काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते शुक्रबारदेखि सुरू हुने भारत भ्रमण दुई देशबीचको असमझदारी अन्त्य गर्दै सम्बन्ध सुधारतर्फ केन्द्रित हुने बताएका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्को ६८ औँ वार्षिकोत्सवको यहाँ आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भोलिदेखि फागुन १२ गतेसम्म हुने भारत भ्रमणको क्रममा राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई ध्यानमा राखेर सम्बन्ध सुधार गर्ने बताए ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालसहित ४६ सदस्यीय टोली भारत भ्रमणमा भोलि जाने भएको छ ।
यसैगरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका–संसद्का सदस्य, नेपाल सरकारका मुख्यसचिव र सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा रहेका छन् ।
सम्पूर्ण समुदायको अधिकारलाई सुनिश्चित गरी प्रजातान्त्रिक प्रक्रियाबाट जारी गरिएको लोकतान्त्रिक संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ सरकार केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
“संविधानमा सबैको शिक्षा, स्वास्थ्यलगायतको अधिकार सुनिश्चित गरिएको छ, समावेशी र समानुपातिक व्यवस्था गरिएको छ, संविधानमा सबै नागरिक समान छन्, यसको कार्यान्वयनमा सबैको उत्तिकै भूमिका हुनुपर्छ,” उनले भने ।
उनले पछिल्लो पटक मुलुकको राजनीतिक अवस्था स्थिर हुँदै गएको र आगामी दिनमा अझै सुधार हुँदै जाने विश्वास व्यक्त गरे । वर्तमान सरकार जनताका समस्या सम्बोधन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
परिषद्ले विदेशबाट उत्कृष्ट अर्थमन्त्रीको पुरस्कार प्राप्त गर्न सफल नेपाली काँग्रेसका नेता डा रामशरण महतलाई सम्मान पनि गरेको छ । सोही अवसरमा नेता महतले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोगमा भूकम्पपछिको पुनःनिर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए ।
परिषद्का अध्यक्ष डा राजेन्द्रबहादुर श्रेष्ठले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुक निर्माणको बाटोमा अगाडि बढ्न विभिन्न राजनीतिक दलका नेतासँग आग्रह गरे ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त