लन्डन । महिनौंदेखि जारी तराई मधेश आन्दोलन, अघोषित नाकाबन्दी र ६ महिनाअघिको विनाशकारी भूकम्प । यसले अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश प्रवाह गरिरहंदा लन्डनस्थित नेपाली दूतावासले बेलायती पर्यटकहरुलाई नेपाल घुम्न सुरक्षित रहेको सन्देश दिएको छ । मंगलबार सांझ नेपाल पर्यटन वोर्डको सहकार्यमा दूतावास भवनमा आयोजित एउटा पर्यटन प्रबर्धन कार्यक्रममा उसले भूकम्पपछि नेपाल पूर्ववतः अवस्थामा फर्किसकेको जनाउ दिएको हो ।
भूकम्पपछि अन्तर्राष्ट्रिय मिडियाहरुले नकारात्मक प्रचार प्रसार गरेको दूतावास र बोर्डको निष्कर्ष छ । भूकम्पले ११ जिल्लामात्र प्रभावित भएपनि पर्यटन गन्तव्यमा भने खासै क्षति नभएकोमा उनीहरुले आश्वस्त पारेका छन् ।
लन्डन एक्सेलमा २ देखि ५ नोभेम्बरसम्म जारी वर्ल्ड ट्राभल मार्केटमा पर्यटन प्रबर्धन गर्न नेपाल पर्यटन वोर्डसहित नेपाली ट्राभल व्यवसायी यतिखेर लन्डनमा छन् ।
कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले भने, ‘नेपाल अझै सुरक्षित छ । ट्रेकिङ रुट, पुरातात्विक सम्पदा अझैं सुरक्षित छन् ।’ नयां संविधान जारीपछि नेपाल सही मार्गमा हिंडिरहेको उल्लेख गर्दै क्षेत्रीले ब्रिटिश पर्यटकलाई नेपाल घुम्न जान सल्लाह दिए । ‘यो पुनर्निर्माणमा एउटा सहयोग पनि हुनेछ’, क्षेत्रीले भने ।
स्मरण रहोस्, विगत वर्षहरुमा वार्षिक करिब ४० हजार बेलायती पर्यटक नेपाल घुम्न जाने गरेको तथ्यांक छ ।
नेपाल पर्यटन बोर्डका प्रशासन प्रमुख कमलप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय मिडियाले नेपालको नकारात्मक कभरेज गरेपनि पर्यटनले पुनर्जीवन पाइसकेको उल्लेख गरे । ट्रेकिङका लागि अन्नपूर्ण र एभरेष्ट क्षेत्रमा खासै क्षति नभएको उनले जनाए । भट्टराईले भूकम्पपछि बेलायत सरकार र यहांका जनताले दर्शाएको मानवीय सहायताप्रति पनि आभार व्यक्त गरे ।
बोर्डकै वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठले नेपाल पर्यटकका लागि विश्वकै मनमोहक र स्वर्ग भएको जनाइन् । उनले नेपाल ९५ प्रतिशत प्रकृतिले भरिभराउ गन्तव्य भएको उल्लेख गर्दै पर्यटकको सुरक्षा र विपद व्यवस्थापनका लागि सरकारले विशेष कोस खडा गरेको पनि उल्लेख गरिन् । कयौं अन्तर्राष्ट्रिय उडान, पर्यटकका लागि सुविधायुक्त तारे होटल, सडक मार्ग पर्याप्त रहेको चर्चा गर्दै उनले भूकम्पले ११ जिल्लामात्र प्रभावित भएको अवगत गराइन् ।
दुई बेलायती सांसदहरु वीरेन्द्र शर्मा एवं बब ब्ल्याकम्यानले पनि नेपाल भ्रमण गरेर सहयोग गरिदिन आफ्ना नागरिकलाई अपिल गरेका छन् । बेलायती सर्वदलीय संसदीय समितिको नेपाल अध्यक्ष शर्माले नेपाल आकर्षक गन्तव्य भएको जनाउंदै जुनसुकै सिजनमा घुम्न सकिने बताए । सांसद ब्ल्याकम्यानले नेपाल जाने आफ्नो योजना सरिरहेको उल्लेख गर्दै छिट्टै जाने आश्वासन दिए । ब्ल्याकम्यानलाई नेपाली खाना र आतिथ्यले प्रभावित पारेको रहेछ । भूकम्पपछि बेलायत सरकार र जनताले भारी रकम सहयोग गरेको स्मरण गर्दै उनले नेपालको विकास र समृद्धि आफूहरुको चाहना भएको जनाए । उनी सर्वदलीय संसदीय समितिको नेपाल सहअध्यक्ष पनि हुन् ।
कार्यक्रममा इम्प्याक्ट म्याराथन सिरिजका सिइओ निक केर्सले नेपालमा सन् २०१६ को नोभेम्बरमा च्यारिटी स्वरुप अन्तर्राष्ट्रिय म्याराथन हुन लागेको जानकारी दिए ।
कार्यक्रममा बेलायतस्थित नेपाल पर्यटन वोर्डका प्रतिनिधि ध्रुव केसीले धन्यवाद दिएका थिए । उक्त अवसरमा एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिए । कार्यक्रममा सहभागी बेलायती तथा नेपालीले एभरेष्ट इनको नेपाली खानाको खुबै प्रशंसा गरे ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन