
काठमाडौँ । नेपालले विद्युत निर्यात गरेर मासिक १ अर्ब ७२ करोड आम्दानी गरेको छ ।
गत लक्ष्मी पूजाको दिनदेखि ३९ मेगावाट बिजुली भारत पठाएर व्यापार सुरु गरेको प्राधिकरणले गत जेठ १९ अर्थात् जुन २ तारिखदेखि दैनिक ३६४ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद रु एक अर्ब ७२ करोड ३० लाख बराबरको विद्युत बिक्री गरेको छ ।
पछिल्लो एक महिनाको विवरण हो यो । प्राधिकरणले आगामी छ महिनासम्म बिजुली बिक्री गर्नेछ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युत गृहको ३९ मेगावाट विद्युत् दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिकरूपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट छवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।
जेठ र मध्य असारसम्म हेर्दा मात्रै १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युत्बाट सम्पूर्ण शुल्क कटाएर खुदरूपमा रु एक अर्ब ७२ करोड ३० लाख कमाएको छ ।
जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युत्को औसत प्रतियुनिट दर नौ रुपैयाँ ६७ पैसा छ । आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक बल्कको मूल्य फरक–फरक हुने गरेको छ ।
प्राधिकरणले यस अवधिमा विद्युत् बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार)मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार)मा थियो । त्यसदिन औसत दर प्रतियुनिट चार रुपैयाँ ९२ पैसा थियो ।
यस अवधिमा ३ जुन (२० जेठ)मा सबैभन्दा कम रु ५६ लाख ६७ हजारको विद्युत् बिक्री गरिएको छ । त्यस दिन नौ लाख आठ हजार युनिट विद्युत् बिक्री गरिएको थियो । सबैभन्दा बढी १४ जुन (३१ जेठ) रु सात करोड २८ लाखको विद्युत् बिक्री भएको छ । त्यस दिन ७८ लाख १३ हजार ३०० युनिट विद्युत् बिक्री गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् व्यापार यस वर्षबाट थप प्रभावकारीरूपमा अगाडि बढेको बताउनुभयो ।
”जुन महिनामा निर्यात गरिएको विद्युत्को परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत् व्यापार प्रभावकारीरूपमा अगाडि बढेको छ, विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ”यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमा समेत योगदान पुग्ने छ ।”
उहाँले चालु आवमा करिब रु पाँच अर्ब र आगामी वर्षमा करिब रु २० अर्बको विद्युत् निर्यातको प्रक्षेपण गरिएको बताउनुभयो । उहाँले भारतसँगको विद्युत् व्यापारले नेपालको जलविद्युत्को विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । पहिलो प्राथमिकता देशभित्रै विद्युत् खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनुपर्ने देखिएको घिसिङले बताउनुभयो ।
”मुख्यरूपमा औद्योगिक ग्राहकबाट भोल्टेजका कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत् नपाएको गुनासो आउने गरेको छ, प्राय: वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरि नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रूपमा चलाइएको छ, यसको नतिजा अब विस्तारै देखिने छ”, उहाँले भन्नुभयो ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त