शाश्वत धाम- नयां धार्मिक केन्द्र बन्दै

कावासोती, २४ फागुन । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाम धार्मिक केन्द्रका रुपमा विकास हुने भएको छ ।

हिन्दू धर्मावलम्बीका लागि ठूलो आस्थाको केन्द्रका रुपमा चौधरी ग्रुपद्वारा निर्मिति धामलाई विकास गरिन लागेको हो । ऐतिहासिक किंबदन्तीका आधारमा शक्तिशाली मानिएका ७५ ठाउँको विशेषता यहाँ पाइन्छ । परशुराम, स्वर्गद्वारी, रिडी, डोलेश्वर, पशुपतिनाथ, मुक्तिनाथ, गोसाइँकुण्डलगायत ठाउँका प्रतिरुप यहाँ राखिएको छ जहाँ मुक्तिनाथको जल समेत पाइन्छ ।

सिजीका सिएसआर प्रमुख रामचन्द्र धितालले भन्नुभयो, “यसलाई विश्वका हिन्दूहरुको गन्तव्यस्थलका रुपमा निर्माण गरिएको छ, शाश्वत धाम सर्वोतीर्थ सरोवरका रुपमा समेत रहेको छ ।”

उद्योगपति विनोद चौधरीको परिकल्पनामा विसं २०६०तिर देखि निर्माण थालिएको सो धाम १४ वर्षमा सम्पन्न गरिएको छ । “यसमा इन्जिनियर नारायण श्रेष्ठको डिजाइज रहेको छ र परिकल्पना र डिजाइज दिने काम विनोदबाबुले गर्नुभयो । त्यसलाई उतार्ने काम नारायणजीले गर्नुभएको हो” धितालले भन्नुभयो

सात बिघा क्षेत्रफलमा निर्माण गरिएको धाममा गुरुकुल पनि रहेको छ, जहाँ १० जिल्लाका २९ बालबालिका अध्ययनरत छन् । धाममा चौधरीका पिता लुनकरण दासको अस्तु राखिएको समाधि र सालिकसमेत निर्माण गरिएको छ । झट्ट हेर्दा यहाँ पसेपछि कोही पनि निस्कन खोज्दैन ।

बाह्र राशि र २७ नक्षत्रका बोटसमेत यस क्षेत्रमा छन् । खजुरवाना शैलीमा भारत गुजरातका इमान हुसेन कालीगढले धामको निर्माण गरेका हुन् । अत्यन्त कलात्मक रुपमा निर्माण भएको सो धाम आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । यहाँको वातावरणीय सुन्दरता पनि औधि नै छ ।

“यहाँ ऐतिहासिकता झल्कने अन्नपूर्ण भोजनालयसमेत रहेको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले एक पटक पूर्वपश्चिम हिँडेका जो कोही पनि यहाँ रोकिने अवस्था आएको छ” दिव्यपुरीका बासिन्दा तिलप्रसाद पाठकले भन्नुभयो ।

चितवनको भरतपुर विमानस्थल ओर्लेर २२ किमी यात्रा गरेपछि यहाँ सजिलै आउन सकिन्छ । लुम्बिनी आउने राजमार्ग पनि यहीँ भएकाले त्यहाँबाट दुईदेखि साढे दुई घन्टाको बस यात्राबाट शाश्वतधाम आउन सकिन्छ ।

नेपालको धार्मिक गन्तव्यका रुपमा समेत यसलाई लिन सकिन्छ । धामक्षेत्र वरपरका बासिन्दा धामले गर्दा यहाँको रमणियता सुन्दरता बढेको बताउने गरेका छन् ।

“दुम्कौलीसँगै सिङ्गो देवचुली नगरपालिकालाई धार्मिक गाउँको रुपमा विकास हुने अवस्था आयो” स्थानीयवासी दीपक शर्माले भन्नुभयो, “विनोदबाबुले यो ठाउँ उद्योग र धार्मिक क्षेत्रको रुपमा चिनाउनुभयो ।” धार्मिक जागरणसमेत ल्याउने काम यो धामको निर्माणले हुने शर्माले बताउनुभयो ।

देवचुली र वरचुलीको काख नारायणी नदीको समीपमा भएकाले यसको धार्मिक महत्व झन् बढी रहेको स्थानीयवासी बिना न्यौपाने बताउनुहुन्छ । “भौगोलिक हिसाबले सुगम भएकाले यहाँ आउन चाहना राख्नेहरु सजिलै आउन सक्छन्” उहाँले भन्नुभयो, “भगवान् राम वनवास गएको समय जति यो निर्माण गर्न लागेछ, यो संयोग हेर्नेहोस् त कस्तो मिलेको । ”

यस क्षेत्रका वृद्धवृद्धाले आस्थाको पुञ्जका रुपमा तथा युवा पुस्ताले यसलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बुझेका छन् । धामले सबै नेपालीलाई जोड्ने काम गरेको स्थानीयवासीको बुझाइ छ । हिन्दू, बौद्ध, शिख सबैलाई यसले एक ठाउँमा उभिन सहयोग पुरयाउने विश्वास स्थानीयवासीले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री