काठमाडौँ, १५ असार । नयाँ संविधानको एकीकृत प्रारम्भिक मस्यौदाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको छ ।
लामो बहस र छलफलपछि संविधान मस्यौदा समितिले तयार पारी आज संविधानसभामा प्रस्तुत गरेको नयाँ संविधानको मस्यौदाले समावेशी राजनीतिक चरित्रको राज्य व्यवस्था निर्माणको कल्पना गरेको छ ।
नयाँ संविधानले मौलिक हकअधिकारमार्फत जन्ताका सबै खालका अधिकारलाई सुनिश्चित गर्नाका साथै मुलुकलाई आर्थिक–सामाजिक रुपान्तरणमार्फत समृद्धितर्फ लिएर जाने बाटो खुला गरेको छ ।
नेपाली काँग्रेसका नेता एवम् मस्यौदा समितिका सदस्य रमेश लेखकले रासससँगको जिज्ञासामा मस्यौदाले बहुलवादमा आधारित प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धति रहन्छ भन्ने कुराको सुनिश्चित गरेको बताए । संविधानले मौलिक अधिकारमार्फत जनतालाई राजनीतिक, आर्थिक, सामाजिक सबै स्वतन्त्रता र अधिकार तथा राज्यका विभिन्न अङ्ग रहने व्यवस्थाका लागि प्रस्ताव गरेको छ ।
मस्यौदाले स्थानीय निकायलाई सबल बनाउने काम गरेको जानकारी दिँदै नेता लेखकले भने, “यसले समग्रमा समावेशी चरित्रको राज्य व्यवस्था बनाउने तथा मुलुकमा शान्ति र लोकतन्त्रलाई सुनिश्चित गर्दै समृद्धिको बाटो खोल्ने छ ।”
मंगलबार पेस भएको मस्यौदाका आधारमा जनताको रायसुझावपछि आगामी २०, २५ दिनभित्रै संविधान पारित हुने बताइएको छ । यद्यपि अदालत र सवैधानिक निकायमा पुनःनियुक्तिलगायत विषयले भने अझै पूर्णता पाएको छैन । पुनःनियुक्तिको ठाउँ खाली राखिएको छ ।
संविधान लेखनमा सहयोग पुरयाइरहेका दल र नेताले मस्यौदामा अवरोध नपुग्ने गरी फरक मत प्रस्तुत गरेका छन् । मस्यौदा तयार हुनु भनेको संविधानले आकार पाएको बताउँदै नेता लेखकले नागरिकताका हकमा कसैलाई पनि राज्यविहीन नहुने व्यवस्था गरिएको जानकारी दिए ।
नागरिकताका सम्बन्धमा प्रमुख दलबीच लामो बहस भए पनि अन्ततः संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले यसअघि नै प्रस्तुत गरेको बुदामा सहमति भएको छ । मस्यौदाले वंशज, अङ्गीकृत र वैवाहिक अङ्गीकृत नागरिकताका विभिन्न विकल्पको व्यवस्था गरेको छ । सो बाहेक आवश्यकता भए भविष्यमा थप व्यवस्था परिमार्जन हुन सक्ने नेताहरूले बताएका छन् । मस्यौदामा लैङ्गिक विभेद हुने खालका कुनै प्रावधान नभएको नेताहरूको जिकिर छ ।
मस्यौदामा आर्थिक वर्ष परिवर्तन नगरी प्रत्येक वर्ष जेठ १५ गते बजेट अनिवार्य पेस गर्नुपर्ने व्यवस्था उल्लेख गरेर अर्थतन्त्रमा सुनिश्चितता कायम गरिएको छ ।
प्रदेशमा कायम रहने सङ्घीय प्रतिनिधिसभाको निर्वाचित सङ्ख्याको दोब्बर सङ्ख्यामा प्रदेशसभामा सांसद रहने व्यवस्था गरिएको छ । केन्द्र र प्रदेशसभामा महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गरिएको छ । धर्मका सम्बन्धमा धर्मनिरपेक्ष उल्लेख गर्दै धार्मिक स्वतन्त्रताको व्यवस्था गरिएको छ ।
मस्यौदा एक साताका लागि जनतामा जाने
नेता लेखकका अनुसार, पेस भएको मस्यौदा करिब एक साता जनताको प्रतिक्रियाका लागि जनतामा लगिने र पुनः संविधानसभामार्फत संवाद समितिमा फर्काइने छ ।
जनताको प्रतिक्रियासहित संविधानसभामा पेस गरिने मस्यौदामाथि छलफल भएपछि पुनःमस्यौदा समितिमा जानेछ । मस्यौदा समितिले त्यसलाई संविधानको मस्यौदाका रुपमा तयार गरी पुनःसंविधानसभामा पेस गर्नेछ ।
सभामा प्रस्तुत संविधानको विधेयकमाथि दफावार छलफल भई पारित भएपछि नयाँ संविधान घोषणा हुनेछ । यी सबै प्रक्रिया द्रुत हिसाबले अघि बढाइने र यसका लागि करिब बढिमा २५ दिन लाग्ने अनुमान गरिएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान