ललितपुरको पाटनमा होली विशेष कार्यक्रममा नेपालीहरुसँग होली खेलेर रमाइलो गर्दै विदेशी पर्यटक । तस्वीर – नारायण ढुंगाना, रासस
काठमाडौँ, १७ फागुन – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहिआएको छ । तराई-मधेश क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट अर्थात् भोलि शुक्रबार धुमधामसँग मनाउने गरिन्छ ।
यसै उपलक्ष्यमा सैनिक मञ्चको अगाडिको खुला क्षेत्रमा सामूहिकरुपमा होली मनाइएको थियो । विशेष गरी युवा-युवती एकआपसमा रङ आदानप्रदान गर्दै उल्लासपूर्णरुपमा सो कार्यक्रममा सहभागी भएका थिए ।
पछिल्लो समय उपत्यकाको होली पर्व सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्नेक्रम खासै देखिँदैनथ्यो ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाउँछन् ।
उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
सत्य युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ‘फागु’ खेल्ने परम्परा चलेको मानिन्छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ ।
देउवाद्वारा होलीको शुभकामना
काँग्रेस सभापति शेरबहादुर देउवाले पहाड र तराईमा खेलिने होली पर्वका अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा धार्मिक र सांस्कृतिक होली पर्वले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको उल्लेख छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम् सामाजिक–नैतिक मूल्य–मान्यता र समृद्धिको बाटातर्फ लैजान सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।