नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि

काठमाडौँ, ४ माघः नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन यही माघ ९ र १० गते (२२ र २३ जनवरी २०२६) हुने भएको छ । महासङ्घले आइतबार पत्रकार सम्मेलन गरी कोशी प्रदेश राजधानी महाधिवेशन विराटनगरमा गर्ने निर्णय भएको जानकारी दिएको हो ।

‘प्राकृतिक स्रोत जल, जङ्गल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ भन्ने मूल नारासहित महाधिवेशन हुन लागेको महासङ्घका अध्यक्ष एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो ।

महाधिवेशनलाई भव्य र सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमिति गठन गरेर तयारी भइरहेको उहाँले बताउनुभयो । नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई गोलबद्ध गर्दै पहिचानसहितको सामूहिक अधिकार स्थापित गर्ने उद्देश्यले २०४७ सालमा नेपाल आदिवासी जनजाति महासङ्घको स्थापना भएको थियो । नेपालमा कुल जनसङ्ख्यामध्ये करिब ३६ प्रतिशत आदिवासी जनजातिको सङ्ख्या रहेको छ ।

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत ६० वटा आदिवासी जनजाति समुदायमध्ये महासङ्घमा ५६ समुदाय र विभिन्न १२ वटा सम्बद्ध सङ्गठन आबद्ध रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी विभिन्न २५ वटा देशमा महासङ्घका प्रवास सङ्गठन, देशभरका सातवटा प्रदेश समन्वय परिषद्, ७७ वटा जिल्ला समन्वय परिषद्, स्थानीय पालिका र वडा समन्वय परिषद्हरुमार्फत सङ्गठित भएर काम भइरहेको महासङ्घका अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री