लन्डन । लन्डनस्थित ग्रीनफोर्ड टाउन हल । अरु बेला म्यूजिक कन्सर्टले भरिभराउ हुने उक्त हल शनिबार सांझ साहित्यिक मनहरुले भरिए । कवितामय बन्यो वातावरण । लन्डनमा पहिलो पटक गरिएको ‘कविता कन्सर्ट’ का प्रमुख आकर्षण थिए नेपालबाट झिकाइएका युवा कवि नवराज पराजुली ।
यो संसारको कुनै महान् चित्रकारलाई
विश्व नै पोत्न रंग चाहिए
मेरो देशका गुरांससंग सापटी माग्नु
म त गुरांसको देशको मान्छे
तर यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रंग किन्न
म आफूचाहिं अरब आएको छु
ताल गडगडाहट आउंछ, ‘सगरमाथाको गहिराइ’ शीर्षकमा उनले माथिका पंक्ति सुनाउंदा । उनको कविताले जिविकोपार्जनका लागि खाडी छिरेका लाखौं नेपालीको दुःख पीडा चित्रण गरिरहेको थियो ।
स्टेजमा उत्रिएर करिब एक घण्टा ‘नन स्टप’ कविता वाचन गरिरहंदा उनलाई सयौं दर्शकले बडो शान्तपूर्वक श्रवण गरे । पहिलो पटक बेलायत आएका पराजुली अर्को कविता भन्न थाल्छन्-
छोरा
सिमेन्टको सेतो खाली बोरा बोकेर
धानको सिला खोज्न जांदा
तिमी पाइलैपिच्छे भेट्थ्यौ
नरुवाको घांटीमा सुनको सिक्री बनेर निदाइरहेका
धानका पहेंला बालाहरु
त्यसरी नै
पाइलैपिच्छे भेटिरहनू
तिमीले जिन्दगीको खेतमा खोजेका
सपनाका सिलाहरु ।
हेब्बी बड्डे मेरो छोरा
उनको अर्को चर्चित कविता ‘हेब्बी बड्डे’ बाट माथिका शब्दहरु सुनाउंदा दर्शक त्यस्तै मन्त्रमुग्ध बने । नेपलिज ब्रिटिश कम्युनिटी यूकेले एनआरएनए यूके भाषा तथा साहित्य विभागको सह-आयोजनामा गरेको उक्त कविता कन्सर्ट द्वन्द्व पीडित बालबालिकालाई आश्रय दिइरहेको सर्लाही घुरक्यौलीस्थित ‘चेतना सन्देश नेपाल’ नामक संस्थाको सहयोगार्थ गरिएको थियो ।
भाषण र खादारहित उक्त व्यवस्थित कार्यक्रममा पराजुलीले अरु केही थान कविता पनि पस्किए ।
तिमी
ऐलेबाहेक जैले आएकी भए पनि हुन्थ्यो ।
ऐले त हेर
आफ्नो ओठमा च्याप्नको लागि
मसंग
एक खिल्ली खुसी पनि छैन ।
आफ्नो फोक्सोमा भर्नको लागि
मसंग
एक सर्को सुख पनि छैन ।
‘खोया’ शीर्षकबाट माथिका हरफ सुनाउंदा समेत उत्तिकै गडडाहट ताली पाए पराजुलीले । द्वन्द्व पीडित बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रम भएर होला, उनले त्यस्तै परिवेशको ‘बुद्धको टाउकोको मोल’ शीर्षकमा समावेश गरिएको एउटा कविता पनि सुनाउन भ्याए, जसले हल स्तव्ध बनायो ।
मेरी बुने,
तिमी र म
एउटा आतंककारीका दुइटी छोरी हैनौं,
एउटा बाबुका दुइटी छोरी हौं
किनकि
बीज आतंककारी हुंदैन ।
मान्छे आतंककारी होला
लोग्ने मान्छे आतंककारी होला
तर
बाबु आतंककारी हुंदैन
किनकि
आतंककारी बाबु हुंदैन ।

कार्यक्रममा प्रमुख अतिथी थिए राजदूत डा. दुर्गाबहादुर सुवेदी । एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगीमगरसहित करिब अढाइ सय श्रोताले तीनघण्टा लामो कार्यक्रम कत्ति पट्यार नमानी सुने ।
प्रमुख अतिथी राजदूत डा. सुवेदीले मन्तव्यका क्रममा नेपाली साहित्यको विकासक्रम र इतिहासमात्र बेलिविस्तार लगाएनन्, उनले पराजुलीको कवितामा जादु र आधुनिक कविताको भविष्य पराजुलीमा रहेको बताए । ‘अरु सगरमाथाको उचाईं नाप्छन्, पराजुली गहिराइ’, राजदूतले अगाडि भने, ‘नवराज रगतले कविता लेख्छन्, छातीमा कविता लेख्छन् ।’
उक्त कविता कन्सर्टका संयोजक रामशरण सिम्खडाले साहित्यलाई परोपकारी कामसंग जोड्दै लन्डनमा पृथक शैलीको कविता कन्सर्ट गरिएको जानकारी दिए । नेपलिज ब्रिटिश कम्युनिटी यूके अध्यक्ष मिलन घिमिरेले सबैदाताप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा स्थानीय श्रष्टाहरु फडिन्द्र भट्टराई, मन्जु भण्डारी, नृपेश उप्रेती, जगत नवोदित, नारायण गाउंले र रमेश कायस्थले समेत आफ्नो रचना सुनाए ।
रामशरण सिम्खडा र समिरनाथ प्याकुरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा राजदूत सुवेदीले कवि पराजुलीलाई सम्मान गरे । स्थानीय श्रष्टाहरुलाई पनि सम्मान गरियो ।
तस्विर- शिव भण्डारी
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी