
काठमाडौँ, १३ माघ – कामदार (मजदूर) को अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ ।
यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, टिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ । ढुंगाखानी व्यवसाय सञ्चालन गर्दै आएका बालभक्त श्रेष्ठले ड्राइभर नभएका कारण टिपर बिक्री गरेको बताउनुहुन्छ । उहाँसँग झण्डै ४५ वटा टिपर थिए । एक जना ड्राइभरलाई मासिक रु ५० हजारसम्म पारिश्रमिक दिने गरेको भए पनि उहाँको खानीमा टिपर चलाउन एकजना पनि ड्राइभर छैनन् ।
अदक्ष व्यक्तिलाई काम सिकायो, दक्ष बनायो, सिप सिक्छन् त्यसपछि काम छोडेर विदेश गइहाल्छन्, त्यसैले व्यवसायलाई धरापमा पार्नुभन्दा टिपर नै बिक्री गर्नु बालभक्तको रहर नभई बाध्यता हो । खलासीबाट ड्राइभर बन्ने चलन घट्दै गएपछि यातायात व्यवसायमा कामदारको अभाव देखिन थालेको हो ।
पहिले गाउँबाट कामको खोजीमा सहर छिर्ने युवा जमात अहिले कामको खोजीमा विदेश जाने भएकाले यहाँ खलासी बस्न रुचाउँदैनन् । खलासी काम खासै गाह्रो मानिँदैन । तर पनि पेशाको सम्मान नगर्ने बानीका कारण यहाँ यातायात मजदूरको अभाव बढ्दै गएको हो ।
उमेर नपुगेका बालबालिकालाई खलासी राख्न कानूनले दिँदैन । पढेलेखेका मानिस खलासीको जागिर खान मान्दैनन् । महिला कामदारले खलासी पेशा गर्न रुचाएको पाइँदैन । त्यसैले यातायात व्यवसाय धर्मसंकटमा पर्दै गएको छ ।
माध्यमिक शिक्षा पढ्न छोडेका विद्यार्थी र घरबाट भागेर कामको खोजीमा शहर छिरेका युवा यातायात क्षेत्रका कामदार हुन् । तर उनीहरु शहर नभई विदेश जान थालेपछि कामदार पाउन छोडेको यातायात व्यावसायी अर्जुन शाहीले बताउनुभयो ।
उच्च माविका प्रधानाध्यापक रवि श्रेष्ठ विद्यालयमा रोजगार माग्न आउनेको संख्या पर्याप्त भएको र उहाँहरुले थोरै पारिश्रमिकमा पनि काम गर्न स्वीकार गर्छन् तर पढेलेखेका व्यक्ति सिप सिकेर अन्य वैकल्पिक पेशा किन गर्दैनन् भनी प्रतिप्रश्न गर्नुहुन्छ ।
बनेपाका कमल तामाङले डोजर चलाउने ड्राइभरलाई मासिक तलब रु ५० हजार र भत्ता रु एक एक हजार दिने गरेको भए पनि टिकेर काम गर्ने ड्राइभरको खाँचो रहेको बताउनुहुन्छ ।
एकतिर स्वदेशमा पेशालाई इज्जत नगर्ने, सिप सिक्न नचाहने, अदक्ष र अर्धदक्ष युवा विदेश जान रुचाउनुको मुख्य लहडबाजी र अर्काको देखासिकी प्रमुख कारण हो ।
सिप नसकेका युवा अर्काको देखासिकी र लहलहैमा स्वदेशको राम्रो काम छोडेर विदेश पुग्छन् । त्यहाँ राम्रो काम नपाएको, कम्पनीले दुःख दिएको आदि समाचार विभिन्न पत्रपत्रिकामा खबर नछापिएका भने पनि होइनन्, तर यसप्रति उनीहरुको खासै चासो भने छैन् ।
मेहनती एंव पेशालाई सम्मान र इज्जत गर्ने जो कोही युवा काम नपाएर भौतारिनु पर्दैन । बजार भएको पेशामा अल्छी नमानीकन काम गर्ने हो भने दुईछाक खान परदेशको जमिन टेक्नुनै पर्छ भन्ने बाध्यता छैन भन्नुहुन्छ– अरनिको यातायात सेवा समितिका पूर्व अध्यक्ष रमेश वैद्य ।
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा जम्यो नेपथ्य
इरानको आक्रमणबाट दुबईमा एक जना नेपालीको मृत्यु
इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो