
काठमाडौँ, २३ माघ – दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेको उहाँले बताउनुभयो । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उहाँ पहिले निजी अस्पतालमा जाँच गर्न पुग्नुभयो । त्यहाँको सिफारिशमा उहाँ अघिल्लो साता लगनखेलस्थित मानसिक अस्पताल आइपुग्नुभएको थियो । बालकको घरमा मात्रै नभएर विद्यालयमा समेत व्यवहार बदलिँदै गएको शिक्षकले बताउने गरेको उहाँले मानसिक रोग विशेषज्ञलाई बताउनुभयो । त्यहाँ आएपछि मात्र उहाँले छोरामा इन्टरनेटको लतले यस्तो समस्या आएको थाहा पाउनुभयो ।
थापा मात्रै होइन, काठमाडौँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा धेरै अभिभावक सन्तानले इन्टरनेटमा मात्रै ध्यान दिँदा हैरान छन् । इन्टरनेटको पहुँच नागरिकमा बढ्दै जाँदा बालबालिका विद्यालयले दिएको गृहकार्य गर्ने र पढ्नेभन्दा मोबाइल, ल्यापटप र कम्प्युटरमा इन्टरनेट चलाउने गर्छन् । इन्टरनेटको अत्यधिक प्रयोगकै कारण कक्षामा पनि विद्यार्थी टोलाउने र पढाइका कुरामा ध्यान नदिएको भन्दै धेरै अभिभावक सन्तान लिएर मानसिक रोग विशेषज्ञसम्म पुग्ने गरेको अस्पतालले जनाएको छ ।
मानसिक अस्पतालमा कार्यरत प्रमुख ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ अनन्त अधिकारीले सन्तानलाई इन्टरनेटको लत लागेको भन्दै अस्पताल आउने अभिभावकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार १० वर्षदेखि १७-१८ वर्षसम्मका किशोरकिशोरीमा यस्तो लत पाइएको छ । इन्टरनेटको प्रयोग आफैँमा समस्या नभए पनि यसको अत्यधिक प्रयोगले धेरै समस्यालाई निम्त्याउने गरेको उहाँले औँल्याउनुभयो । बालबालिकामा निन्द्रा कम हुने, पढाइमा कमजोर हुने, एकोहोरो टोलाउनेलगायतका समस्या पाइएको अस्पतालले जनाएको छ ।
“विश्वका विकसित देशहरूले बालबालिकामा इन्टरनेटको लतलाई रोगको एउटा प्रकारको रूपमा स्वीकार गरिसके”, उहाँले भन्नुभयो, “हाम्रो देशमा पनि इन्टरनेटको पहुँच धेरै मानिसम्म पुग्दा यो समस्या बढ्दै गइरहेको छ ।”
विद्यालयमा अध्ययनरत विद्यार्थीले इन्टरनेटको अधिक प्रयोग गर्दा घरमा आमाबाबुले बोलाउँदा नसुन्ने र झर्को मान्ने गरेको अभिभावकले बताउने गरेको अधिकारीले बताउनुभयो । अरु मानसिक रोगको जस्तै समयमा उपचार नगर्दा यो रोगले ठूलो रूप लिने भन्दै समयमा उपचार गर्न उहाँले अभिभावकलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “समयमा उपचार गर्न नसके भोलि गएर ती बालबालिका ‘डिप्रेशन’लगायतका कडा खालका मानसिक रोगका सिकार नहोलान् भन्न सकिँदैन ।”
इन्टरनेटको प्रयोग वयस्क व्यक्तिले धेरै समयसम्म गर्ने भए पनि बालबालिकामा जस्तो उनीहरूमा मानसिक समस्या नदेखिएको अधिकारीले बताउनुभयो । दश वर्षभन्दा साना उमेरका बालबालिकासमेत चाहेको समयमा इन्टरनेट नपाउँदा झिँजो मान्ने र झगडालु बन्ने गरेको पाइएको अस्पतालले जनाएको छ । अधिकारीले भन्नुभयो, “बालबालिकामा स्मरणशक्ति हराउँदै जाँदा पहिलेभन्दा पढाइ क्रमशः नराम्रो हुँदै गएको अभिभावक बताउँछन् ।”
उहाँका अनुसार विकसित देशमा जस्तो अहिले नै यो समस्याले ठूलो रूप लिइसकेको छैन । इन्टरनेटको पहुँच बढ्दै जाँदा सँगसँगै यो समस्या बढ्दै गएको यहाँ आउने बालबालिकाको सङ्ख्याले देखाएको छ । उहाँले भन्नुभयो, “अहिले नै यसको समाधानमा नलागे भविष्यमा ठूलै रूप लिनसक्छ ।”
बालबालिकामा इन्टरनेट अत्यधिक प्रयोगकै कारण विभिन्न किसिमका ‘साइबर’ अपराधमा समेत पीडित र पीडकका रूपमा बालबालिकाको संलग्नता बढेको प्रहरीमा आउने उजुरीले समेत देखाएको छ । बालबालिकामा इन्टरनेटको अधिक प्रयोगले भविष्यमा लागुऔषध सेवनको समेत उत्तिकै सम्भावना रहेको छ ।
देशभरका सरकारी स्वास्थ्य संस्थाले मानसिक समस्याको उपचारका लागि मानसिक स्वास्थ्यको केन्द्रीय अस्पतालका रूपमा उक्त अस्पतालमा सिफारिश गर्दै आएका छन् । विभिन्न निजी अस्पतालले सेवा शुरु गरे पनि यहाँ आउने बिरामी वर्षेनी बढिरहेको अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक औसत १५० सम्म बिरामी आउने गरेका छन् । भर्ना हुने बिरामीका लागि अस्पतालमा रहेको ५० शय्या पनि सधैँ भरिने गरेको छ ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने