काठमाडौँ, ७ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले स्वर्गीय ताबेईले नेपाललाई आफ्नो दोस्रो घरको रुपमा लिँदै सगरमाथा आरोहणपछिका वर्षहरुमा पनि नेपाल आउने क्रमलाई निरन्तरता दिएको स्मरण गर्नुभयो । पछिल्लो समय सगरमाथा क्षेत्रमा बढ्दै गएको वातावरणीय प्रदुषण व्यवस्थापन तथा स्थानीय विद्यालय निर्माणमा ताबेईले महत्वपूर्ण सहयोग पुरयाउँदै आउनुभएको उहाँले बताउनुभयो ।
मानार्थ पर्यटन दूत रहेर ताबेईले नेपालको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआउनुभएको र नेपाली जनताप्रति देखाउनु भएको माया, सद्भाव र सहयोग नेपालको इतिहासमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय ताबेईले नेपालको पर्यटन क्षेत्रको विकास र विश्व हिम शिखर आरोहणको इतिहासमा पुरयाउनु भएको योगदान सदा उच्च रहिरहने भन्दै सभापति देउवाले उहाँको असामयिक निधनको समाचारले आफूलाई अत्यन्त मर्माहत र दुःखीत बनाएको बताउनुभएको छ ।
स्वर्गीय ताबेईसित सन् २०१४ मार्चमा आफू र श्रीमती डा आरजु राणा देउवाको भेट भएको र उहाँसँगको भेटका ती क्षणहरु आफ्नो मानसपटलमा अझै ताजा रहेको उहाँले बताउनुभयो । ताबेईको निधनबाट नेपालले एक असल मित्रलाई गुमाएको र नेपाली जनता माझ उहाँको अभाव सदा खड्किरहने उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनप्रति आफ्नो तथा पार्टीका तर्फबाट गहिरो दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक सहानुभूति र समवेदना प्रकट गर्नुभएको छ ।
सन् १९७५ मा ३५ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गर्नु भएकी ताबेईले विश्वका सातवटै महादेशका अग्ला हिम शिखरको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएको थियो । उहाँको ७७ वर्षको उमेरमा गत बिहिबार निधन भएको थियो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]