थिए । विभिन्न चौकी, कोत एवं किल्लाहरुमा उनीहरु छरिएर बसेका थिए । गोरखाली फौजसंग आधुनिक हातहतियारहरुको ज्यादै कमी थियो । उनिहरु मुख्यतः खुकुरी, खुँडा, भाला, गुलेली, ढुङ्गा, मुढा आदि घरेलु हातहतियारको भरमा लडाई गर्दथे । आर्थिक स्थिति पनि तुलनात्मक रुपमा कमजोर थियो । उनीहरुसंग ज्यादै सीमित श्रोत साधन थियो । हरेक कुरामा मितव्ययिता अपनाउनु पर्दथ्यो । मन फुकाएर खर्च गर्न गराउने स्थितिमा गोरखा सैन्य सङ्गठन थिएन ।
कुमाऊं, गढवाल र देहरादुको युद्ध स्थलहरुबाट काठमाडौको सैनिक सचिवालय (हेडक्वाटर) ज्यादै टाढा थियो । आवागमन गर्न गराउन पनि ज्यादै गाह्रो र अप्ठ्यारो थियो । बाटोघाटो सुगम र सजिलो थिएन । फलस्वरुप लडाईका लागि आवश्यक पर्ने सैन्य सामाग्रीहरु जस्तो हातहतियार, गोलावारुद, लत्ताकपडा र खाद्यान्न आदिको आपूर्ति समयमा तथा प्रशस्त मात्रामा गोरखाली फौजलाई प्राप्त हुँदैनथ्यो ।
गोरखाली फौज आधुनिक फौजमा रुपान्तरित हुने प्रकृयामा थियो । उनिहरु परम्परागत युद्धशैलीको लडाई गर्ने कलामा पोख्त थियो । तर अन्य मुलुकको धर्तीमा गएर युद्ध गर्ने बारेमा तुलनात्मक रुपमा केही कम अनुभव थियो । गोरखाली सैन्य सङ्गठनमा मुट्ठीभर सैनिकहरु थिए । विश्वको सबभन्दा विशाल, शक्तिशाली, अनुभवी तथा आधुनिक हातहतियारबाट लैस अङ्ग्रजी फौजको विरुद्ध युद्ध गर्न ठूलो चुनौती गोरखाली सेना नायकहरुसमक्ष थियो । ब्रिटिश सरकारसंग एक्लै लड्न सकिन्न भने सोचाई गोरखाली सेना नायकहरुको थियो ।
त्रिशक्ति एकता
अतः गोरखाली फौजका सेना नायकहरुले (क) आफ्नो मातृभूमिको रक्षा गर्न (ख) देवभूमि उत्तराखण्ड प्रदेशको सुरक्षा गर्न (ग) सम्पूर्ण भारतीय भूमिबाट संधैका लागि अङ्ग्रेजहरुलाई लखेटनका लागि “त्रिशक्ति एकता” को अवधारणा विकसित गरे । सो अनुसार नेपाल तथा भारतका प्रभावकारी, प्रमुख शक्तिहरुलाई अङ्ग्रेज सरकारको अतिक्रमण र विस्तारलाई समयमा रोक्नको लागि एकजुट, एकतावद्ध तथा सङ्गठित हुन रणनीति तयार गरे । सो अनुसार गोरखा, मराठा तथा सिखहरुको त्रिशक्ति एकता खडा गरेर अङ्ग्रेजहरुको विरुद्ध मोर्चाबन्दी गर्ने गराउने युद्धनीति तयार गरे ।
विशेष दूत
त्रिशक्ति एकताको सन्दर्भमा काठमाडौं राजदरबारका तत्कालीन मुख्तियार अर्थात प्रधानमन्त्री भीमसेन थापाले राजकीय सन्देश पत्रका साथ सुब्बा पद्ममणी शर्मालाई ग्वालिएर राज्यमा पठाएका थिए । त्यस्तै जनरल अमरसिंह थापाले खरिदार पृथ्वी विलास उपाध्यायलाई पंजाब केशरी महाराजा रणजित सिंहको दरबारमा सन् १८१५मा राजकीय सन्देश पत्रका साथ पठाएका थिए । सो पत्रमा १३ वटा बुंदाहरु समावेश गरिएको थियो । सातौं बुंदामा हिन्दु राज्यको आस्थाप्रति पनि उल्लेख गरिएको थियो । साथै स्थानीय अन्य राजा, राजवाडाहरुलाई पनि अङ्ग्रेजहरुको विरुद्ध सङ्गठित एवं एकतावद्ध हुन आह्वान गरिएको थियो । कलकत्ता, चीन तथा म्यानमारसम्म त्रिशक्तिको अवधारणा सन्देश पठाइएको थियो भनेर भनिन्छ ।
सो विषयमा इतिहासकार डा. विनोद थापाले यसरी टिप्पणी गरेका छन् । “अमरसिंह थापाले गोरखा, सिख र मराठाको त्रिशक्तिलाई एकीकृत गरी अङ्ग्रेजहरुसंग लड्ने योजना बनाएका थिए । तर अङ्ग्रेजहरुको कुटनीतिले गर्दा उन्को प्रथम प्रयास सफल हुन सकेन । तीनै शक्ति (नेपाल, मराठा र सिख) एक सुत्रमा गाँसिन सकेनन् । नेपाल एक्लैले अङ्ग्रेजहरुसंग लड्नु पर्यो । (डा. विनोद थापा “राष्ट्रिय विभूति अमरसिंह थापा” राजामति प्रेस, पृष्ठ ८३, ललितपुर, वि.सं.२०७०)
एक्लिए
अङ्ग्रेजहरुको फाटो हाल्ने र शासन गर्ने कुटिल कुटनीति र चालबाजी सफल भयो । गोरखा, मराठा र सिख शक्तिहरुको बीचमा त्रिशक्ति एकताको प्रयास बिफल भयो । स्थानीय राजा रजवाडाहरुले पनि अङ्ग्रेज सरकारको विरुद्ध गोरखा सैन्य सङ्गठनलाई कुनै सहयोग, सहायता एवं मद्दत दिन हिम्मत गरेनन् । आँट गरेनन् । यसरी अङ्ग्रेजहरुको कुटनीतिक चालबाजीले गोरखाली सैन्य सङ्गठनलाई एक्लो पारिदियो । गोरखालीहरु आत्मसमर्पण गर्छन् भने अनुमान गरेका थिए ।
गोरखालीहरुको आत्मशक्ति, आत्मबल, हिम्मत एवं साहस बारे अङ्ग्रेजहरुलाई कुनै ज्ञान थिएन । गोरखाली सैनिकहरु आफ्नो मातृभूमिप्रति बफादार थिए । उनिहरुमा अदम्य राष्ट्रभक्ति, राष्ट्र प्रेम तथा राष्ट्रप्रति प्रगाढ आस्था थियो । आफ्नो मुलुकको प्रतिष्ठा, सम्मान तथा ऐतिहासिक गौरवको रक्षा गर्न गराउन आफ्नो जिउ ज्यानको आहुति दिन संधै तयार रहन्थे । दृढ इच्छाशक्ति, अदम्य साहस, जोश, उत्साह, आँट, अकल्पनीय वीरता, शौर्यता, पराक्रमका लागि गोरखाली सैनिकहरु विश्वमा प्रख्यात भैसकेका थिए ।
मोर्चाबन्दी
भारतको प्रमुख शक्ति तथा स्थानीय राजा रजवाडाहरुको सहयोग, सहायता मद्दत बिना गोरखाली सैन्य सङ्गठनले एक्लै अङ्ग्रेजहरुको विरुद्ध मोर्चाबन्दी शुरु गर्न थाले । त्यस समयमा अङ्ग्रेजी साम्राज्यमा सूर्य उदायो भने अस्ताउँदैन थियो । यस्तो विशाल एवं शक्तिशाली अङ्ग्रेजी साम्राज्यको देवभूमि उत्तराखण्ड प्रदेशमा प्रवेश र विस्तार रोक्न गोरखाली सैन्य सङ्गठन एक्लै उभिएका थिए । मुट्ठीभर गोरखाली सैनिकहरुले अङ्ग्रेजी साम्राज्यवादलाई यस भूखण्डबाट बिस्थापित गर्न गराउन एक्लै मोर्चाबन्दी गर्न थाले ।
गोरखाली सैन्य सङ्गठनको आँट वा हिम्मत देखेर विश्वका सैन्य प्रतिष्ठानहरु छक्क परेका थिए । मुख्तियार जर्नेल (प्रधानमन्त्री) भीमसेन थापाको पहलमा गोरखाली सेनाको आधुनिकीकरण र सुदृढीकरणको प्रकृया शुरु गरिएको थियो । साथै फ्रान्सबाट सैन्य विशेषज्ञहरुलाई झिकाई आधुनिक युद्धकला बारेमा गोरखा सैनिकहरुलाई तालिम पनि प्रदान गरिएको थियो । भारतको वाराणसी शहरबाट मुस्लिम अस्त्रशस्त्र विशेषज्ञहरु झिकाई स्वदेशमा हातहतियार उत्पादन गर्ने कारखाना पनि स्थापित गरियो । यस प्रकार आधुनिक अस्त्रशस्त्र उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर गर्ने प्रयास पनि गरियो । तैपनि गोरखाली फौजले अधिकांश घरेलु हात हतियारहरुको भरमा तथा पारम्परिक युद्ध शैलीमा शक्तिशाली ब्रिटिश फौजको विरुद्ध मोर्चाबन्दी शुरु गर्न थाले ।
गोरखा किल्ला र गढीहरु (१७९०—१८१६)
ब्रिटिश फौजको विरुद्ध मोर्चाबन्दी गर्ने सिलसिलामा गोरखाली फौजले कुमाऊ, देहरादून र गढवालका कतिपय सामरिक ठाउँहरुमा सुरक्षा चौकी तथा गढीहरुको निर्माण गरेका थिए । सो गढी, चौकी तथा किल्लाहरुले गर्दा अङ्ग्रेजी फौजलाई गोरखालीहरुसंग युद्ध गर्न ज्यादै गाह्रो भएको थियो । हम्मेहम्मे परेको थियो ।
गोरखाली सैनिकहरुले अग्लो अग्लो डाँडा र अनकन्टार ठाउँहरुमा अत्यन्त बलियो, शक्तिशाली र दर्भेद्य गोरखा किल्ला, गढी र कोतहरुको निर्माण अत्यन्त छोटो अवधिमा गरेका थिए । के कसरी सो किल्ला र दुर्गहरुको निर्माण गरिएको थियो आज पनि उत्सुकताका विषय रहेको छ । गोरखाली कालिगढहरुको प्रशंसा अङ्ग्रेजहरुले पनि गरेका थिए । केही गोरखा किल्ला र गढीहरुको छोटकरी विवरण यस प्रकार छ ।
पिथौरा गढ किल्ला (१७९१)
ईस्ट इन्डिया कम्पनी सरकारको विरुद्ध मोर्चाबन्दी गर्ने सिलसिलामा पिथौरागढ “गोरखा किल्ला”को सामरिक एवं रणनीतिक महत्व थियो । यो किल्ला भारत उत्तराखण्ड राज्यको पिथौरागढको शहरको माझमा अग्लो डाँडामाथि स्थित छ । प्राचीन समयमा यो किल्ला “बाउलीगढ”को नामले चिनिन्थ्यो । कुमाँऊ गढवालमा गोरखालीहरूको शासन सत्ता स्थापित भएपछि पिथौरा गढको किल्ला “गोरखा किल्ला”को नामले प्रसिद्ध हुन गयो । केही स्थानीय निवासीहरूले यस किल्लालाई बोलचालको भाषामा। “गोरख्याणी किल्ला” पनि भन्ने गर्दथिए ।
पिथौरा गढ किल्लाको मुख्य ढोकाको छेउमा एउटा आधिकारिक सूचना पाटी (नोटिस बोर्ड) राखिएको छ । सो सूचना पार्टीमा यस किल्लाको बारेमा छोटकरी इतिहास हिन्दी भाषामा लेखिएको छ । जुन यस प्रकार छ । “ईस शहरमे आक्रमण के पश्चात ईस किल्लाका निर्माण सन् १७९१ मे गोरखा द्वारा किया गया था ।” सो सूचना पार्टीको अनुसार पिथौरागढ किल्लाको निर्माण गोरखाली फौज द्वारा गरिएको थियो भन्ने प्रमाणित हुन्छ ।
सन् १८१६ मार्च ३ तारिखमा नेपाल सरकार तथा ईस्ट इन्डिया कम्पनी सरकारको बीच सुगौली सम्झौता र सन्धी भएको थियो । सो अनुसार पिथौरागढ किल्लामाथि अङ्ग्रेज सरकारको आधिपत्य कायम हुन गयो । उनीहरुले पिथौरागढको “गोरखा किल्ला”को नाम हटाएर “लन्डन फोर्ट” राख्न लगाए । तर उत्तराखण्ड राज्य सरकारको सम्बन्धीत विभागले सूचनापाटीमा आजसम्म दुवै नामहरू “गोरखा किल्ला” तथा “लन्डन फोर्ट” लेखेर उक्त किल्लाको ऐतिहासिक एवं पुरातात्विक विशिष्टतालाई कायम राख्ने प्रयास गरेको पाइन्छ ।
पिथौरागढ शहर
प्राचीन समयमा पिथौरागढको नाम “सोर घाँटी” थियो भनेर भनिन्छ । प्राचीन समयमा सोर घाँटीको हरेक गाउँघरहरूको अग्लो अग्लो डाँडाको टुप्पाहरूमाथि कोट वा कोत हुन्थ्यो । एक प्रकारको सुरक्षा एवं प्रतिरक्षा गढीहरू थिए । उदाहरणको लागि गगोलीकोट, मणिकोट र सोरकोट आदि । त्यस्तै पिथौरागढ शहरको माझमा अग्लो डाँडामाथि एउटा कोट वा कोत थियो । जस्लाई “बाहुलीगढ कोट” भन्दथे ।
स्थानीय राजा चन्द साम्राज्यको पालोमा क्षेत्रीय प्रशासक पीस आलियास गुसाइले पिथौरागढ शहरको अग्लो डाँडामाथि “बाउलीगढ” कोट वा कोतको जग राखेका थिए भनेर सूचनापाटीमा उल्लेख गरिएको छ । सोही जगमाथि टेकेर गोरखाली फौजका कालीगढहरूले अत्यन्त भव्य विशाल शक्तिशाली एवं अद्भूत दुर्ग निर्माण गरेका थिए । जसलाई “गोरखा किल्ला” भनेर सन् १७९१ मा नामाकरण गरिएको थियो ।
गोरखा किल्लाको स्थापत्य कला
पिथौरागढको गोरखा किल्ला वास्तवमा मध्यकालीन युगको स्थापत्य कला र वास्तुकलाको अनौठो एवं अलौकिक नमूना हो भनेर धेरैको भनाइ रहेको पाइन्छ । समुद्र तलको सतहभन्दा ५३९७ फिटभन्दा माथि पनि अग्लो डाँडाको टुप्पामा अत्यन्त घना वनजङ्गल र दुर्गम ठाउँमा के कसरी गोरखाली फौजले भव्य र दुर्भेद्य किल्लाको निर्माण गरेका थिए ?
सो किल्लाको चारैतर्फ अत्यन्त शक्तिशाली, बलियो, चौडा र अग्लो पर्खाल पनि खडा गरेका थिए । सो पर्खालमा जम्मा १५२ वटा प्वाल वा झ्यालहरू बनाएका थिए । सोही झ्याल वा प्वालहरूबाट गोरखाली फौजले बन्दुकको गोली, तोपको गोला, धनुवाण र गुलेली आदिबाट प्रहार गरेर दुश्मन अङ्ग्रेजहरूलाई हानि पुर्याउने गर्दथे । सोही किलाको बुर्जाबाट सोर घाँटीको सम्पूर्ण गतिविधिहरू माथि गोरखाली फौजले कडा नजर राख्ने गर्दथे । आज भोलि यसै बुर्जा र किल्लाको पर्खाल माथिबाट सोर घाँटी पिथौरा गढको रमणीय, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यहरूको अवलोकन गरेर आनन्दको अनुभूति पर्यटकहरुले गर्दछन् ।
दुई तल्ले गोरखा किल्लाको भित्रको परिसरमा अत्यन्त सुन्दर, आकर्षक, रमणीय एवं सुन्दर राजमहलको निर्माण पनि गरिएको छ । सो महलमा अनुमानित १५ वटा कोठाहरू छन् । सो कोठाहरू सैनिक, निजामती, कार्यालयका लागि प्रयोग गर्ने व्यवस्था थियो । केही कोठाहरू निजामती र सैन्य परिवारको आवासका लागि छुट्याइएको थियो ।
भनिन्छ गोरखा शासनकालमा यस किल्लाबाट कुमाऊँ, गढवाल र देहरादुनमा एकीकृत नागरिक शासन प्रशासनको सञ्चालन एवं कार्यान्वयन हुन्थ्यो । साथै अङ्ग्रेजहरूको फौजको आक्रमणलाई प्रत्याक्रमण गरिने युद्ध सञ्चालनको कमाण्ड पनि यसै किल्लाबाट हुन्थ्यो । यसरी पिथौरागढको “गोरखा किल्ला” (क) नागरिक प्रशासन (ख) युद्ध सञ्चालन दुवै प्रयोजनको लागि महत्वपूर्ण थलो थियो । यसै कारणले गर्दा अङ्ग्रेज सरकारले सन् १८१६ देखि १९४७ सम्म पिथौरागढको “गोरखा किल्ला”लाई निजामती र सैनिक दुवै प्रयोजनका लागि प्रयोग गरेका थिए भनेर भनिन्छ ।
यसै किल्ला भित्रको परिसरमा गोरखालीहरूले भगवान शिवको मन्दिर स्थापित गरेको पाइन्छ । सो मन्दिरको पर्खालमा अत्यन्त सुन्दर, कलात्मक एवं आकर्षक धार्मिक चित्रहरू देख्न सकिन्छ । पिथौरागढ शहरको दर्शनीय स्थलहरूमा यस मन्दिरलाई पनि समावेश गरिएको पाइन्छ ।
पिथौरागढको गोरखा किल्ला भित्रको परिसरमा हातहतियार बनाउन र मरमर्मत गर्नका लागि एउटा छुट्टै शाखा पनि गोरखाली फौजले स्थापित गरेको थियो । एक प्रकारको आर्सनल शाखा थियो । जसलाई सञ्चालन गर्न गराउन भारतको बनारस (वाराणासी) शहरबाट केही मुस्लिम कालीगढहरूको झिकाइएका थिए । उनीहरू अस्त्र शस्त्र विज्ञ थिए । उनीहरुको लागि एउटा छुट्टै सानो आकर्षक मस्जिद समेत सो किल्लाभित्र निर्माण गरिएको छ ।
खानेपानीको व्यवस्था
गोरखा किल्ला समुद्र सतहदेखि अनुमानित १६४५ मिटरभन्दा पनि माथि स्थित छ । त्यस समयमा अग्लो डाँडामा खानेपानीको आपूर्ति गर्न ज्यादै गाह्रो थियो । तर गोरखालीहरुले गुप्त रुपमा भूमिगत खानेपानीको च्यानलहरुको सञ्जाल खडा गरेका थिए । किल्लाभित्र पानी पोखरी अर्थात रिजर्भवाटरहरुको निर्माण गरेका थिए । गुप्त र भूमिगत खानेपानीको च्यानल तथा पोखरीहरुको बारेमा सेना नायकहरु बाहेक अरुलाई केही जानकारी हुंदैन थियो ।
गोरखा गढी (सिटौली) (१८१५)
भनिन्छ उत्तराखण्ड प्रदेश, अलमोडा जिल्लाको सिटौली भन्ने सुरक्षित घना जंगलको बीचमा (रिजर्व फरेष्ट) गोरखालीहरुले एउटा गढी (सुरक्षा चौकी) स्थापित गरेका थिए । सो गढी रेखदेख र मरमतको अभावमा आज भोली जीर्ण र धराशायी अवस्थामा छ भनेर भनिन्छ ।
सो गढीको रणभूमिमा गोरखाली तथा अङ्ग्रेजहरुको बीचमा आमने सामनेको घमासान लडाईं भएको थियो । सो युद्धमा अङ्ग्रेजी फौजका सेना नायक लेफ्टिनेन्ट किर्क सन् १८१५ अप्रेल १६ तारिखमा गोरखाली सैनिकहरुको खुकुरीको प्रहारबाट मारिएका थिए । अर्को सेना नायक टैपल सन् १८१५ मई १६ तारिखमा मारिए । अन्य अङ्ग्रेज सैनिकहरु युद्धस्थल छाडेर भागमभाग गरेका थिए ।
भारतीय इतिहासकार बद्रीदत्त पाण्डेले आफ्नो पुस्तकमा यसरी लेखेका छन् । “सुटौली मे एक सुरक्षित जंगल है । यहाँ एक गोरखाली गढी है । वे अङ्ग्रेजके साथ लडेथे । जो गोरखा द्वारा मारे गएथे । कब्रमे ले. किर्क तथा टैपलके नाम अंकित है ।” (बद्रीदत्त पाण्डे, “कुमाऊंका ईतिहास” प्रकाशन अलमोडा बुक डिपो अलमोडा, ई.सं. १९३५ पृष्ठ ८९ )
नालापानी किल्ला (२४ अक्टोवर १८१४)
उत्तराखण्ड राज्यको राजधानी देहरादुन शहरभन्दा पूर्व उत्तरतर्फ अनुमानित ६ वा ७ किमिको दुरीमा रिस्पना खोला वा नदी छ । सो नदी तरेपछि समुन्द्र सतहदेखि अनुमानित ५५०० फिटभन्दा पनि माथि अग्लो डाँडामा नालापानी खलङ्गा किल्ला स्थित छ । मगर जनजातिको पल्टन श्री पुरानो गोरखगणको तत्कालीन कमाण्ड गणपति कप्तान बलभद्र कुंवरको निर्देशनमा सो किल्लाको निर्माण कार्य हुंदैथियो । त्यसै समयमा अकस्मात अङ्ग्रेज फौजले बन्दुकको गोली र तोपको गोला हानेर नालापानी किल्लालाई ध्वस्त पार्ने प्रयास धेरै पटक गरे । तर हरेक पटक गोरखाली महिलाहरुले सो किल्लाको मरमर्मत गरेर जस्ताको तस्तै बनाइ दिन्थे । भनिन्छ गोरखाली महिलाहरुको हिम्मत, जोश, जांगर, मेहनत र आँट देखेर ब्रिटिशहरु हैरान हुन्थ्यो । छक्क पर्दथे ।
नालापानी किल्लालाई कलंङ्गा, कलिङ्ग र खलङ्गा भन्ने पनि चलन रहेछ । खलङ्गाको शाब्दिक अर्थ धेरै मानिस अटाउने वा ओत लाग्ने थलो वा टहरो भनिन्छ । खलङ्गालाई गोर्खाली सैनिकहरूको ब्यारेक पनि भन्ने चलन छ । नालापानी खलङ्गा किल्ला अत्यन्त बलियो, शक्तिशाली एवं अभेद्य दुर्ग थियो । सो किल्ला गोर्खालीहरूले हतार हतारमा निर्माण गरेका थिए । प्राचीन समयमा खलङ्गा डाँडामाथि एउटा सानो कोट थियो । सोही कोटलाई ढुङ्गा माटो जडान गरी नालापानी किल्लाको निर्माण गोर्खाली फौजले गरेका थिए । सो किलाको परिसरमा सानो सैनिक ब्यारेक, खर खजाना, अन्न भण्डार र भूमिगत गुप्त पानी पोखरीहरू पनि गोरखालीहरूले निर्माण गरेका थिए । सो किल्लाको सुरक्षाका लागि चारैतर्फ शक्तिशाली १२ फुट चौडा र फराकिलो पर्खालहरू निर्माण गरिएको थियो । ठाउँ ठाउँमा पर्खालमाथि गुम्बजहरु थिए । सोही गुम्बजहरूबाट गोरखाली फौजले बन्दुकको गोली, तोपको गोला, धनुषवाण, गुलेली र ढुङ्गामुढा हानेर अंग्रेजी फौजलाई कायल गरेका थिए । गोरखाली र अङ्ग्रेजहरूको बीच सबभन्दा लामो युद्ध नालापानीको थियो । तीनपटक अङ्ग्रेजहरूले नालापानीमा हमला गरे तर सो युद्ध जित्न सकेनन् । सो किल्लालाई धराशायी तथा ध्वस्त पार्न पनि सकेनन् । उनीहरु नालापानी खलङ्गाको किलाबाट ज्यादै रिसाएका थिए । गोरखाली फौजले आफू खुसी नालापानी खलङ्गाको किल्लालाई परित्याग गरे । खानेपानीको खोजमा किल्लालाई खाली गरिदिए । त्यसपछि रिसाएका अङ्ग्रेज सेनानायकहरूले नालापानी खलङ्गा किल्लालाई पूर्णरूपमा ध्वस्त एवं धराशाही गर्ने निधो गरे ।
अतः पहिलो पटक हात्तीको धक्काबाट किलालाई ध्वस्त पार्ने प्रयास गरे । असफल भएपछि बन्दुकको गोली र तोपको गोलाहरु हानेर सो किल्लालाई धराशायी पार्ने प्रयास गरे । १६ पाउण्डका चारवटा तोपका गोला दुईवटा मोर्टार तोपका गोला तथा शक्तिशाली बन्दुकको गोलीहरु हानेर पनि नालापानी खलङ्गाको किल्लालाई माटोमा मिसाउन सकेनन् । धराशायी पार्न सकेनन् । भत्काउन सकेनन् ।
सारांश
(क) झण्डै २५० वर्ष पहिले गोरखाली फौजले निर्माण गरेका कतिपय किल्ला, दुर्ग, गढी, कोत र सुरक्षा चौकीहरुमध्ये केही जस्ताको त्यस्तै देखिन्छ । केही आवश्यक रेखदेख मर्मतको अभावमा धराशायी भैसकेको छ । केही भग्नावशेष अवस्थामा छ ।
(ख) ती ऐतिहासिक, पुरात्वातिक एवं सांस्कृतिक भौतिक सरंचनाहरुले आज पनि हाम्रो पुर्खाहरुको ऐतिहासिक एवं गौरवगाथाहरुको सन्देश सुनाइरहेको आभास हुन्छ । उनिहरुको साहस, पराक्रम, शौर्यता, वीरता तथा एक विद्धताको कथा वर्णण्न गरेको पाइन्छ । सो किल्ला, दुर्ग र चौकीको नजिक वा छेउमा पुगेपछि आज पनि “जय महाकाली आयो गोरखाकाली” को ध्वनी तरङ्गित भैराखेको अनुभव हुन्छ ।
(ग) ऐतिहासिक पर्यटनको विकास, बिस्तार, प्रवर्धन तथा गोरखा समाजका भावी पुस्ता, नयाँ पिंढीलाई आफ्नो पुर्खाहरुको योगदान, पहिचान र चिनारीका लागि पनि गोरखा किल्ला र गढीहरुको जीर्णोद्वार, पुर्ननिर्माण र संरक्षणको प्रयास जारी राख्नु पर्दछ । (कुराकानीमा आधारित)
(सामाजिक अभियन्ता त्रिलोकसिंह थापामगर ऐतिहासिक विषयमा लेख्न रुचाउँछन् )
नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।