
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बिहीबार राजधानीमा आयोजना गरेको सयुंक्त पत्रकार सम्मेलनमा सहभागी हुनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत वाम गठबन्धनका शीर्ष नेताहरु । तस्बिर – नवीन पौडेल, रासस
काठमाडौँ, ९ कात्तिक (रासस) – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि अवस्थामा सम्पन्न हुनुपर्ने बताएका छन् ।
दुई पार्टीले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचन सार्ने र अनेकन बहानाबाजी गर्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताएका हुन् । मतपत्र प्रयोगका सम्बन्धमा सर्वोच्च अदालतले बुधबार दिएको आदेशका कारण आफूहरुलाई चिसो पसेको भन्दै दुवै पार्टीका अध्यक्षले जनताको निर्वाचनप्रतिको चाहना र अपेक्षामा तलमाथि नगर्न आग्रह गरेका हुन् ।
निर्वाचन आयोगले तयार पारेको मतपत्रको ढाँचाबाट कुनै पनि नागरिक वा मतदाताको कुनै संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा बाधा नपुग्ने, मतपत्रमार्फत मतदाताले मन पराएको दल वा उम्मेदवार छनोट गर्न र गोपनियतामा कुनै व्यवधान नपुग्ने तथ्य स्पष्ट रहेको सो अवसरमा जानकारी दिइयो ।
मुलुक निर्वाचनमा अग्रसर भइसकेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा अनावश्यक बहस विवादमा नअल्झी घोषित समयमा नै निर्वाचन सम्पन्न गर्ने कार्यमा योगदान पुरयाउनसमेत एमाले र माओवादी केन्द्रले सचेत गराएका छन् ।
बुधबार सर्वोच्च अदालतले दिएको आदेशप्रति आफूहरुको ध्यानकर्षण भएको भन्दै उनीहरुले लोकतान्त्रिक अभ्यासलाई अवरुद्ध पार्ने, लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र जनताको अधिकारलाई कुण्ठित गर्ने कार्यप्रति सजग रहनसमेत अनुरोध गरिएको छ ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बहाना र शर्तमा निर्वाचन सार्ने र सार्न खोज्ने प्रयत्न मान्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानले नै निर्वाचन गर्ने मिति तोकिदिएका कारण कुनै पनि बहानाबाजी चल्दैन । त्यस्तो प्रयत्न कहीँ कतैबाट भयो भने त्यो मान्य पनि हुँदैन ।’
उहाँले निर्वाचन आयोग, नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको संयुक्त छलफलमा नै सबै विषयलाई प्रष्ट पारिसकेको अवस्थामा मतपत्रको विषयलाई लिएर गरिएका अनावश्यक हल्ला र टिप्पणीसमेत स्वीकार्य नभएको उल्लेख गर्नुभयो । संविधान कार्यान्वयनको प्रक्रियामा भाँजो हाल्न खोज्ने जो कोहीलाई नेपाली जनताले नसहने उहाँको कथन थियो ।
अध्यक्ष ओलीले सरकारले निर्वाचन सार्ने चलखेल गरिरहेको भन्ने समाचारले जनमानसमा अन्योल सिर्जना भएकाले सबैको ध्यानाकर्षण गर्न पत्रकार सम्मेलन गर्नुपरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतपत्र दुईवटै छ । दुईवटा मतपत्र संविधानबमोजिम नै तय गरिएको हो । त्यसैले अहिले स–साना कुरामा अल्झिने कुरा छैन । कोही अल्झन खोज्छ भने त्यो छुट्छ ।’
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वसहमतिमा नै निर्वाचन आयोगलाई यसरी नै मतपत्र छाप्न आग्रह गरेको प्रत्यक्ष र समानुपातिकको मतपत्र दुई वटा नै भएको बताउनुभयो । मतपत्रसम्बन्धी विवाद समाधानका लागि आयोगले नै विशेषज्ञसहितको कार्यदल बनाइएको र सोही कार्यदलको सिफारिशअनुसार नै अर्को मतपत्र सम्भव नभएको निर्णय गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।
सर्वोच्चको बुधबारको आदेशप्रति इंगित गर्दै उहाँले कार्यदलप्रति सम्मान गरेर नै आयोगले अदालतलाई जानकारी दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘मतपत्रको विषयलाई लिएर अदालतले कारण देखाउ आदेश दिएपछि हामीलाई केही चिसो पस्यो । यस्तो नहोस् । तोकिएको समयमै निर्वाचन सम्पन्न हुनुपर्छ ।’
उहाँले सर्वोच्चको आदेशले आफूहरुलाई चिसो पसेको उल्लेख गर्दै उम्मेदवार मनोनयन प्रक्रिया शुरु भएपछि संसद् स्थगित भएको पुनः दोहोरयाउनुभयो । समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची पेश गरी निर्वाचन प्रक्रिया शुरु भएकाले सभामुखले संसद स्थगित मात्रै गरेको भन्दै उहाँले निर्वाचन सार्ने षड्यन्त्र भए संसद पुनस्थापना गर्ने संकेत गर्नुभयो । उहाँले देशलाई अप्ठ्यारो नपरोस् भनेर नै आफूहरु दुःखका साथ सरकारमा रहेको पनि बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा