
गलेश्वर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ ।
आयुर्वेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–१०स्थित तोरीपानीमा हुने गरेको छ । टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ पचास मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो । यहाँ उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौँको बजारमा बिक्री हुनाका साथै विदेशमा समेत निर्यात हुन थालेको उहाँले बताउनुभयो । प्रतिकिलो रु दुई हजार पाँच सयदेखि चार हजारका दरले टिमुर बिक्री हुने गरेको सम्बद्ध कृषकहरुले बताए ।
बेनी नगरपालिका–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । जिल्लाको २५ हेक्टर जमिनमा टिमुर खेती भएको उक्त कार्यालयले जनाएको छ । धेरैजसो कृषकले बोटबाट टिमुर टिपेर सुकाइ बजारमा पुर्याउने गर्दछन् । कतिपय ब्यापारी टिमुर खरिद गर्न गाउँमै आउने गरेका घतानस्थित भूमेसिद्ध टिमुर सञ्जालका अध्यक्ष सागर बानियाँले बताउनुभयो ।
यस वर्ष तोरीपानीमा एक सय दश मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सञ्जालअन्तर्गत १९ समूहका करिब एक सय घरधुरी कृषकले टिमुर खेती गरेका छन् । तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन् । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने योजना रहेको यहाँका कृषकले बताए ।
टिमुर खेतीले यहाँका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । स्थानीय जुनकिरी परियारले आफ्नो आम्दानीको मुख्य स्रोत नै टिमुर भएको बताउनुभयो । गत वर्ष टिमुर बिक्री गरेर रु ३५ हजार आम्दानी भएकामा यस वर्ष फल लाग्ने समयमा असिना र पानी परेकाले टिमुर उत्पादन घट्नाका साथै आम्दानी पनि कम हुने चिन्तामा रहेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लामा टिमुर उत्पादन र बजारीकरणका लागि सघाइरहेको गैरसरकारी संस्था इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सघाइरहेको बताउनुभयो । यस वर्ष यहाँका कृषकलाई टिमुर टिप्न सजिलो होस् भनेर रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताउनुभयो । फूल फुल्ने र फल लाग्ने समयमा परेको असिना पानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उहाँको भनाइ थियो ।
टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ । गाईबस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रुपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिकरुपले खेती विस्तार भइरहेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]