
नेपालकोे भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति नन्दबहादुर पुन शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर ः प्रदीप वन्त, रासस
काठमाडौँ, १७ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको पहिलो दिन निकै व्यस्त रह्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने राजकीय भ्रमणमा आज मध्याह्न यहाँ आइपुग्नुभएका राष्ट्रपति मुखर्जी नेपालका उच्च नेतृत्वसँगको भेटवार्ता व्यस्त रहनुभयो ।
भारतीय राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । विमानस्थलमा राष्ट्रपति मुखर्जीको स्वागतार्थ उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सवारीमन्त्रीसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही उपस्थित हुनुहुन्थ्यो ।
एउटै कारमा दुवै राष्ट्रपति
विमानस्थलको स्वागतपछि दुवै देशका राष्ट्रपति एउटै कारमा सवार भई राष्ट्रपतिको कार्यालय शीतल निवास पुग्नुभएको थियो । मुखर्जीको सवारी हुने रुटमा सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाको हेलिकप्टरले हवाई गस्ती गरेको थियो । कारमा दुवै देशको झन्डा फहराइएको थियो ।
शीतल निवासमा उहाँहरुबीच करिब एक घन्टा वार्ता भयो ।
नेपालमा संविधान जारी भएकामा बधाई
दुबै राष्ट्रपतिबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र स्रोतले जनाएको छ । भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गर्नु वार्ताको उल्लेख्य पक्ष रह्यो ।
भेटवार्तापछि राष्ट्रपति मुखर्जी लैनचौरस्थित भारतीय राजदूतावासको स्वागत कार्यक्रममा सरिक हुनुभयो । दूतावास परिसरमा उहाँले उपराष्ट्रपति पुन, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग भेट गर्नुभयो । नेपालीसँगको उहाँको आधा घण्टाको भेटघाटले दुई देशबीच जनस्तरमा रहेको सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको झल्को पाइन्थ्यो ।
त्यसपछि बौद्धस्थित हायात रिजेन्सी होटलमा उहाँले उपराष्ट्रपति पुन र त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभयो । सौहार्दपूर्ण वातावरणमा भएका ती छलफलमा द्विपक्षीय हित र चासाका विषयमा विचारविमर्श भएको बुझिएको छ ।
भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले आजै बेलुकी सोल्टीमोडस्थित होटल सोल्टीमा आयोजना गर्नुभएको रात्रिभोजमा सरिक हुनुभयो ।
त्यस अवसरमा दुवै राष्ट्रपतिले व्यक्त गर्नुभएको सारगर्भित र महत्वपूर्ण विचारले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुरयाउने विश्वास लिइएको छ । विगत सात दशकमा अनेक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भारतसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने नेपाली जनताको इच्छालाई राष्ट्रपति भण्डारीले मुखरित गर्नुभयो । भारतले आफ्ना छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको उद्गार राष्ट्रपति मुखर्जीबाट व्यक्त भयो । समारोहमा नेपालका विभिन्न संस्कृति झल्कने गीत, सङ्गीत र नृत्य प्रदर्शन गरिएको थियो ।
अठार वर्षपछि भारतीय पक्षबाट भएको उच्चस्तरीय यो भ्रमणबाट नेपाली जनता हर्षित छन् ।
नेपाल भ्रमणको दोस्रो दिन मुखर्जी काठमाडौँ विश्वविद्यालयद्वारा आयोजना हुने सम्मान कार्यक्रम र काठमाडौँ महानगरपालिकाको संयोजनमा हुने नागरिक अभिनन्दन कार्यक्रमा सरिक सरिक हुनुहुनेछ । यसअघि बिहान उहाँको पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित