तमुधिं यूकेले बाढी पीडितलाई दियो १० लाख

लन्डन । तमुधिं यूकेले नेपालका बाढी पीडितलाई १० लाख रुपैयां आर्थिक सहयोग प्रदान गरेको छ ।

बेलायतमा नेपालीको सबैभन्दा ठूलो जातीय संस्था मानिने तमुधिं यूकेले आफ्ना संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घलेमार्फत उक्त रकम बाढी पीडितलाई दिएको हो ।

आइतबार करिब दश हजार सहभागी ९ औं नेपाली मेलामा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, राजदूत दुर्गाबहादुर सुवेदी लगायतले घलेलाई दश लाख रुपैयांको चेक प्रदान गरे । तमुधिं यूकेले मेला र अन्य माध्यमबाट चन्दा संकलन गरेको हो ।

आर्थिक सहयोग लिएपछि अध्यक्ष घलेले आभार व्यक्त 
गर्दै एनआरएनएको आपतकालिन राहतकोषमार्फत रकम पीडितसमक्ष पुरयाइने बताए । घलेले विश्वभरबाट बाढी पीडितका लागि प्राप्त सहयोग मध्ये तमुधिं यूकेको सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिए ।

गृह मन्त्रालयको सुझाव र समन्वयमा बाढीले सबैभन्दा प्रभावित र विपन्न जिल्ला सप्तरीमा गएर चार हजार पांचसय परिवारलाई राहत वितरण गरिसकेको घलले जनाए ।

चार वर्षको अवधिमा भूकम्प, नाकाबन्दी र बाढीपहिरो गरि तीनवटा विपतमा संघले नेपाल सरकारसंग नजिक रहेर काम गरेको स्मरण पनि उनले गरे ।

तमुधिं यूकेको निमन्त्रणामा नेपाली मेलामा आतिथ्य ग्रहण गर्न श्रीमति जमुनाका साथ बेलायत आएका घले दम्पत्तिको स्वागतका लागि तमुधिं यूके र एनआरएनए यूकेले सोमबार बेग्ला बेग्लै कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री