
गोवा (भारत), २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटान सरकारसँग आग्रह गर्नुभएको छ ।
ब्रिक्स सम्मेलनमा भाग लिन आज यहाँ आउनुभएका प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी छिरिङ तोब्गेसँगको भेटमा उहाँले भुटान फर्कन चाहने शरणार्थीको चाहनालाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले शरणार्थी समस्याको समाधानले दुई देशबीचको सम्बन्धलाई अझ बढी उचाइमा पुरयाउने उल्लेख गर्दै त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गर्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी सहयोग आदानप्रदान गरी समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने विषयमा वार्ता गर्नुभएको थियो ।
त्यसैगरी, प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तोब्गेसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्मेलन गर्ने उपयुक्त वातावरण बनाउने सम्बन्धमा पनि छलफल गर्नुभएको थियो ।
उहाँले सार्कलाई गति दिनका लागि दुई देश मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो ।
साथै, नेपाल, भारत, भुटान र बङ्गलादेशसहितको सार्क उपक्षेत्रीय समूहका मुलुकले ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा मिलेर अगाडि बढ्न र त्यसका लागि साझा धारणा तय गर्ने विषयमा पनि छलफल भएको थियो ।
भेटघाटका क्रममा भुटानी प्रधानमन्त्री तोब्गेले द्विपक्षीय हितका विषयमा भुटान सकारात्मक रहेको र शरणार्थीका विषयलाई चाँडो समाधान गर्न पहल गर्ने बताउनुभएको थियो ।
भेटमा परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव बैरागी, भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री दाहालले केहीबेरपछि चीनका राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ ।
‘ब्रिक्स बिमस्टेक आउट्रिच सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजै प्रधानमन्त्री दाहाल यहाँ आइपुग्नुभएको हो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]