
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको १०० दिनमा सम्पन्न भएको महत्वपूर्ण कार्यहरु तथा उपलव्धिहरुको बारेमा पत्रकार सम्मेलनगरी जानकारी गराउँदै सञ्चारमन्त्री मोहनबहादुर बस्नेत साथमा उपप्रधानमन्त्रीहरु कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ । तस्वीर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २९ भदौ । सरकार गठन भएको सय दिनको अवधि संविधानको स्वीकार्यता बढाउँदै मुलुकको राजनीतिक स्थायित्वका लागि उल्लेखनीय साबित भएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि आज सय दिन पुगेको अवसरमा सरकारले सो अवधिमा सम्पन्न भएका महत्वपूर्ण कार्य र हासिल भएका उपलब्धिबारे जानकारी गराउँदै सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले संविधानको कार्यान्वयनका सिलसिलामा सबै तहका निर्वाचन सम्पन्न गराउने अग्रसरता नै सरकारको प्रमुख उपलब्धि हो भन्नुभयो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले वर्तमान सरकार गठन भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनाका साथै आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको तयारी पूरा भएको बताउनुभयो । “सरकारले संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न मिति घोषणा गर्नुका साथै निर्वाचनको आवश्यक तयारी र व्यवस्थापन गरिरहेको छ,”,उहाँले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले गत जेठ २४ गते पदबहाली गरेपछि संविधान कार्यान्वयन, सबै तहका निर्वाचन सम्पन्न गर्ने, भूकम्पपछिको पुनःनिर्माण र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आर्थिक समृद्धि, शान्ति सुरक्षा र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने प्राथमिकता तोकी कार्यारम्भ गरेको थियो ।
उहाँले संविधान संशोधन विधेयकलाई मतदानका लागि संसद्मा प्रस्तुत गरी सबै तहका निर्वाचनमा मधेश केन्द्रित सम्पूर्ण दलको सहभागिता सुनिश्चित गर्दै सरकारले निर्वाचनका लागि आवश्यक कानून निर्माण गरेको जानकारी गराउनुभयो ।
सरकारले गत साउन महिनाको अविरल वर्षापछि मुलुकभर आएको बाढी, पहिरो र डुबानबाट अस्तव्यवस्त जनजीवनलाई सामान्यीकरण गर्न तत्काल राहत, उद्धार र पुनःस्थापनामा केन्द्रित रहेको जनाएको छ ।
सय दिनको अवधिमा भारत र चीनलगायत अन्तर्राष्ट्रिय मञ्चमा उच्चस्तरमा भएको भ्रमणले छिमेकी मुलुक एवं अन्तर्राष्ट्रियस्तरमा आपसी कूटनीतिक सम्बन्ध अझ बढी सुदृढ र उन्नत बनाउन मद्दत पुगेको सरकारको बुझाइ छ । सो अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीट्जरल्याण्ड भ्रमण, उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराको भारत र चीन भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता हुनाका साथै अन्तर्राष्ट्रिय जगत्सँग नेपालको सम्बन्ध थप उचाइमा पुगेको छ ।
सय दिनकै अवधिमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गर्नु तथा बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक काठमाडौँमा हुनु र बैठकले बिमस्टेकको शिखर सम्मेलन उपयुक्त समयमा काठमाडौँमा गर्ने निर्णय गर्नु नेपालका लागि गौरवको विषय बनेको सरकारले जनाएको छ ।
भूकम्पपछिको पुनःनिर्माणका क्रममा पछिल्लो पटक उल्लेखनीय कार्य भएको बताउँदै सञ्चारमन्त्री बस्नेतले सो अवधिमा सम्पदा, निजी घर, विद्यालय, सरकारी कार्यालय र स्वास्थ्य संस्थाको पुनःनिर्माणको विवरण दिनुभयो ।
स्थानीय तहको बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट अनुदानका रुपमा हस्तान्तरित र स्थानीय स्रोतसमेत कायम गरी निर्माण गरिएको बजेट व्यवस्थित तुल्याउन आवश्यक व्यवस्था गरिएको उहाँले अवगत गराउनुभयो । सरकार गठन भएको सो अवधिमा अर्थ, उद्योग, वाणिज्य, ऊर्जा, कृषि, शहरी विकास, सिँचाइ, सञ्चार, स्थानीय र भौतिक पूर्वाधार र सडकलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् ।
सरकारले प्रमुख चाडपर्वका मुखमा आपूर्ति व्यवस्थापन र बजार अनुगमनलाई प्रभावकारी बनाउनाका साथै सुरक्षा अवस्थालाई समेत चुस्त बनाएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नाका साथै स्रोतसाधनको कमी हुन नदिने सुनिश्चितता गर्दै समयमै निर्माण सक्ने गरी तीव्रता दिन प्रोत्साहन दिनुभएको मन्त्री बस्नेतले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उठेका सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकारले भ्रष्टाचार र अनियमिततामा शून्यसहनशीलता अपनाएको बताउँदै कानूनी प्रक्रियानुसार भ्रष्टाचार नियन्त्रण गरिने अठोट व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री महराले सरकारको पहिलो प्राथमिकता संविधानको कार्यान्वयन र निर्धारित समयमा सबै तहका निर्वाचन सम्पन्न गर्ने अग्रसरता मुख्य उपलब्धि हो भन्नुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा