काठमाडौँ, १२ कात्तिक । भारतका राष्ट्रपति केआर नारायणनको २०५५ साल जेठ १४ पछि हुन लागेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको छिट्टै हुने भ्रमणले नेपाल–भारतबीचको युगौँदेखिको मित्रता र जनस्तरको सुसम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि यही कात्तिक १७ गते आउँदै हुनुहुन्छ । भौगोलिक तथा संस्कृतिक निकटता भएका नेपाल–भारतबीचको सम्बन्धको आफ्नै खाले विशेषता छन् । एक हजार सात सय किमीभन्दा बढी खुला सिमाना भएका दुई मुलुकबीच जनस्तरमा अत्यन्तै सौहार्द र घनिष्ठ सम्बन्ध रहिआएको छ । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारत र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था अँगालेको नेपालबीच हुने यस प्रकारका भ्रमणबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्नेछ ।
तत्कालीन राष्ट्रपति नारायणनले नेपाल आगमनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्नुभएको थियो, “यो मेरो सद्भावना भ्रमण हो र सद्भावना भ्रमणमा हाम्रो मित्रताका सबै पक्ष समेटिएको हुन्छ ।”
संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्त अनुरुप अन्तर्राष्ट्रिय मञ्च अधिकांश विषयमा साझा अवधारणा राख्दै आएका दुई देशबीचको भाषा, धर्म, संस्कृति र रहनसहन तथा सभ्यताले समेत एकार्कालाई निकट तुल्याएको छ । राष्ट्रपति मुखर्जीबाट नेपाल भ्रमणमा रहँदा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटवार्ता हुनेछ । राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन हुनेछ ।
राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका अवसरमा द्विपक्षीय समझदारीपत्रमा हस्तारक्षर समेत हुनेछ । मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले रात्रिभोजको आयोजना गर्नुहुनेछ । नेपालको पूर्वपश्चिम र दक्षिणमा सिमाना जोडिएको भारतसँगको सम्बन्ध संसारमै उदाहरणीय रहेको छ । एकार्काका देशमा बिनाप्रवेशाज्ञा आवतजावत गर्न सकिनेसम्मको सुविधाको उपभोग दुवै देशका नागरिकले निर्वाधरुपमा गर्दै आएका छन् ।
भ्रमणका अवसरमा राष्ट्रपति मुखर्जीले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग द्विपक्षीय हित र आपसी चासोका विषयमा केन्द्रित रहेर भेटवार्ता गर्नुहुनेछ । राष्ट्रपति मुखर्जी काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ । उहाँले काठमाडौँमा रहँदा पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ । साथै राष्ट्रपति मुखर्जीले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्नुहुनेछ ।
राष्ट्रपति मुखर्जीको स्वागतका लागि नेपाली जनता र सरकार आतुर छन् । सरकारी र जनस्तरमा समेत उहाँको भ्रमणका लागि विशेष तयारी भइरहेको छ । सुरक्षा व्यवस्थालाई समेत कडा तुल्याइएको छ ।
नेपालको पशुपतिनाथ र भारतका विभिन्न धार्मिक तीर्थस्थलले नागरिक र संस्कृतिबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ । दुई मुलुकबीचको व्यापारिक तथा सामरिक सम्बन्ध अन्य मुलुकको तुलनामा महत्वपूर्ण छ । नेपालको कुल व्यापारको करिब दुई तिहाइ कारोबार भारतसँग नै हुँदै आएको छ । भारत नेपालको विकासमा योगदान पुरयाउने प्रमुख साझेदार मुलुक पनि हो । भ्रमणकै अवसरमा नेपाल उद्योग परिसङ्घले आयोजना गर्ने व्यापारिक कार्यक्रममा राष्ट्रपति मुखर्जीले विशेष आतिथ्यता ग्रहण गर्नुहुनेछ ।
राष्ट्रपति मुखर्जीले नीति अनुसन्धान प्रतिष्ठान नेपाल र इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्नुहुनेछ । नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिकको भेलालाई राष्ट्रपति मुखर्जीले सम्बोधन गर्ने प्रारम्भिक कार्यक्रम तय भएको बुझिएको छ ।
भारतीय सेनामा नेपाली युवाबाट ठूलो योगदान हुँदै आएको हुँदा त्यसबाट नेपाल भारतबीचको सम्बन्ध थप बलियो बनेको छ । भारतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, ऊर्जा एवम् कृषि र पर्यटनलगायत विकासमा महत्वपूर्ण सहयोग पुरयाउँदै आएको छ । नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा भारतको नैतिक समर्थन रहनाका साथै भारतको स्वतन्त्रता सङ्ग्राममा पनि नेपाली नेताले महत्वपूर्ण योगदान गर्नुभएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल–भारतबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको थियो ।
भारतको राष्ट्र प्रमुखबाट लामो समयपछि नेपालको भ्रमण भए पनि त्यहाँका प्रधानमन्त्री आइके गुजराल, अटलविहारी वाजपेयी र नरेन्द्र मोदीबाट यसबीचमा भ्रमण भइसकेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य राष्ट्रका रुपमा रहेका नेपाल र भारतका नेताको भ्रमणको आदानप्रदानको निरन्तरताले यस क्षेत्रको विकास र समृद्धिमा समेत योगदान पुग्दै आएको छ ।
भारतीय राष्ट्रपति मुखर्जी नेपालको भ्रमण सकेर यही कात्तिक १९ गते स्वदेश फर्कने कार्यक्रम छ । उहाँको यस भ्रमणबाट दुई देशबीच रहँदै आएको सम्बन्धमा थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?