
काठमाडौँ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
आज अपराह्न १२ः२२ मिनेटसम्म (१५ घडी ४४ पला) चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो । कोजाग्रत पूर्णिमाका लागि उदय नभई मध्यरात्रि व्यापिनी लिइने भएकाले शनिबार नै महालक्ष्मीको पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेको छ ।
“आज मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा र सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलिपूर्ति आजैलाई निर्णय गरिएको हो, दशमीको पाँचौँ दिन सबै बलिपूर्ति गर्नुपर्ने विधान छ”, उहाँले भन्नुभयो ।
आज अपराह्न १२ः२२ मिनेटदेखि आइतबार बिहान १० बजेर १५ मिनेटसम्म पूर्णिमा तिथि भएकाले आकाशदीप दान र कात्तिकस्नान भने असोज ३० गतेदेखि सुरु हुन्छ । पूर्णिमा व्रत, आकाशदीप दान र कात्तिक स्नान पूर्णिमा तिथिमा सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय विधान भएकाले असोज ३० गते यी पर्व मनाउनुपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।
असोज ३० गतेदेखि बाँस, बाँस नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याई आकाशदीप दान सुरु गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि असोज ३० देखि नै सुरु हुने भएको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान गरिन्छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम