
दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि बिहीबार काठमाडौँमा प्रतिनिधिसभा सदस्य नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी मनोनयन दर्तापछि प्रकाशमान सिंहलगायत नेताहरु राष्ट्रियसभा गृह परिसरमा । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १६ कात्तिक (रासस) – निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक सहभागितामा सम्पन्न भएको जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त साँझ ६ बजेसम्म प्रतिनिधि सभातर्फ ५२२ र प्रदेश सभा सदस्यतर्फ ८८३ को उम्मेदवारी परेको प्रारम्भिक सूचना प्राप्त भएको आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ २५६ निर्वाचन क्षेत्रका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।
उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा शुरुमा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको थियो भने मध्याह्नपछि मात्रै धेरैजसो राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नेमा महिलाको संख्या कमै देखिए पनि उम्मेदवारी दर्ताका लागि महिला मतदाताको उपस्थिति भने उत्साहजनक रहेको देखिन्थ्यो ।

प्रतिनिधिसभाका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारीको लागि नाम दर्ता गरेपछि अभिवादन गर्दै नेपाली कांग्रेसका नेता गगनकुमार थापा । तस्बिर – प्रदीपराज वन्त, रासस
निर्वाचन आयोगले राजनीतिक दलको उत्साहजनक सहभागितामा भएको उम्मेदवार मनोनयन कार्यले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनप्रतिको सबै किसिमका आशंका हटेर देश पूर्णरुपमा निर्वाचनको उत्सवमा होमिएको बताएको छ ।
सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनसँगै सार्वभौम संघीय संसद् र प्रदेश सभा निर्माण हुने प्रक्रिया सुनिश्चित भएको बताउनुभयो ।
व्यापक उत्साह एवं शान्तिपूर्णरुपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएकोमा सबै राजनीतिक दल र उम्मेदवार तथा सुरक्षाकर्मी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारीलाई धन्यवाद प्रकट गरेको छ ।

प्रतिनिधिसभाका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारीको लागि नाम दर्ता गरेपछि सवैलाई अभिवादन गर्दै एमालेका नेता माधवकुमार नेपाल लगायत नेताहरु । तस्बिर – प्रदीपराज वन्त, रासस
निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार, सम्बन्धित निर्वाचन कार्यालयबाट आज नै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यक्रम छ ।
निर्वाचन आयोगका अनुसार, आज मनोनयन दर्ता भएको उम्मेदवारीको विरोधमा कात्तिक १७ गते उजुरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेपछि औपचारिकरूपमा चुनावी प्रचारप्रसारको अवधि शुरू हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता भएपछि सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले सबै राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन आचारसंहितको पूर्ण पालना हुने विश्वास लिएको आयोगले जनाएको छ ।
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट