काठमाडौं–बाम गठबन्धनबाट सभामुखमा उम्मेदवार को हुने भन्ने विषय बिहीबारसम्म टुंगो लाग्न सकेको छैन् । माओवादी केन्द्रले आफूले राष्ट्रपतिमा एमालेलाई समर्थन गरेपछि सभामुख आफूले पाउनुपर्ने माग गरिरहेको छ ।
तर, दुवै दलले शुक्रबार सभामुखको मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म पनि उम्मेदवार टुंगाइसकेका छैनन् । एमालेले पनि सभामुखमा दाबी गरेको छ ।
माओवादीले नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ । सभामुखको प्रतिस्पर्धामा माओवादीबाट गिरिराजमणि पोखरेल, पूर्व सभामुख ओनसरी घर्ति, देव गुरुङलगायतका नेताहरु दौडमा थिए । तर, अध्यक्ष पुष्पकमल दाहालले महरालाई सभामुखका लागि अगाडि बढाउने तयारी गरेका हुन् ।
यस्तै, एमालेबाट आफूले दुई वटा संविधानसभामा कुशलतापूर्वक सभामुखको पद सम्हालेको भन्दै सुवास नेम्वाङले पनि दाबी गरिरहेका छन् । यसका लागि शुक्रबार मनोनयन दर्ता पूर्व नै दुवै दलले छलफल गरेर उम्मेदवारी टुंग्याउने तयारी गरेका छन् ।