
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सरकार, प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाबीच भएको वार्तामा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २७ मङ्सिर । दलीय अडानबाट नेता टसको मस नभएपछि आज सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षहीन बनेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा दुई फरक विधेयक अघि बढाउनेबारे कुरो नमिल्दा कुनै परिणाम आउन सकेन ।
सत्तारुढ र प्रतिपक्षी दलले दुवै विधेयक भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र अघिल्लो सरकारले प्रस्तुत गरेको संविधान संशोधनसम्बन्धी विधेयकलाई सँगै लैजाने सहमति भए पनि मधेसी मोर्चाले त्यसमा आपत्ति जनाएको थियो ।
अहिलेको संशोधन विधेयकले आफूहरूको मुद्दालाई सम्बोधन गर्न नसक्ने भन्दै मोर्चाले दुवै विधेयक एकैपटक अघि बढाउन नदिने धारणा राखेको थियो ।
सिंहदरबारमा कुरा नमिलेपछि संविधानसभाका सभामुख तथा प्रमुख दलका प्रमुख सचेतकसहित शीर्षनेताबीच छलफल गरेर सहमति खोज्ने भन्दै नेता संविधानसभा भवन नयाँ बानेश्वरतर्फ लागेका थिए ।
करिब डेढ घन्टासम्म भएको वार्तामा दुई विधेयकमाथि छलफल भएपनि राजनीतिक मुद्दामा भने प्रवेशै नभएको नेताले प्रतिक्रिया दिए ।
बैठकपछि उपप्रधानमन्त्री भीमबहादुर रावलले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकलाई पारित गर्न सबै सहमत भएपनि संविधान संशोधनसम्बन्धी प्रस्तावलाई सँगै लैजाने भन्नेबारे कुरा नमिलेको बताए ।
“तीन दलको सहमतीमा सरकारले अघि सारेको प्राधिकरण विधेयक पनि ल्याउँ र पहिला सरकारको तर्फबाट अघि सारेको संविधान संशोधन विधेयक पनि संसद्मा नै छ, त्यसको कार्यसूची खोज्न जानुपर्ने छैन, तर अहिले आमजनताको सरोकार जाडो पनि बढेकाले पुनःनिर्माण विधेयकलाई पहिला अघि लैजाउँ र त्यसपछि संशोधन विधेयक लैजाउँ भनेर हामीले आग्रह ग¥यौ,ँ त्यस सन्दर्भमा यस्तै गर्ने भन्ने केही निर्णय भएन । प्रधानमन्त्रीले दुवै दल, प्रतिपक्षी नेपाली काँग्रेस र मोर्चालाई पनि विशेष रुपमा आग्रह गर्नुभएको छ, अब हामी प्रमुख सचेतकसहित सभामुखसँग छलफल गरेर टुङ्गो लगाउछौँ”– उनले भने ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्तामा सदन सञ्चालनबारे कुराकानी भएपनि कुनै सहमति नभएकाले सभामुखसँग पुनः छलफल गरेर सहमति खोजिने बताए ।
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्राधिकरण विधेयक र संविधान संशोधनसम्बन्धी विधेयक दुवैलाई अगाडि बढाउनुपर्छ भन्ने नेपाली काँग्रेस संविधान संशोधनसम्बन्धी विधेयक पनि एकैचोटी अघि बढाए सदन अवरुद्ध गर्ने मोर्चाले अडान लिएपछि सहमति हुन नसकेको बताए ।
अघिल्लो वार्तामा एक दिन पुनःनिर्माण प्राधिकरणको मात्र विधेयक पेस गर्ने र अर्को दिन संविधान संशोधन विधेयक प्रस्तुत गर्ने निर्णय भएबमोजिम आफूहरूले त्यसैमा जाउँ भन्दा सरकार र प्रतिपक्षीको कुरा नमिल्दा सहमति हुन नसकेकाले बाँकी छलफल सभामुखसँग बसेर टुङ्ग्याइने उनले उल्लेख गरे ।
मोर्चाको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकार र प्रतिपक्षी नेपाली काँग्रेसबीचको संसद् खुलाउने झगडाले आफूहरूको एजेण्डा ओझेलमा परेको बताए ।
मानवीयताका आधारमा प्राधिकरण विधेयक सदनमा पारित गर्न दिने मोर्चाको पूर्ववत् निर्णय यथावत् रहेपनि संविधान संशोधन विधेयकलाई पनि सँगै लैजाँदा आफ्ना माग ओझेलमा पर्ने भएकाले सहमत नजनाएको उनले उल्लेख गरे ।
वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री भीमबहादुर रावल, नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल, नेपाली काँगे्रसका उपसभापति पौडेल, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र नेता आनन्दप्रसाद ढुङ्गाना तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, महेन्द्रराय यादव र नेता कर्ण सहभागी थिए ।
काँग्रेस र मोर्चाबीचको वार्ता
अवरुद्ध संसद् खुलाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेसी मोर्चाबीच वार्ता भए पनि कुनै निष्कर्ष निक्लिएन ।
सिंहदरबारस्थित सङ्घीय समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालयमा भएको वार्तामा नेपाली काँग्रेसले संसद्मा दर्ता भएका दुवै विधेयकलाई सहयोग गर्न आग्रह गरेकामा मोर्चाले अस्वीकार गरेको थियो ।
वार्तापछि नेपाली काँग्रेसका नेता ढुङ्गानाले मोर्चालाई संविधान संशोधन विधेयकमा नमिलेका विषय थपघट गर्न सकिने भएकाले सहयोग गर्न आग्रह गरिएकोमा मोर्चाले प्याकेजमै सहमति खोज्नुपर्ने अडान लिए पनि कुरा नमिलेको बताए ।
वार्तामा काँगे्रसका उपसभापति पौडेल, प्रमुख सचेतक श्रेष्ठ र नेता ढुङ्गाना सहभागी हुनुहुन्थ्यो, भने मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्रराय यादव सहभागी थिए ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत